बैंकिङ खबर / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बाढी तथा डुबानबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि निजी क्षेत्रलाई सक्रिय रूपमा परिचालन हुन अपिल गरेका छन् ।
रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि महासंघले निजी क्षेत्रलाई राज्यको उद्धार तथा राहत प्रयासमा हातेमालो गर्न आग्रह गरेको हो। अध्यक्ष श्रेष्ठले प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।महासंघअन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत तथा उद्धारमा जुट्न श्रेष्ठले आग्रह गरेका छन् ।
उनले निजी क्षेत्रको स्रोत, साधन र सामर्थ्य परिचालन गरी प्रभावित परिवारसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित रूपमा पुर्याउनुपर्ने बताएका छन्।त्यस्तै, विपद्को समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध राख्न तथा बजारमा मूल्य स्थिरता कायम गर्नसमेत महासंघले व्यवसायीलाई आग्रह गरेको छ ।
अध्यक्ष श्रेष्ठले विपद्को समयमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। महासंघले प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा रहेर राहत, उद्धार र पुनर्स्थापनाका काममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।