Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

कुमारी बैंकको लाभांश फर्कियो, २.१०५३ प्रतिशत नगद दिने प्रस्ताव

२०८३ भाद्र ३१ गते

बैंकिङ खबर  /  लामो समयदेखि लाभांशविहीन रहेका कुमारी बैंकका सेयरधनीका लागि यसपटक नगद प्रतिफलको बाटो खुलेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कुमारी बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसँगै लाभांश वितरणको प्रस्ताव अघि बढाएको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । यही पुँजीका आधारमा २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्दा सेयरधनीलाई कुल करिब ५५ करोड २१ लाख रुपैयाँ बराबरको नगद प्रतिफल वितरण हुनेछ ।

यसपटक कुमारी बैंकले बोनस सेयरको प्रस्ताव भने गरेको छैन । अर्थात् बैंकको सञ्चालक समितिले सेयरधनीलाई नगद लाभांशमार्फत प्रतिफल दिने प्रस्ताव मात्रै अघि सारेको हो ।

कुमारी बैंकका लागि यो लाभांश विगतको तुलनामा उल्लेख्य कम दरमा भए पनि लगातार तीन आर्थिक वर्षको शून्य लाभांशपछि आएको प्रतिफल हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा १२.५० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछि तीन आर्थिक वर्ष सेयरधनीले कुनै लाभांश पाएका थिएनन् ।

एनसीसी बैंकसँगको मर्जरपछि बनेको कुमारी बैंकले पछिल्ला वर्षमा लाभांश वितरण गर्न नसकेको अवस्थामा आर्थिक वर्ष २०८२/८३ बाट पुनः लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाएको हो । यसले बैंकको सञ्चित नाफाबाट सेयरधनीलाई प्रतिफल दिने क्षमता पुनः देखिन थालेको संकेत गरेको छ ।

तर सञ्चालक समितिले गरेको प्रस्तावबाटै लाभांश वितरण भने निश्चित भइसकेको छैन । प्रस्तावित वित्तीय विवरण तथा लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । त्यसपछि बैंकको वार्षिक साधारणसभाले लाभांश प्रस्ताव अनुमोदन गरेपछि मात्रै सेयरधनीले नगद प्रतिफल प्राप्त गर्नेछन् ।

कुमारी बैंकले यसपटक प्रस्ताव गरेको २.१०५३ प्रतिशत लाभांशलाई अघिल्लो पटकको १२.५० प्रतिशतसँग तुलना गर्दा दरमा ठूलो कमी देखिन्छ । तर तीन वर्षसम्म लाभांश शून्य रहेको अवस्थामा भने बैंकले पुनः सेयरधनीलाई प्रतिफल दिने प्रक्रिया सुरु गरेको छ ।

अब बैंकको लाभांश वितरणको अन्तिम निर्णय राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट हुने अनुमोदनमा निर्भर हुनेछ ।