Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्‍यो १० प्रतिशत लाभांश, बोनस र नगद दुवै समावेश

२०८३ भाद्र १८ गते

काठमाडौं /  ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव अघि बढाएको हो ।

प्रस्तावअनुसार शेयरधनीले करसहित ६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने ४ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । यद्यपि, प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ । दुवै प्रक्रिया पूरा भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोग तथा ग्राहक सेवामा गरेको सुधारका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ लगायतका अवार्ड प्राप्त गरिसकेको छ । पछिल्ला तीन वर्ष सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि समेत बैंकले हात पारेको जनाएको छ ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मान प्राप्त गरेको छ । ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ लगायतका पुरस्कार पनि बैंकले प्राप्त गरेको छ ।देशभर आफ्नो सेवा विस्तार गरेको ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल पुर्‍याउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको जनाएको छ । हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् । यी सबैलाई जोड्दा बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

बैंकले रेमिट्यान्स सेवामा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत विभिन्न देशबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको बैंकले जनाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत योगदान पुगिरहेको बैंकको भनाइ छ ।