
बैंकिङ खबर/ काठमाडौंमा लामो समयदेखि बस्दै आएका अग्रवाल परिवारका ९ सदस्य एकाएक वेपत्ता भएपछि अहिले उनीहरुको खोजी हुन थालेको छ। गएको पुस २२ गतेदेखि उनीहरु वेपत्ता छन् । उनीहरु फरार भएसँगै चार बैंकको ८० करोड जोखिममा परेको छ ।
नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको हो। उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए । यतिबेला ओमप्रकाश अग्रवाल परिवारका ९ सदस्यसहित फरार भएका छन्। अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको भन्दै मौखिक उजुरी प्रहरीमासमेत दिएकी छिन् ।
अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैंकबाट लिएको ८० करोडभन्दा बढी ऋण जोखिममा परेको छ। उनीहरुले एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक गरी चारवटा बैंकबाट मात्र ८० करोड रुपैयाँभन्दा बढी ऋण लिएको खुलासा भएको छ।
खोजीमा सक्रिय प्रहरी
महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अग्रवाल परिवारको खोजीमा सक्रिय छ। प्रहरीले नेपालमा रहेका अग्रवाल परिवारका आफन्तसँग सोधखोज गरिसकेको छ। केही आफन्त नेपालबाहिर भारतमा रहेकाले प्रहरीलाई उनीहरुसँग पुग्न सहज नभएको अधिकारीहरु बताउँछन् ।
तर परिवारको लोकेसेन अन्तिमपटक मधेस प्रदेशको नेपाल–भारत सीमानजिक भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले काठमाडौं छाडेको भने निष्कर्ष निकालेको छ। अग्रवाल परिवारले छाडेको पत्रमा पनि काठमाडौं छाड्न लागेको उल्लेख छ।
प्रहरीले अग्रवाल परिवारले प्रयोग गर्दै आएको गाडीको खोजी पनि गरिरहेको छ। तर उनीहरु आफ्नै गाडीबाट नभएर अर्कै सवारी–साधनको प्रयोग गरेर गएको हुन सक्ने प्रहरीकाे आशंका छ। यस्तोमा उनीहरुले गाडी कतै लुकाएको हुन सक्ने प्रहरी बुझाई छ। महँगो विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएको हो ।
सम्पर्कविहीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल छन् । यस्तै, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोरा अभिषेक र अमितले हस्ताक्षर गरेका छन् ।
अग्रवाल परिवारको पत्र ‘हाम्रो सम्पत्ति बाँडेर लिनुहोला’
महानगरीय प्रहरीवृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौंको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो। प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेला पारेको छ।
ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको उक्त पत्रमा बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नु परेको उल्लेख छ।
अभिषेकका बुबा ओमप्रकाश अग्रवालले छोराहरू अभिषेक र अमितले सञ्चालन गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालि कोरोना संक्रमणपछि धरापमा परेको र त्यो सञ्चालन गर्न बैंक तथा अन्य विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा यो अवस्था भोग्नु परेको पत्रमा खुलाएका छन् ।
काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवार सम्पर्कविहीन हुँदा घरमा पत्र छोडेका थिए । पत्र अभिषेकका ७३ वर्षीय बुबा ओमप्रकाश अग्रवालले लेखेका छन् । उनले विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेकोसमेत पत्रमा खुलाएका छन् ।
‘हामीले ग्रीनलाइनबाट कमाएको नाफाले ब्याज तिर्दै आएका थियौँ । तर, २१ असोजमा बैंकहरूले ग्रीनलाइनलाई पनि ताल्चा लगाइदिएकाले हामीले मिटर ब्याजका लागि पैसा तिर्न सक्ने अवस्था रहेन,’ पत्रमा भनिएको छ।
आफूहरूको नाममा रहेको कम्पनी, बैंक तथा मिटर ब्याजमा दिनेहरूले कानुनी रूपमा बाँडेर लिन पनि अग्रवाल परिवारले भनेको छ। तर, उनीहरूको सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ ।
ग्रीनलाइन सेन्टर नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो।
अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट उनीहरूले करिब ३ अर्बभन्दा बढी रकम ऋण लिएर भागेको प्रहरीको अनुमान छ ।
पत्रमा ओमप्रकाश, उनकी पत्नी उषा, छोराहरू अभिषेक र अमितले हस्ताक्षर गरेको कागज भेटिएको छ । पत्रमा ‘मरिन्छ वा बाँचिन्छ’ भन्ने शब्द देखिएको र पत्र भावुक रहेकाले उनीहरू तनावमा रहेको बुझिन्छ। ‘साहुहरूको नाम तथा मिटर ब्याजीहरूले दिए गराएका कागजपत्र तथा तिनीहरूको नामावली थाहा पाई एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गराउने अवस्थामा पुर्याउन लगाएको मानिसहरूलाई दण्ड सजायँ दिइ मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौँ,’ पत्रमा उल्लेख छ। ओमप्रकाशकी छोरीले आमाबुबा तथा परिवारका सदस्यको खोजीका लागि प्रहरीमा निवेदन दिएकी छन्।
अग्रवाल परिवारको कुन बैंकका कति ऋण ?
अग्रवाल परिवारका नौ सदस्य फरार भएपछि यतिबेला विभिन्न बैंकबाट उनीहरुले लिएको ऋण जोखिममा परेको छ। नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेका हुन् । उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए ।
ग्रीनलाइनले नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२ करोड, मेगा बैंकमा २५ करोड, एभरेस्ट बैंकमा २२ करोड, ग्लोबल आइएमइ बैंकमा १८ करोड कर्जा भुक्तान गर्न बाँकी रहेको पाइएको छ । यसमा केही बैंकको २० प्रतिशतदेखि ७० प्रतिशतसम्म धितो भएको जनाइएको छ ।
ग्रिनलाईनको तर्फबाट ऋण लिएका अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सञ्चालकहरुको नाममा ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न आग्रह गरेको छ ।
ग्रिनलाइनले इन्भेष्टमेन्ट बैंकमा करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको छ । हाइपोथेटिकल ऋणको मात्रा बढी भएकाले धितोबाट मात्र ऋण असुली हुने सम्भावना रहँदैन। त्यसैले इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया शुरु गरेको बताइएको छ।
इन्भेष्टमेन्ट बाहेक अरु बैंकले भने अहिलेसम्म सार्वजनिक रुपमै ऋण उठाउने कानूनी प्रक्रिया शुरु गरेको देखिँदैन। उनीहरुले सेन्टरको मदिरा स्टक भएको गोदाममा सिलबन्दी गरेका छन् । गोदाममा इन्भेष्टमेन्टसँगै एभरेष्टले पनि ताला लगाएको छ। स्रोतहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल नभएको देखिएको छ ।
विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति धितोमा बैंकले ऋण प्रवाह गरेको देखिएको छ। मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। त्यस्तै ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ।
सन् १९९९ मा ओमप्रकाश अग्रवालले काठमाडौंमा मदिरा कारोबारको लागि ग्रीनलाइन सेन्टर खोलेका थिए । काठमाडौंमा विदेशी र महंगा रक्सी पाइने स्टोरको नाममा ग्रीनलाइन निकै परिचित भएको थियो । ओमप्रकाशले खोलेको कम्पनीको व्यवस्थापन उनका छोराहरु अभिषेक र अमित अग्रवालले गर्दै आएका थिए । अग्रवाल परिवार फरार भएपछि थोरै धितोमा ऋण प्रवाह गरेका बैंकहरु समस्यामा परेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ४ वटा बैंकले करिब ८० करोड ऋण दिएको बताए । उनका अनुसार ग्रीनलाइन कम्पनीलाई सञ्चालकलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले मागेको थियो । जसमा ४ वटा बैंकले मात्र ऋण दिएको खुलेको छ।
बैंकहरुले ग्रीनलाइनका सञ्चालकलाई हाइपो तथा अन्य शिर्षकमा कर्जा दिएका थिए । हाइपोमा दिएको कर्जामा धितो हुँदैन । व्यवसायको आधारमा यस्तो कर्जा दिने गरिन्छ । बैंकहरुका अनुसार ग्रीनलाइनलाई दिएको कर्जामा ३० करोड जति उठ्ने देखिए पनि ५० करोड जति करिब नउठ्न सक्ने सम्भावना देखिएको छ।
प्रवक्ता भट्टले यसरी दिएको ऋण नउठेमा बैंकहरुले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने बताए । उनले भने, ‘नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ, पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ।’
हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहाँ भएको रक्सीलाई बिक्री गर्नेछन् ।
ग्रीनलाइन विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा महँगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्तिसमेत लिलाम गर्नेछन् ।
ग्रीनलाइनका सञ्चालकको ज्ञानेश्वरमा घरजग्गा तथा विभिन्न स्थानमा अपार्टमेन्ट छ। ऋण दिएका बैंकहरुले जग्गा र घरसमेत धितो लिएको हुँदा सो घरजग्गा लिलाम हुन्छ।