
बैंकिङ खबर / महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी जानकारी, परामर्श तथा सहजीकरण उपलब्ध गराइरहेको छ । बैंकको स्टलमा ग्राहकले कर्जा प्रक्रिया, आवश्यक कागजात, ब्याजदर तथा उपलब्ध बैंकिङ सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । प्रदर्शनीलाई लक्षित गर्दै कर्जामा आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुट समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकका अनुसार भदौ महिनाका लागि यसको आधार दर ५.६४ प्रतिशत रहेको छ । आधार दरमा आधारित कर्जाको ब्याजदरबाट घरजग्गा खरिद तथा घर निर्माणका लागि कर्जा लिने ग्राहक लाभान्वित हुन सक्ने बैंकको भनाइ छ ।
प्रदर्शनीमा बैंकले स्टल नम्बर ७७ बाट सेवा दिइरहेको छ । बैंकका प्रतिनिधिले प्रदर्शनीमा सहभागी ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरी घरजग्गा तथा निर्माण कर्जाको प्रक्रिया र बैंकका विभिन्न सेवाबारे जानकारी तथा परामर्श प्रदान गरिरहेका छन् ।
यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई थप सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।