
बैंकिङ खबर/ जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते चितवन भरतपुरमा भएको तोडफोड र आगजनीपछि प्रहरीले नियन्त्रणमा लिएको एटीएम मेसिनबाट १७ लाख रूपैयाँ फेला परेको छ।
प्रदर्शनकारीले जिल्ला प्रशासन, अदालत, मालपोतलगायतका सरकारी भवनमा आगजनी गरेर ध्वस्त पारेका थिए । तोडफोडसँगै लुटपाट पनि मच्चिएको घटनामा भरतपुरको मालपोत कार्यालयमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिनसमेत क्षतिग्रस्त भएको थियो । आगजनीका कारण कार्यालयका महत्वपूर्ण अभिलेखहरू खरानी भएका छन्।
प्रहरीका अनुसार आगजनीपछि तोडफोड हुन लागेको एटीएम तत्काल नियन्त्रणमा लिइएको थियो। भदौ २७ गते माछापुच्छ्रे बैंकका प्रतिनिधि, प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा उक्त एटीएम खोलेर रकम गणना गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए। उनले भने, ‘एटीएमभित्र १७ लाख ७९ हजार रूपैयाँ भेटियो, जुन रकम बैंकका प्रतिनिधिलाई सोही दिन हस्तान्तरण गरियो ।’


