
बैंकिङ खबर / नेपालमा रेमिट्यान्स आउने क्रम बढेको बढ्यै छ। तीन महिनामै ७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। तर प्रश्न उठ्छ-विदेशमा नेपालीले पसिना बगाएर पठाएको पैसा बढ्दैमा नेपालको अर्थतन्त्र बलियो भएको मान्ने कि त्यसको उपयोग कसरी भइरहेको छ भनेर पनि हेर्ने ?
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो ।
अझ असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेको छ। रेमिट्यान्स बढ्नुले विदेशी मुद्रा सञ्चिति बलियो बनाउन, आयात भुक्तानी गर्न र घरपरिवारको खर्च धान्न ठूलो सहयोग गरेको छ। असोज मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। देशको शोधनान्तर स्थिति पनि ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा छ।
तर रेमिट्यान्स बढेको तथ्यांकसँगै केही असहज प्रश्न पनि छन्। आखिर किन लाखौँ नेपाली रोजगारीका लागि विदेशिन बाध्य छन्? देशभित्रै पर्याप्त रोजगारी र आम्दानीको अवसर किन सिर्जना हुन सकेको छैन? विदेशबाट आएको पैसा उत्पादन, उद्योग, कृषि र उद्यमशीलतामा कति परिचालन भइरहेको छ ?
रेमिट्यान्सले घरखर्च, शिक्षा, स्वास्थ्य, घरजग्गा र उपभोगमा ठूलो योगदान पुर्याएको छ। तर यसको ठूलो हिस्सा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसके अर्थतन्त्रको आयात निर्भरता र वैदेशिक रोजगारीमाथिको निर्भरता कायमै रहनेछ।
त्यसैले रेमिट्यान्स बढेकोमा खुसी मनाउने मात्रै होइन, विदेशमा नेपालीले बगाएको पसिनाबाट आएको पैसाले देशभित्र कति रोजगारी सिर्जना गर्यो, कति उद्योग खुले र कति उत्पादन बढ्यो भन्ने हिसाब पनि खोज्नुपर्ने बेला आएको छ।
रेमिट्यान्सको वृद्धि नेपालको अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो। तर वास्तविक खुसी त्यतिबेला हुनेछ, जतिबेला विदेशबाट पैसा पठाउने नेपालीले आफ्नै देशमा रोजगारी र व्यवसायको अवसर पाउनेछन् र रेमिट्यान्समा निर्भर अर्थतन्त्र उत्पादनमा आधारित अर्थतन्त्रमा रूपान्तरण हुनेछ।