Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

माछापुच्छ्रे बैंकले ल्यायो ‘माया’ च्याटबोट, अब वेबसाइटबाटै बैंकिङ जानकारी

२०८३ आश्विन १८ गते

बैंकिङ खबर /  माछापुच्छ्रे बैंकले ग्राहक सेवामा डिजिटल प्रविधिको प्रयोग बढाउँदै ‘माया’ नामक नयाँ च्याटबोट सार्वजनिक गरेको छ। बैंकका अनुसार यो सेवामार्फत ग्राहकले सामान्य बैंकिङ जिज्ञासाको जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् । बैंकको आधिकारिक वेबसाइटमा ‘माया’को आइकन राखिएको छ । ग्राहकले उक्त आइकनमा क्लिक गरी च्याटमार्फत आफ्ना प्रश्न राख्न सक्नेछन्। यसबाट बैंकिङ सेवा तथा प्रक्रियासम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सामान्य बैंकिङ जानकारी लिनकै लागि शाखा कार्यालय पुग्नुपर्ने वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको हो। डिजिटल माध्यमबाट जानकारी उपलब्ध हुँदा ग्राहकले आफ्नो समय र श्रम बचत गर्न सक्ने बैंकको अपेक्षा छ । माछापुच्छ्रे बैंकले ‘माया’लाई ग्राहकको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको अन्तरक्रियात्मक डिजिटल सेवाका रूपमा अघि सारेको छ । बैंकका अनुसार यसको माध्यमबाट ग्राहकसँगको डिजिटल अन्तरक्रियालाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

बैंकले च्याटबोटको कार्यक्षमता स्थिर नराखी प्रयोगकर्ताबाट प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा निरन्तर सुधार गर्ने जनाएको छ। समयसँगै यसको जवाफको शुद्धता, सान्दर्भिकता र उपयोगिता बढाउँदै लैजाने बैंकको योजना छ । बैंकका अनुसार ‘माया’को सुरुवात डिजिटल बैंकिङ सेवालाई थप ग्राहककेन्द्रित बनाउने प्रयास हो । यसले बैंकको वेबसाइटलाई केवल सूचना हेर्ने माध्यमबाट ग्राहकसँग प्रत्यक्ष डिजिटल संवाद गर्ने प्लेटफर्मका रूपमा समेत उपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।