Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

पूर्व सीईओ थुनामा, वर्तमान सीईओ धरौटीमा: प्रभु बैंक प्रकरण

२०८३ आश्विन २१ गते

बैंकिङ खबर /  प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र वर्तमान सीईओ सुमन शर्मा एकै दिन फरक–फरक कानुनी प्रकरणमा अदालतको आदेशपछि चर्चामा आएका छन्। शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ भने शर्मा कर्जा कारोबारसम्बन्धी मुद्दामा २ लाख रुपैयाँ धरौटीमा तारेखमा रहने गरी रिहा भएका छन् ।

उच्च अदालत पाटनले असोज २० गते शेरचनविरुद्ध दायर चारवटा बैंकिङ कसुर मुद्दामध्ये तीनवटामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। चौथो मुद्दामा भने अदालतले १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

शेरचनविरुद्ध नेपाल राष्ट्र बैंकको विज्ञ टोलीको प्रतिवेदन तथा प्रहरी अनुसन्धानका आधारमा चारवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा दायर भएका थिए। ती मुद्दामा धितो सुरक्षण नगरी कर्जा प्रवाह, सञ्चालक समितिको पूर्वस्वीकृतिबिना कर्जा दिएको तथा बैंकलाई आर्थिक नोक्सानी पुर्‍याएको लगायतका आरोप समेटिएका छन् ।

उच्च अदालतको आदेशपछि शेरचनले तीनवटा मुद्दामा कारागारमै रहेर पुर्पक्षको सामना गर्नुपर्ने भएको छ। चौथो मुद्दामा भने तोकिएको धरौटी बुझाएमा तारेखमा रहेर मुद्दाको प्रक्रिया अघि बढाउन सक्नेछन्।

वर्तमान सीईओ शर्मा २ लाख धरौटीमा

यता, प्रभु बैंकका वर्तमान सीईओ सुमन शर्मा भने तत्कालीन सनराइज बैंकमा सीईओ रहेका बेला भएको कर्जा कारोबारसम्बन्धी मुद्दामा २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले असोज २० गते थुनछेक बहसपछि यस्तो आदेश दिएको हो। प्रभु बैंकको आधिकारिक वेबसाइटमा पनि शर्मा हाल सीईओका रूपमा उल्लेख छन्।

वीरगञ्ज महानगरपालिका–१६ स्थित अञ्जली इन्टरनेशनलका लागि तत्कालीन सनराइज बैंकबाट स्वीकृत कर्जा तथा धितो कारोबारसँग सम्बन्धित मुद्दामा शर्मा प्रतिवादी बनाइएका हुन्। अभियोगअनुसार धितोबन्धक राखिए पनि स्वीकृत कर्जा रकम निकासा नगरेको विषयमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोप लगाइएको छ।

अदालतमा बयानका क्रममा शर्माले आफूले जाहेरवालालाई नचिनेको र उक्त कर्जा तथा धितोसम्बन्धी निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई आरोपित कसुरबाट पूर्ण रूपमा अलग गर्न सकिने अवस्था नरहेको भन्दै थप प्रमाण बुझ्दै जाने गरी २ लाख रुपैयाँ धरौटी माग गरेको हो।

पूर्व र वर्तमान सीईओका मुद्दाको पृष्ठभूमि फरक

शेरचन र शर्मासँग सम्बन्धित कानुनी प्रकरणको पृष्ठभूमि भने फरक छ। शेरचनविरुद्धका मुद्दा उनी प्रभु बैंकको सीईओ रहेका समयका बैंकिङ कारोबारसँग सम्बन्धित छन्। शर्मा जोडिएको मुद्दा भने उनी प्रभु बैंकको सीईओ बन्नुअघि तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदाको कर्जा कारोबारसँग सम्बन्धित हो।

यसरी प्रभु बैंकका पूर्व र वर्तमान सीईओ एकै दिन अदालतका फरक आदेशका कारण चर्चामा आएका छन्। तर, पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेशलाई अन्तिम दोषसिद्धि मानिँदैन। दुवै प्रकरणमा न्यायिक प्रक्रिया जारी रहेकाले अन्तिम फैसला आउन बाँकी छ।

बैंकिङ क्षेत्रका लागि भने यी घटनाक्रमले कर्जा स्वीकृति प्रक्रिया, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र संस्थागत सुशासनमा नेतृत्वको भूमिकाबारे पुनः चासो बढाएको छ।