Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

वाग्ले–बाङ्गा भेट: पुनर्निर्माणमा विश्व बैंकको सहयोग

२०८३ आश्विन २० गते

 

बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको बाढीपछिको पुनर्निर्माण, आर्थिक सुधार, पूर्वाधारमा लगानी विस्तार तथा सामाजिक संरक्षणका लागि स्रोत परिचालनलगायत विषयमा छलफल भएको छ ।

विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। साथै, सरकारले अघि बढाइरहेको बृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षण कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्थापनबारे पनि छलफल भएको हो ।

भेटका क्रममा नेपालले पुनर्निर्माण, आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणलगायत क्षेत्रमा करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल गरेको बताइएको छ। उक्त स्रोत विशेषगरी विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन उत्थानशील विकासमा उपयोग गर्ने उद्देश्यसँग जोडिएको छ।

बाढीबाट भएको क्षतिप्रति बाङ्गाको दुःख

विश्व बैंक अध्यक्ष बाङ्गाले नेपालमा बाढी तथा विपद्का कारण भएको मानवीय क्षति र भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालले विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन राहतमा मात्र सीमित नराखी भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्ने गरी उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता समेत देखिएको छ। नेपालमा बाढीका कारण सडक, पुल, जलविद्युत् तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सरकारले क्षतिको विस्तृत मूल्यांकनका आधारमा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया अघि बढाइरहेको छ।

आर्थिक सुधार र रोजगारीमा जोड

भेटवार्ताका क्रममा विश्व बैंक अध्यक्ष बाङ्गाले नेपाल सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका प्रयासको प्रशंसा गरेका छन्। उनले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी विस्तारसँगै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। नेपालको आर्थिक विकासका लागि सार्वजनिक लगानीसँगै निजी तथा बाह्य लगानी आकर्षित गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा विश्व बैंकको सहयोग र विकास साझेदारसँगको सहकार्यलाई सरकारले महत्वपूर्ण मानेको छ। बाङ्गाले नेपालका प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विकास साझेदारबीच समन्वय गर्ने विश्व बैंकको नयाँ पहलका विषयमा समेत जानकारी गराएका छन्। यसका लागि एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका संस्थासँग सहकार्य विस्तार गर्ने बताइएको छ।

तीन दशकपछि पहिलो प्रत्यक्ष उच्चस्तरीय भेट

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच पछिल्लो तीन दशकमा भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जोहानेस जट र जुनैद अहमदलगायत वरिष्ठ अधिकारीहरूको समेत सहभागिता थियो।

अर्थमन्त्री वाग्लेले अमेरिका भ्रमणका क्रममा विश्व बैंकसँगै अमेरिकी सरकारका अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग पनि नेपालमा पुनर्निर्माण, लगानी विस्तार र आर्थिक सहकार्यका विषयमा छलफल गरिरहेका छन्। भ्रमणको मुख्य उद्देश्य बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि थप स्रोत जुटाउनुका साथै नेपालमा पूर्वाधार तथा अन्य प्राथमिक क्षेत्रमा लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउनु रहेको छ।