Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

भदौमा घट्यो मुद्दती निक्षेपको ब्याज, औसत ४.१३ प्रतिशत

२०८३ श्रावण ३१ गते

बैंकिङ खबर / वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ १ गतेदेखि लागू हुने नयाँ दरअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा थप कमी आएको छ । भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ । साउनमा यस्तो औसत दर ४.१७ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेको हो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । भदौमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ । साउनमा यो दर ३.१२ प्रतिशत थियो । 

भदौका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत ब्याज दिने भएको छ।एभरेष्ट बैंकले ४.०५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । कुमारी बैंकले ३.७६ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् । त्यस्तै, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत ब्याज दिनेछन् । एनएमबि बैंकले ४.५० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र सिद्धार्थ बैंकले ३.७६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याज दिने भएका छन् । एनआईसी एशिया बैंकले भने ४ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै गएसँगै पछिल्लो समय मुद्दती निक्षेपमा पाइने प्रतिफल पनि क्रमशः कम हुँदै गएको देखिन्छ । यसको प्रभाव बचतकर्ता तथा बैंकको निक्षेप संकलन रणनीतिमा समेत पर्ने देखिएको छ ।