Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

२० वाणिज्य बैंकको नाफा ६९ अर्ब ७८ करोड : कसको नाफा कति ?

२०८३ श्रावण ३१ गते

काठमाडौं /  सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल ६९ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफा ३१.९५ प्रतिशतले बढेको देखिएको छ।

रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ भने कुमारी बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा छन्। अर्कोतर्फ प्रभु बैंक २४ करोड रुपैयाँ नोक्सानीमा रहेको छ।

तल २० वटै बैंकलाई सबैभन्दा धेरै नाफा कमाउनेदेखि सबैभन्दा कम नाफा/नोक्सानीमा रहेका बैंकसम्म क्रमबद्ध गरिएको छ।

१. नबिल बैंक : ७ अर्ब ९० करोड रुपैयाँ

नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो २० बैंकमध्ये सबैभन्दा धेरै हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ५ अर्ब ९२ करोड रुपैयाँ थियो।

नबिलको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३८.३२ प्रतिशत देखिएको छ। प्रतिसेयर आम्दानी २८.३६ रुपैयाँ रहेको छ।

२. कुमारी बैंक : ७ अर्ब ३८ करोड रुपैयाँ

कुमारी बैंकले ७ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थान हासिल गरेको छ। अघिल्लो वर्ष १ अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको बैंकको यसपटक नाफा उल्लेख्य रूपमा बढेको हो।

बैंकले अघिल्लो समयको प्रावधानमध्ये १ अर्ब ४३ करोड रुपैयाँ राइटब्याक गरेको छ। वितरणयोग्य नाफा ७९ करोड रुपैयाँ र प्रतिसेयर आम्दानी २८.१७ रुपैयाँ छ। खराब कर्जा अनुपात भने ७.४६ प्रतिशत पुगेको छ।

३. ग्लोबल आइएमई बैंक : ६ अर्ब २२ करोड रुपैयाँ

ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५ अर्ब २२ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी १६.३४ रुपैयाँ र लाभांश क्षमता १२.०२ प्रतिशत देखिएको छ।

४. एभरेष्ट बैंक : ५ अर्ब ६ करोड रुपैयाँ

एभरेष्ट बैंकले ५ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ४ अर्ब ८३ करोड रुपैयाँको तुलनामा नाफा बढेको हो। एभरेष्ट बैंकको सबैभन्दा बलियो पक्षमध्ये खराब कर्जा अनुपात पनि हो। बैंकको खराब कर्जा ०.४९ प्रतिशत मात्रै छ, जुन २० बैंकमध्ये सबैभन्दा कम हो। त्यस्तै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड रुपैयाँ र लाभांश क्षमता ३८.३२ प्रतिशत छ, जुन सबैभन्दा उच्च हो।

५. राष्ट्रिय वाणिज्य बैंक : ४ अर्ब ५५ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ८३ करोड रुपैयाँ थियो। बैंकको प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात भने ३.९५ प्रतिशत रहेको छ।

६. नेपाल बैंक : ४ अर्ब ५० करोड रुपैयाँ

नेपाल बैंकले ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको ३ अर्ब ७ करोड रुपैयाँको तुलनामा नाफा बढेको हो। बैंकले १ अर्ब १ करोड रुपैयाँ प्रावधान राइटब्याक गरेको छ। वितरणयोग्य नाफा २ अर्ब ३२ करोड रुपैयाँ र प्रतिसेयर आम्दानी ३०.६३ रुपैयाँ रहेको छ।

७. प्राइम कमर्सियल बैंक : ४ अर्ब ११ करोड रुपैयाँ

प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ। खराब कर्जा अनुपात ६.६९ प्रतिशत र लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ।

८. एनएमबी बैंक : ४ अर्ब १ करोड रुपैयाँ

एनएमबी बैंकले ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा नाफा उल्लेख्य रूपमा बढेको हो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ भने लाभांश क्षमता ९.०८ प्रतिशत रहेको छ। खराब कर्जा अनुपात ४.९१ प्रतिशत छ।

९. सानिमा बैंक : ३ अर्ब ५५ करोड रुपैयाँ

सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको २ अर्ब ५७ करोड रुपैयाँभन्दा यसपटक नाफा बढेको हो। बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी २५.७५ रुपैयाँ र लाभांश क्षमता २०.८५ प्रतिशत रहेको छ।

१०. सिद्धार्थ बैंक : ३ अर्ब ५१ करोड रुपैयाँ

सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ३६ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड रुपैयाँ देखिएको छ। लाभांश क्षमता २६.१५ प्रतिशत र प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ रहेको छ।

११. लक्ष्मी सनराइज बैंक : ३ अर्ब ११ करोड रुपैयाँ

लक्ष्मी सनराइज बैंकले ३ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो। यसपटक नाफा घटे पनि बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात ५.२३ प्रतिशत र लाभांश क्षमता ६.७९ प्रतिशत छ।

१२. स्ट्याण्डर्ड चार्टर्ड बैंक : २ अर्ब ८५ करोड रुपैयाँ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब १ करोड रुपैयाँ थियो। बैंकले १५ करोड रुपैयाँ प्रावधान राइटब्याक गरेको छ। वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ र लाभांश क्षमता १९.०४ प्रतिशत रहेको छ।

१३. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : २ अर्ब ७४ करोड रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको बैंकको यसपटक नाफा घटेको छ। बैंकको खराब कर्जा अनुपात ८.६६ प्रतिशत छ। वितरणयोग्य नाफा भने अर्ब ८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

१४. कृषि विकास बैंक : २ अर्ब ६३ करोड रुपैयाँ

कृषि विकास बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत छ। वितरणयोग्य नाफा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

१५. माछापुच्छ्रे बैंक : २ अर्ब ११ करोड रुपैयाँ

माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको १ अर्ब ८८ करोड रुपैयाँभन्दा यसपटक नाफा बढेको हो। बैंकको वितरणयोग्य नाफा ९८ करोड रुपैयाँ र लाभांश क्षमता ७.५१ प्रतिशत रहेको छ।

१६. सिटिजन्स बैंक : २ अर्ब ९ करोड रुपैयाँ

सिटिजन्स बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य नाफा ५२ करोड रुपैयाँ छ। खराब कर्जा अनुपात ५.८८ प्रतिशत र लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ।

१७. नेपाल एसबिआई बैंक : २ अर्ब ४ करोड रुपैयाँ

नेपाल एसबिआई बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड रुपैयाँ र लाभांश क्षमता ११.०४ प्रतिशत रहेको छ। खराब कर्जा अनुपात २.९२ प्रतिशत छ।

१८. हिमालयन बैंक : १ अर्ब ४८ करोड रुपैयाँ

हिमालयन बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा जम्मा १२ करोड रुपैयाँ थियो। यसकारण प्रतिशतका आधारमा हिमालयन बैंकको नाफा अत्यधिक बढेको देखिन्छ। तर यसको ठूलो कारण अघिल्लो वर्षको विवरण र यसपटकको अपरिष्कृत विवरणबीचको तुलनामा रहेको छ। बैंकको वितरणयोग्य नाफा ९ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक छ।

१९. एनआइसी एसिया बैंक : १८ करोड रुपैयाँ

एनआइसी एसिया बैंकले यसपटक १८ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ। अघिल्लो वर्ष बैंक ३ अर्ब ८७ करोड रुपैयाँ नाफामा थियो। बैंकको खराब कर्जा अनुपात ९.२६ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। प्राथमिक पुँजी कोष अनुपात तोकिएको न्यूनतम सीमाभन्दा तल रहेकाले बैंकमाथि थप दबाब देखिएको छ।

२०. प्रभु बैंक : २४ करोड रुपैयाँ नोक्सानी

प्रभु बैंक २० वाणिज्य बैंकमध्ये नोक्सानीमा जाने एक मात्र बैंक देखिएको छ। बैंकले २४ करोड रुपैयाँ खुद नोक्सानी बेहोरेको छ। बैंकको खराब कर्जा अनुपात १५.५५ प्रतिशत पुगेको छ, जुन २० बैंकमध्ये सबैभन्दा धेरै हो। वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक छ। बैंकको प्राथमिक पुँजी कोष अनुपात पनि न्यूनतम आवश्यक सीमाभन्दा तल रहेको छ।

 

नाफा बढे पनि बैंकिङ क्षेत्रमा चुनौती कायमै

२० बैंकको कुल खुद नाफा ६९ अर्ब ७८ करोड रुपैयाँ पुगे पनि बैंकहरूको आम्दानीको मुख्य आधार खुद ब्याज आम्दानीमा खासै सुधार हुन सकेको छैन। खुद ब्याज आम्दानी अघिल्लो वर्षको करिब १ खर्ब ८९ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ९२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अर्थात् वृद्धि करिब १ प्रतिशत मात्रै हो। यसको मुख्य कारण कर्जा माग अपेक्षित रूपमा नबढ्नु र प्रवाह भएको कर्जाको किस्ता तथा ब्याज असुलीमा देखिएको दबाब हो। बैंकिङ प्रणालीमा अझै ठूलो रकम कर्जा लगानी हुन नसकी थन्किएको अवस्था छ।

अर्कोतर्फ, बैंकहरूको औसत खराब कर्जा अनुपात पनि बढेको छ। औसत खराब कर्जा ४.५१ प्रतिशतबाट बढेर ५.३५ प्रतिशत पुगेको छ। प्रभु बैंकको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ भने एभरेष्ट बैंकको ०.४९ प्रतिशत मात्रै छ।

त्यस्तै, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। यी चार बैंकको वितरणयोग्य नाफा जोड्दा करिब २१ अर्ब ६३ करोड रुपैयाँ ऋणात्मक देखिन्छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत रहेको छ। एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै ३८.३२ प्रतिशत छ। तर नाफा बढेको मात्रै आधारमा बैंकहरूको अवस्था समान रूपमा सुधारिएको भन्न सकिने अवस्था छैन। केही बैंकको नाफा प्रावधान घट्नु तथा अघिल्लो वर्षको परिष्कृत र यसपटकको अपरिष्कृत वित्तीय विवरणबीचको फरकका कारण पनि उल्लेख्य रूपमा बढेको देखिएको छ।

यसकारण चालु आर्थिक वर्षको बैंकिङ क्षेत्रको वास्तविक अवस्था मूल्यांकन गर्दा खुद नाफासँगै खराब कर्जा, वितरणयोग्य नाफा, प्रावधान, प्राथमिक पुँजी कोष र कर्जा विस्तारलाई समेत सँगसँगै हेर्नुपर्ने देखिन्छ।