Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेरुडे मिर्मिरे लघुवित्तको बाढीपीडितलाई २८ लाखभन्दा बढी राहत सहयोग

२०८३ भाद्र १६ गते

बैंकिङ खबर /  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि २८ लाख २० हजार २४९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठलगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संस्थाका अनुसार उक्त रकम सञ्चालक समिति, कर्मचारी परिवार तथा संस्थाको संयुक्त सहभागिताबाट संकलन गरिएको हो। भोटेकोशीलगायत विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।रकम हस्तान्तरण गर्दै अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू ग्रामीण तथा विपन्न समुदायसम्म प्रत्यक्ष रूपमा पुगेर वित्तीय सेवा प्रदान गर्ने भएकाले विपद्को अवस्थामा पनि समुदायको साथमा रहनुपर्ने बताए। विपद्को समयमा सरकारी तथा गैरसरकारी क्षेत्रसहित सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेरुडे मिर्मिरेले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत मानवीय तथा सामाजिक हितका गतिविधिमा संस्थाको सहभागिता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले संस्थाले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल अवधारणालाई आत्मसात् गर्दै वित्तीय कारोबारमा मात्र आफूलाई सीमित नराखेको बताए। संस्थाले वित्तीय साक्षरता, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।पौडेलले आगामी दिनमा सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा संस्थाको योगदान विस्तार गर्ने बताए ।

नेरुडे मिर्मिरेले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।संस्थाले आगामी दिनमा पनि ग्राहक संरक्षण, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै वित्तीय सेवासँगै सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।