बैंकिङ खबर / जब हामी जोखिम शब्दको प्रयोग गछौँ, त्यसबाट वित्तीय जोखिम वा वित्तीय नोक्सानीको अनिश्चितता भन्ने बुझने गर्छौँ । जोखिमलाई मापन गर्ने हो भने अक्सर घट्ने वा नघट्ने सम्भावनाको रुपमा लिन सकिन्छ । बैंकहरुले मूख्यतयाः कर्जा जोखिम, बजार जोखिम तथा सञ्चालन जोखिमहरुको सामना गरिराखेका हुन्छन् ।
जोखिमलाई बैंकको पुँजी वा आर्जनलाई अपेक्षित वा अनपेक्षित रुपमा अनुकुल वा प्रतिकुल तवरले प्रभाव पार्ने सम्भावनाको रुपमा पनि हेर्ने गरिन्छ । अपेक्षित नोक्सानीहरु सञ्चय र प्रावधानबाट ढाकिन्छन् तथा अनपेक्षित नोक्सानीको लागि पुँजीको बाँडफाँड गर्नुपर्ने हुन्छ । त्यसैले, पुँजी पर्याप्तता अनुपातको आवश्यकता महशूस हुन्छ ।
तरलता व्यवस्थापन गरी वित्तीय रुपले सक्षम हुँदै सर्वसाधारणहरुलाई कर्जा लगानी गरी नाफा पनि कमाउनुपर्ने कारणहरुले गर्दा बैंकहरु (खासगरी सरकारी स्वामित्वका) मा जोखिम हुने खतरा भइरहन्छ । त्यसकारण सार्वजनिक क्षेत्रका बैंकहरुको हकमा जोखिम सामान्य रुपमा देखा पर्ने गर्दछ । प्रभावकारी जोखिम व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु मात्रै बजारमा लामो समयसम्म टिक्न सक्षम हुन्छन् । बैंकिङ व्यवसायमा विभिन्न किसिमका जोखिमहरुमध्ये, कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिमलाई विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यी जोखिमहरुलाई न्युनिकरण गर्न बैंकहरुले विभिन्न प्रकारका योजना तथा निर्णयहरु लिनुपर्दछ । नेपालका सार्वजनिक क्षेत्रका बैंकहरुमा जोखिम न्युनिकरणका लागि बाह्र वित्तीय तथा कानुनी सहायताको साथै व्यवस्थित योजना तथा रणनीति समेत अबलम्बन गर्नुपर्ने देखिन्छ ।