बैंकिङ खबर / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको एसोसिएट सदस्यका रूपमा जोडिएको छ। निफ्रा संघको पहिलो एसोसिएट सदस्य बनेसँगै संघको संस्थागत पहुँच र सदस्य सञ्जाल थप फराकिलो भएको छ ।
निफ्राको सदस्यताले पूर्वाधार वित्तपोषण, दीर्घकालीन लगानी, वित्तीय स्रोतको परिचालन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा रहेका नीतिगत र व्यावहारिक चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकासका लागि आवश्यक लगानी विस्तार, दीर्घकालीन वित्तीय स्रोतको उचित व्यवस्थापन तथा पूर्वाधार परियोजनामा देखिने लगानी जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला निकायसँग समन्वय गर्न सदस्यताले सहयोग पुग्ने संघको विश्वास छ।त्यस्तै, बैंकिङ तथा पूर्वाधार वित्तसँग सम्बन्धित विषयमा साझा धारणा निर्माण गरी आवश्यक नीतिगत सुझाव र सिफारिस सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्नसमेत निफ्राको आबद्धताले थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।
पूर्वाधार वित्त र लगानीका क्षेत्रमा निफ्राले हासिल गरेको अनुभव तथा प्राविधिक ज्ञानलाई संघको अध्ययन, अनुसन्धान र नीति संवादमा उपयोग गर्न सकिने बताइएको छ। यसबाट बैंकिङ क्षेत्र र पूर्वाधार वित्तबीच ज्ञान, अनुभव तथा अभ्यास आदानप्रदानको अवसरसमेत विस्तार हुने विश्वास लिइएको छ ।