बैंकिङ खबर / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन्।
पौडेलले आफ्नो व्यक्तिगत तर्फबाट उपलब्ध गराएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेकमार्फत प्रदान गरेका हुन्। उनले भदौ २५ गते सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका नागरिक प्रभावित भएका थिए। बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनर्स्थापनाको काम अघि बढिरहेका बेला पौडेलले सरकारको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको बताएका छन्।
बाढीबाट भएको ठूलो क्षतिपछि प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि थप स्रोतसाधन आवश्यक रहेको उल्लेख गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली र अन्य सबै पक्षलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन सामूहिक सहकार्य आवश्यक रहेको समेत बताएका छन्।