Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपालमा पहिलोपटक Apple Pay र Google Pay भुक्तानी

२०८३ आश्विन १६ गते

बैंकिङ खबर /  एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक Apple Pay र Google Pay मार्फत हुने भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकको ई–कमर्स पेमेन्ट गेटवे CyberSource मा आबद्ध मर्चेन्टले अब Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट डिजिटल भुक्तानी लिन सक्ने भएका छन् ।

बैंकका अनुसार यो सुविधा Apple Pay तथा Google Pay मा जोडिएका Visa र Mastercard कार्ड प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो कार्ड विवरणलाई सम्बन्धित डिजिटल वालेटमा टोकनाइज गरी भौतिक कार्ड प्रयोग नगरी मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

नयाँ सेवामार्फत विशेषगरी अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने नेपाली व्यवसायलाई लक्षित गरिएको छ । होटल, टुर्स एन्ड ट्राभल्स, एयरलाइन्स, ह्यान्डिक्राफ्ट, ई–कमर्स तथा आईटी क्षेत्रका व्यवसायले CyberSource Payment Gateway मार्फत Apple Pay र Google Pay बाट भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय ग्राहकले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको डिजिटल भुक्तानी माध्यमबाट नेपालका व्यवसायलाई भुक्तानी गर्न सक्ने भएकाले सीमा पारको डिजिटल कारोबारलाई थप सहज बनाउन सक्ने बैंकको भनाइ छ । यसले विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स र निर्यातजन्य व्यवसायमा अन्तर्राष्ट्रिय ग्राहकसँगको कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Apple Pay र Google Pay मा कार्ड विवरण टोकनाइज हुने भएकाले कारोबारका क्रममा वास्तविक कार्ड विवरण प्रत्यक्ष रूपमा प्रयोग नगरी भुक्तानी प्रक्रिया अघि बढ्ने व्यवस्था छ । बैंकले यसलाई डिजिटल भुक्तानीलाई थप सहज र सुरक्षित बनाउने दिशाको नयाँ सुविधा भएको जनाएको छ ।

बैंकका अनुसार नेपालमा पहिलोपटक सुरु गरिएको यो सेवाले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीसँग जोड्न सहयोग गर्नेछ । साथै, विदेशी ग्राहकबाट हुने डिजिटल भुक्तानी सहज हुँदा पर्यटन तथा अन्तर्राष्ट्रिय कारोबारमार्फत विदेशी मुद्रा आर्जनमा समेत योगदान पुग्न सक्ने बैंकको अपेक्षा छ ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलले नयाँ सेवाले नेपाली मर्चेन्टलाई अन्तर्राष्ट्रिय ग्राहकसँग डिजिटल माध्यमबाट कारोबार गर्न थप सहज वातावरण निर्माण गर्ने बताएका छन् ।