Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच १३६ करोडको लगानी सम्झौता

admin २०८२ असार ४ गते
सेयर:

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त आयोजना मनाङ जिल्लाको नासोङ गाउँपालिकामा निर्माण गरिँदैछ। परियोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा अघि बढाइएको हो।

चाइनिज ठेकेदार कम्पनीलाई ईपीसी मोडेलमा ठेक्का दिइएको छ जसअनुसार आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। परियोजनाबाट उत्पादन हुने विद्युत् मनाङको धारापानीस्थित सब–स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत खरीद–बिक्री सम्झौता २०८२ सालको वैशाख महीनामै भइसकेको छ। यो आयोजना सम्पन्न भएपछि वर्षेनी ४४.४६३ गिगावाट–आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

एभरेष्ट बैंक पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापना भएको बैंक हो। बैंकका १३२ वटा शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएम मेशिन छन्। हालसम्म एभरेष्ट बैंकसँग १४ लाखभन्दा बढी ग्राहक छन्।

नेपाल सरकारको राजस्व संकलनका लागि बैंकले ३२ स्थानमा संकलन केन्द्रबाट सेवा दिइरहेको छ। साथै भारतको नयाँ दिल्लीसहित अन्य देशहरूमा समेत प्रतिनिधि कार्यालय स्थापना गरेर सेवा विस्तार गरिरहेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।