May 7th, 2016

बिमा ‘डिनर’ हो भने पुनर्बिमा ‘डेजर्ट’ 

प्रा.डा. फत्तबहादुर केसी, अध्यक्ष, बिमा समिति
phatta bdr k cबिमा भनेको सम्भावित जोखिम हस्तान्तरण गरिने र वित्तीय सुरक्षा प्रदान गरिने एउटा संयन्त्र हो । जीवन बिमाले बिमितका परिवारलाई भविष्यमा आउन सक्ने समस्याका लागि वित्तीय सुरक्षा प्रदान गर्दछ । साथै यो एउटा बचत पनि हो । जीवन बिमामा तिरिएको बिमाशुल्क बचतका रूपमा रहने र निश्चित समयपछि त्यसमा प्रतिफलसमेत जोडिएर आउने हुनाले यसलाई बचतको उपयुक्त माध्यम पनि मानिन्छ ।

बीमामा नेपालीको पहुँच
नेपालीको बिमामा पहुँचको अवस्था सन्तोषजनक रहेको पाइँदैन । जीवन बिमाको पहुँच करिब ६ प्रतिशत जनतामा मात्र पुगेको देखिन्छ । जनताको बिमा हुँदा त्यसको सकारात्मक प्रभाव राज्यलाई समेत पुग्ने हुनाले जति धेरै जनताको बिमा हुन सक्यो त्यति राम्रो हो । निर्जीवन बिमा भने विस्तारै बढ्दो क्रममा रहेको छ । कृषि तथा पशु र लघुबिमा सुरु भएपछि निर्जीवन बिमा केही विस्तार भएको देखिएको छ । बिमामा यो पहुँचको अवस्था हेर्दा बिमाको विस्तार जुन हिसाबमा भएको हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । एउटा कारणचाहिँ चेतनाको अभाव नै हो । त्यसैले आम नागरिकमा बिमा के हो ? यो किन गर्नु जरुरी छ ? यसका फाइदा के छन् ? भन्ने चेतना फैलाउन सकिएको छैन । चेतना मात्र नभई बिमाप्रतिको दृष्टिकोण पनि महत्वपूर्ण हुन्छ । बिमा के हो ? भन्ने बुझेकाले पनि बिमा नगरेको धेरै भेटिन्छ । त्यसैले बिमाप्रतिको चेतना र दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने अवस्था छ । त्यसो भए मात्र बिमाको दायरा अरू बढ्न जान्छ ।

आर्थिक विकाससँगको सम्बन्ध
आर्थिक विकास र बिमा एकअर्काका परिपूरक हुन् । आर्थिक गतिविधि बढ्दै गयो भने बिमा आफैँ बढ्दै जान्छ । किनकि आर्थिक गतिविधिमा आउने जोखिम हस्तान्तरणका लागि त बिमा चाहियो । त्यस्तै आर्थिक गतिविधि बढाउन लगानीको अवसर चाहिन्छ । जहाँ लगानीको अवसर र लगानी क्रियाकलाप बढ्छ भने स्वतः बिमाको विकास हुने हो । त्यसैले आर्थिक विकास हुँदै गए बिमा पनि विकास हुन्छ । बिमाको विकास भएको देखिन्छ भने आर्थिक विकास पनि भएको छ भनेर भन्न सकिन्छ । यसको निष्कर्ष के पनि हो भने चेतना मात्र महत्वपूर्ण तत्व होइन । आर्थिक विकासले गति लिन नसक्दा पनि बिमा क्षेत्र पछि पर्छ भन्ने बुझ्नुपर्छ । तैपनि भविष्यमा आर्थिक स्थायित्व, राजनीतिक संक्रमणको अन्त्य, लगानीको गतिविधि बढेपछि बिमाले पनि फड्को मार्छ भन्नेमा म पूर्णत विश्वस्त छु । त्यस्तै सुरक्षा नभई लगानी आउँदैन । चाहे त्यो व्यक्तिगत लगानी होस् वा बैंक, वित्तीय संस्थाहरूले गर्ने लगानी होस् । बैंक वित्तीय संस्थाले गर्ने लगानीमा सुरक्षण अनिवार्य नै छ । तर, व्यक्तिगत लगानी पनि सुरक्षण भएमा बढ्नु स्वाभाविक हो । त्यसैले बिमा र आर्थिक विकासलाई एकअर्काबाट छुट्याएर हेर्न मिल्दैन ।

नेपालको भौगोलिक अवस्था
नेपालको भौगालिक अवस्था सुन्दर र जटिल दुवै छ । भौगोलिक अवस्था कसैको नियन्त्रणमा रहँदैन । नेपालमा हिमाल, पहाड, तराई अलग–अलग प्रकृतिको भूगोलले भरिएको छ । त्यहाँका मानिसको बसोबास, त्यहाँको आवश्यकता, उनीहरूको चाहना, क्षमता फरक–फरक छ । त्यसैले फरक–फरक मानिस र उनीहरूको आवश्यकता तथा क्षमतालाई ध्यानमा राखेर बिमा प्रोडक्ट ल्याउनुपर्छ । जहाँसम्म ती क्षेत्रमा हुने आर्थिक गतिविधि हो त्यो पनि फरक–फरक हुन सक्छ । बिमा कम्पनीले प्रोडक्ट ल्याउँदा त्यसलाई ध्यान पुर्याउनु अत्यावश्यक छ ।

तर, बिमा कम्पनीहरू व्यावसयिक संस्था भएको हुनाले नाफा जहाँ हुन्छ र जहाँ सजिलो हुन्छ त्यहाँ मात्र केन्द्रित हुने हुनाले दुर्गम क्षेत्रका जनता बिमाको सुविधाबाट वञ्चित हुने पनि हुन सक्छ । त्यही कुरालाई ध्यानमा राखेर अहिले हामीले लघुबिमा, कृषि बिमाअन्तर्गत बाली तथा पशु बिमालाई कार्यान्वयनमा ल्याउने र बिमा कम्पनीको उपस्थिति नेपालको ७५ वटै जिल्लामा पुगोस् भन्ने योजना अनुसार काम गरीरहेका छौँ । त्यसैले भौगोलिक अवस्था यस्तो छ र उस्तो छ भनेर पन्छिन मिल्दैन । जस्तो भौगोलिक अवस्था छ, त्यही अनुकूल हुने गरी बिमा कम्पनीहरूले गएर काम गर्नुपर्छ । लगभग १५ दिन जति अघि हामीले एक महिनाको समय दिएर पत्राचार गरेका हौँ । एकै महिनामा नतिजा निस्कन्छ भन्ने लाग्दैन । तर, सकारात्मक गतिविधि हुनुपर्छ । त्यो स्थानमा जानु र्पयो, अध्ययन गर्नुपर्यो । शाखाहरू खोल्नु पर्यो। जनशक्ति तयार पार्नुपर्यो । पूर्वाधार निर्माण गर्नुपर्यो । त्यसमा कम्पनीहरू लागेका छन् भन्ने हामीलाई विश्वास छ ।

बिमाका प्रकारअनुसारका समस्या र चुनौती
बिमालाई नेपालका गाउँगाउँसम्म पुर्याउने हाम्रो योजना छ । त्यसका लागि फरक–फरक बिमाका लागि फरक–फरक चुनौती छन् । तर, ती चुनौती भनेका समाधान गर्न सकिने प्रकारका छन् । जस्तै निर्जीवन बिमाअन्तर्गत गाउँगाउँसम्म पु¥याउनुपर्ने भनेको बाली बिमा, पशु बिमा हो । त्यसमा नियामक निकायको हैसियतले बिमा समितिले समय–समयमा निर्देशन पनि दिएको छ । बिमा कम्पनीहरूको उपस्थिति हरेक क्षेत्रमा मात्र होइन, हेरक गाविसमा होस् भन्ने हाम्रो मान्यता हो । ग्रामीण क्षेत्रसम्म बिमा सुविधा पुर्याउन पूर्वाधारको कमी छ । त्यसैगरी प्राविधिक ज्ञानको कमी, जनशक्तिको अभाव, जेटी जेटिएहरूको अभाव छ । कृषि बालीका लागि मौसम पूर्वानुमान निकायहरू सबै ठाउँमा नहुनु पनि समस्या हो । त्यस्तै उत्पादन कति हो भनेर हिसाब गर्न नसकिने तथ्यांकको अभाव पनि छ । त्यस्तै भेटेरिनरी चिकित्सकहरूको पनि अभाव छ । भेटेरिनरी अस्पताल पनि छैनन् । त्यस्तै अहिलेको जल्दोबल्दो समस्या भनेको स्वास्थ्य बिमा पनि हो । त्यसका लागि सबै गाविसमा नसकिए पनि प्रत्येक निर्वाचन क्षेत्रमा पनि एउटा सुविधा सम्पन्न अस्पताल नभएको अवस्था छ । अस्पताल भएका ठाउँमा पनि चिकित्सक नहुने रोग छ । स्वास्थ्य सेवा पुर्याउन नसकिने समस्या पनि छ । त्यसका साथसाथै आर्थिक गतिविधि कम हुने हुनाले गरिबीका कारण बचत गरेर बिमालेख लिन सक्ने क्षमता कम हुनु पनि समस्या हो । त्यसका साथै बिमा कम्पनीका सबै स्थानमा उपस्थिति र उसका संयन्त्रको अभाव पनि समस्या हो । समग्रमा हेर्दा बिमालाई गाउँगाउँ पुर्याउने अठोट र स्वयं सरकारको पनि गरिबीको रेखामुनि र न्यून आय भएकालाई लक्षित गरेर विभिन्न कार्यक्रम ल्याउनुपर्ने अवस्था देखिन्छ । यस्तै विविध कारणले बिमा क्षेत्रले अपेक्षित गति लिन नसकेको भए तापनि सरकारले केही वर्षदेखि यसमा चासो देखाएको छ । जस्तो कृषि बिमामा ७५ प्रतिशतसम्म अनुदान दिएको छ । स्वास्थ्य बिमाको पनि कुरा भइरहेको छ । त्यस्तै समयअनुसारका बिमाले जम्मा गरेको पुँजी लगानी गर्ने वातावरण सहज हुँदै गयो भने यसले बिमा क्षेत्रलाई अघि बढाउन सक्छ ।

बिमा समितिको काम
पहिलो काम भनेको कृषि बिमाअन्तर्गत पशु तथा बाली बिमालाई तत्काल कार्यान्वयनमा ल्याउने हो । त्यसपछि पिछडिएको वर्ग र गरिबीका रेखामुनि रहेकालाई लक्षित गरेर स्वास्थ्य बिमा पनि ल्याउनुपर्छ । त्यसपछि अर्थिक गतिविधि र पूर्वाधारको विकास तीव्र गतिमा हुनका लागि लगानीमा सुरक्षण दिन नेपालका बिमा कम्पनी आफैँमा सक्षम हुनुपर्छ । सक्षम गराउनका लागि उनीहरूको चुक्ता पुँजी सञ्चयको अवस्था पनि बलियो हुनुपर्छ । त्यसका साथै यो क्षेत्रमा रहेको जनशक्तिको अभाव पनि पूर्ति गर्दै लैजानुपर्छ । दक्ष जनशक्तिको अभाव एउटा समस्या हो भने आफूले जानेको ज्ञान, सीप, क्षमता पनि अरूलाई नसिकाउने प्रवृत्ति छ । त्यो पनि हानिकारक छ । त्यो पनि अन्त्य हुनुपर्छ । ज्ञान, सीप, अनुभव अरूलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि सुरु हुनुपर्छ । अर्को कुरा पुनर्बिमा भनेको जोखिमको पनि जोखिम लिने कम्पनी हो । त्यसैले पुनर्बिमा भनेको भविष्यमा कुनै दाबी आएमा तत्कालै, कम झन्झटमै भुक्तानी दिन सक्ने हुनुप¥यो । त्यसले विश्वास जगाउँछ । जब दाबी व्यवस्थापन गर्दै गइन्छ, तब व्यवसाय बढ्छ, किनकि त्यहाँ विश्वास बढिरहेको हुन्छ । त्यो हुन सकेन भने फेरि समस्या आउँछ । बिमा ‘डिनर’ हो भने पुनर्बिमा ‘डेजर्ट’ हुन सक्नुप¥र्यो । जसले मुखमा मिठास ल्याइरहोस् र फेरिफेरि पनि खाइरहुँजस्तो लागोस् । नत्र यसैमा बालुवा मिसिएको जस्तो हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]