Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कनेक्ट आईपीएसबाट कारोबार गर्दा कति कारोबारको कति शुल्क लाग्छ ?

२०७८ मंसिर १६ गते

बैंकिङ खबर । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ। नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ रुपैयाँदेखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।

रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५०० भन्दा माथि रु.५,००० सम्म प्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु. ८ लागू हुने भएको छ। यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब/मोबाइल एप, बैंक/वित्तिय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ। कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ।

नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तिय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबार शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ। कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्नेछ।