बैंकिङ खबर / कृषि विकास बैंकले आफ्नो कुल कर्जा विस्तार लक्ष्यको आधा हिस्सा कृषि क्षेत्रमा केन्द्रित गरेको जनाएको छ। बैंकको ५९औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुल कर्जा लक्ष्यको ५० प्रतिशत लगानी कृषि क्षेत्रमा गरिएको जानकारी दिए।
कार्यक्रममा सिइओ गुरुङले ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको पहुँच विस्तारलाई बैंकको मुख्य रणनीति रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुग्ने उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाइएको बताए। व्यवसाय विस्तारसँगै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले बैंकले उत्पादनमुखी कर्जामा जोड दिँदै आएको उनको भनाइ थियो।
बैंकको वित्तीय सूचकमा समेत उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकको कुल निक्षेप अघिल्लो वर्षको तुलनामा २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा प्रवाह ८.४० प्रतिशतले बढेर २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको गुरुङले जानकारी दिए।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको कुल निक्षेप ३ खर्ब २४ अर्ब ७९ करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ। कुल कर्जा लगानीको तुलनामा बैंकको निष्क्रिय कर्जा अनुपात ४.५२ प्रतिशत रहेको पनि सार्वजनिक गरिएको छ।
सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले परम्परागत बैंकिङ सीमाभन्दा बाहिर निस्कँदै किसान, कृषि व्यवसाय र उत्पादनशील क्षेत्रको प्रमुख वित्तीय साझेदारको रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको जनाएको छ।


