Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालले निर्यात गर्ने मुख्य वस्तुमा अन्य देशकै भर, कच्चा पदार्थ आयातमै अर्बाैं खर्च !

२०७८ पुष ५ गते

बैंकिङ खबर। चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा नेपालको कुल वस्तु निर्यात १०४ प्रतिशतले वृद्धि भएको छ। कात्तिकसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। निर्यात वृद्धि भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रगति विवरण पनि सुनाएका छन्। तर मुख्य निर्यातित सामान भने अन्य देशकै उत्पादन हुन्। नेपालले अहिले कच्चा पदार्थ आयात गर्दै त्यसलाई प्रशाेधन गरेर निर्यात गर्दै आएको छ। जसकारण नेपालको निर्यात वृद्धि भए पनि त्यसले देशको अर्थतन्त्रको स्थिति सुधारमा भने खासै योगदान देखिँदैन। यसलाई नेपाल आयात निर्यातको तथ्यांकले पुष्टि गर्छ।

तथ्यांकअनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने मुख्य सामानमा भटमास र पाम तेल छन् । तर, यी दुवै उत्पादनका लागि विदेशबाट निर्यात भएको मूल्य बराबरकै कच्चा पदार्थ आयात हुँदै आएको छ।

नेपालको आयात निर्यात व्यापारको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ र सवारीसाधनपछि उच्च आयातको सूचीमा भटमासको र पाम तेलका लागि आवश्यक कच्चा पदार्थ छन्। कात्तिकसम्ममा नेपालले २६ अर्ब ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ। सोही अवधिमा भटमासको तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ २७ अर्ब २३ करोडको आयात भएको छ। भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ। यस अवस्थाले देखाउँछ नेपालले निर्यात गरेकाे भनिएकाे वस्तुमा पनि घाटा छ।

यस्तै अवस्था छ पाम तेलको पनि । कात्तिकसम्ममा नेपालले १७ अर्ब ६६ करोडको कच्चा पदार्थ आयात गरेर १९ अर्ब २३ करोडको पाम तेल निर्यात गरेको छ। व्यवसायीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायत देशबाट ल्याएर भारतमा पाम तेल निर्यात गर्दै आएका छन् ।

भटमास र पाम तेलबाहेक नेपालबाट निर्यातको मुख्य सूचीमा रहेका अन्य वस्तुहरूको अवस्था पनि उस्तै छ। गार्मेन्ट, पस्मिना, ऊनी कपडा, कार्पेट, जुसलगायतका सामान उत्पादनका लागि ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ।

सीमित व्यापारीलाई मात्र लाभ: विज्ञ

सरकारी अधिकारीहरूले निर्यात बढेको भन्दै प्रगति देखाइरहँदा विज्ञहरूले पनि निर्यातले व्यापार घाटा बढाएको बताएका छन्। ‘मुख्य निर्यात गर्ने सामानहरू नै अन्य देशबाट कच्चा पदार्थ ल्याएर उत्पादन भइरहेको छ’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यसले सीमित व्यापारीलाई लाभ पुगेको होला, देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकेको छैन।’

देशको व्यापारघाटा कम गर्न आयातित कच्चा पदार्थमा आधारित उद्योगभन्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

आफ्नै सामानको निर्यात भने कमजोर

नेपालको आफ्नै सामानको निर्यात भने कमजोर बन्दै गएको छ। कुनै समय नेपालबाट निर्यात हुने सामानको सूचीको एक नम्बरमा रहेको अलैंचीको निर्यात घट्दै गएको छ। यसैगरी कृषिजन्य उत्पादन, आयुर्वेदिक जडिबुटी तथा औषधिलगायतका तुलनात्मक लाभका सामानको निर्यात भने कमजोर बन्दै गएको छ।