
बैंकिङ खबर / कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको उक्त कार्यक्रमले वस्तु तथा सेवा खरिद गर्दा प्यान तथा भ्याट बिल लिन उपभोक्तालाई प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा उक्त पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।
ग्राहकले ‘कुमारी स्मार्ट’मा रहेको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा प्राप्त पुरस्कारको अवस्थासमेत हेर्न सक्ने बैंकले जनाएको छ ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्ये दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्रदान गरिने व्यवस्था छ ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, ‘आईआरडी प्रोत्साहन कार्यक्रम’मार्फत आफ्नो योग्यताको अवस्था नियमित रूपमा जाँच गर्न पनि बैंकले अनुरोध गरेको छ ।
कुमारी बैंकका अनुसार उक्त अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता प्रवर्द्धनमा योगदान पुर्याउनेछ ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर २८५ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकले सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।


