बैंकिङ खबर । पछिल्लो समय सहकारी क्षेत्र पनि प्रविधिमा अगाडी बढ्न थालेको छ । सहकारी संस्थाहरुले विभिन्न बैंकिङ प्रविधिहरु भित्र्याएर सहकारी क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउन थालेका छन् । प्रविधिको प्रयोगबाट गरिएका कारोबारहरु पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले सबै वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा जोड दिँदै आइएको छ । यसै आवश्यकतालाई ध्यानमा राखेर सहकारी संस्थाहरु पनि प्रविधितर्फ अघि बढेका छन् ।
एटिएम सेवा
नेपालको सहकारी क्षेत्रमा एटिएम सेवा भित्रिसकेको छ । सबैले नभएपनि धेरै सहकारीहरुले आफ्ना ग्राहकलाई एटिएम सुविधा दिन थालेका छन् भने कतिपय दिने क्रममा छन् । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ वार्षिकोत्सवको अवसर पारेर सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको थियो । अहिले सहकारी क्षेत्रमा पनि एटिएमको आवश्यकता र महत्वलाई ध्यानमा राख्दै अन्य सहकारी संस्थाहरुले पनि एटिएम सेवा धमाधम सुरु गरिरहेका छन् ।
ट्याबलेट बैंकिङ सेवा
सहकारी संस्थाहरुले मोबाइल तथा ट्याबलेट बैंकिङ सेवा पनि दिइरहेका छन् । जसअन्तर्गत मोबाइल वा ट्याबलेटमार्फत बैंक सम्बन्धित सहकारी संस्थाले दिने सेवा, सुविधा लगायतका बारेमा जानकारी लिन सकिन्छ ।
अन्तरबैंक विद्युतीय भुक्तानी सेवा
राष्ट्रिय सहकारी बैंक नेपाल क्लियरिङ हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएसँगै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सदस्य सहकारी संस्थाहरुले यस प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानीहरु गर्दै आएका छन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपिओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी जस्ता भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट हुँदै आएको छ ।
यसबाहेक, अन्य प्रविधिहरु पनि विस्तारै सहकारी क्षेत्रमा प्रवेश गर्दैछन् । सहकारी संस्थाहरु प्रायः ग्रामीण भेगसँग जोडिएको हुँदा ग्रामीण भेगका जनतालाई पनि वित्तीय कारोबारमा जोड्न सहकारीहरुले प्रविधिलाई आत्मसात् गर्न थालेका छन् ।