
बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय भुक्तानी गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ ।
नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म रु छ अर्ब ८९ करोड २० लाख बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी रु छ अर्ब ५२ करोड ५० लाख बराबर थियो ।
त्यस्तै भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म रु दुई खर्ब ३६ अर्ब ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने रु दुई खर्ब ४७ अर्ब ४७ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।
यसैगरी वालेटमार्फत गत पुस मसान्तसम्म रु १६ अर्ब २७ करोड ६० लाख बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने रु १४ अर्ब ५३ करोड ४० लाख बराबरको भुक्तानी भएको छ । विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशिल छन् ।
नेपाल राष्ट्र बैंकले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ । विद्युतीय भुक्तानीका लागि आरजीटीएस, आएपीएस, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र पीओएसलगायतका सुविधा उपलब्ध छन् ।
के हो क्युआर कोड ?
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।
जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।
क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।
तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।
कहाँ, कहाँ प्रयोग गर्न सकिन्छ ?
रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।
एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।
क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ ।
दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।
क्युआर कोडका फाइदा
क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ ।
कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ । यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।
यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ । कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ ।
चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।




