२०७२ फाल्गुन ११ गते

मंगलबार ५५ करोडमाथिको नेप्से कारोबार, परिसूचक पनि ओर्लियो

economic 2केही समययता लगातार उकालो लागिरहेको शेयर बजार मंगलबार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.८९ अंकले घटेर १२८५.९२ अंकमा कायम भएको छ । बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरीमा ११६ कम्पनीको २३ सय ६६ कित्ता शेयर १३ लाख २२ हजार ६७ पटक किनबेच हुँदा ५५ करोड ५६ लाख ५५ हजार ७ सय ८० रुपैँयाको कारोबार भएको छ । बजार खुलेको सुरुवातमा सकारात्मक देखिएको बजार घटेर बन्द भएको हो ।  

कुल कारोबारमध्ये, मंगलबार एफपिओ जारी गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको ९ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको संस्थापक ६ करोड २३ लाख र साधारण तीन करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा नेपाल बंगलादेश बैंकको ५ करोड ५४ लाख, नेपाल लाइफको २ करोड ६९ लाख,  एभरेष्ट बैंकको २ करोड ३३ लाख, स्ट्यान्डर्ड चार्टर्डको २ करोड ३१ लाख र एनएमबी बैंकको २ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति वढाएका छन् । पुर्णिमा विकास बैंकका लगानीकर्ताले पनि साढे आठ प्रतिशतले सम्पति वढाएका छन् । धेरै गुमाउनेमा हामा मर्चेन्ट, नेशनल हाइड्रो, विजय लघुवित्त लगायत छन् । 

मंगलबार फाइनान्सवाहेक सबै समूहका शेयर सूचक घटेका छन् । फाइनान्स समूहको शेयर सामान्य ०.९७ अंकले बढेको छ । वाणिज्य बैँक, होटल, विकास बैँक, जलविद्युत्, वीमा र अन्य समूहको शेयर क्रमशः ५.९२, २४.४९, ४.९६, ८.५३, ४१.६७ र १.१७ अंकले घटेको छ ।