
बैंकिङ खबर/ बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० की ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका–२९ बस्ने, खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले फरार रहेका दुवैजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
लता गुरूङ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाअनुसार २ लाख २२ हजार रुपैयाँ जरिवाना, १ दिन कैद र ८ हजार ८८० रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय सुनाइएको थियो। फैसलापछि फरार रहेकी उनलाई सोमबार सितापाइलाबाट पक्राउ गरिएको हो।
त्यसैगरी, वृहस्पति राईलाई उच्च अदालत पाटन, ललितपुरको २०७९ असार २८ गतेको फैसलाअनुसार २० लाख रुपैयाँ जरिवाना, ४ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने सजाय सुनाइएको थियो। उनी पनि फैसला कार्यान्वयन नगरी फरार थिए। उनलाई आइतबार शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बैंकिङ प्रणालीमा विश्वास कायम राख्नका लागि यस्ता फरार प्रतिवादीहरूलाई खोजी गरिरहने जनाएको छ।



