
बैंकिङ खबर/ प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध दर्ता गरिएको चेक अनादरको जाहेरी फिर्ता लिने पत्र जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको छ । रोल्पाका निर्माण व्यवसायी धात बुढामगरले चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँको चेक बाउन्स भएको भन्दै साउन ६ गते हुलाकमार्फत जाहेरी दिएका थिए।
तर, आइतबार दिउँसो उनले पुनः हुलाकमार्फत नै जाहेरी फिर्ताको पत्र पठाएको प्रहरीले जनाएको छ । सुरुमा आएको उजुरी र अहिले आएको फिर्ताको पत्र दुवै सक्कली हुन् कि होइनन् भन्नेबारे सनाखत गरेर मात्र यकिन हुने प्रहरीले जनाएको छ । उजुरीबारे सनाखत गर्न बोलाउँदा पनि बुढामगर नआएकोले अब उनलाई ल्याएरै सनाखत प्रक्रिया अघि बढाइनेछ ।
प्रहरीले जाहेरीपछि बुढामगरलाई कयौं पटक बयानका लागि बोलाएको थियो भने रकमको स्रोत खुलाउन ताकेता गरेको थियो। तर उनी प्रहरी कार्यालय नआएको प्रहरी स्रोतले जनाएको छ। बुढामगरलाई चौधरीले २०८१ पुस २६ गते एभरेस्ट बैंकको खाताबाट चेक दिएका थिए । तर चेकमा हस्ताक्षर फरक परेपछि तीन पटकसम्म पनि चेक भुक्तानी नहुँदा उनले बैंकिङ प्रक्रिया अनुसार सात दिनभित्र चेक बाउन्सको सूचना प्रकाशित गराउने निवेदन दिएका थिए ।
सांसद चौधरीले बुढामगरलाई ‘भान्जा’को नाताले चिनाउने गरे पनि उनीहरुबीचको आर्थिक सम्बन्धबारे थप खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बुढामगर हाल घोराहीमा निर्माण व्यवसाय गर्दै आएका छन्। घटनासँग जोडिएको कागजातको प्रमाणीकरण र सम्बन्धित व्यक्तिहरुको बयानपछि मात्रै घटनाको सत्यता पुष्टि हुने दाङ प्रहरीले स्पष्ट पारेको छ ।



