Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई सम्मान

२०८१ फाल्गुन २४ गते

बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले “अन्तर्राष्ट्रिय महिला दिवस २०२५” नेपाली महिलाहरूको योगदानको कदर गर्दै विभिन्न क्षेत्रका विशिष्ट महिलाहरूलाई सम्मान गर्दै मनाएको छ। प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले उनीहरूको परिश्रम र उपलब्धिको सम्मान गर्दै नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरिएको जनाएका छन्।

प्रत्येक वर्ष मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। यस दिवसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै उनीहरूको पूर्ण सहभागिता र समान अवसर सुनिश्चित गर्ने उद्देश्य राख्छ। शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच बढाउँदै सशक्तिकरणलाई प्रवर्द्धन गर्ने, भेदभाव तथा हिंसाविरुद्ध आवाज उठाउने तथा लैङ्गिक समानताको लक्ष्य हासिल गर्नका लागि यो दिवस महत्वपूर्ण मानिन्छ।

प्रभु क्यापिटलले सम्मानित गरेका महिलाहरूमा पूर्व मिस नेपाल तथा कर्पोरेट प्रशिक्षक सुगारिका के.सी, मिडिया पर्सनालिटी तथा उद्यमी सरिता ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता तथा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, फोब्र्स २०२४ को प्रभावशाली युवा व्यक्तित्व तथा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी, उद्यमी तथा ‘आमाको अचार’ की संस्थापक सङ्गीता पाण्डे, टेक व्यवसायी सोनिका मानन्धर, र नेपाल महिला उद्यमी संघ ललितपुरकी नि. अध्यक्ष रम्भा श्रेष्ठ रहेका छन्। यी महिलाहरूले आ–आफ्नो क्षेत्रमा नवप्रवर्तन, नेतृत्व तथा उन्नतिको माध्यमबाट नेपाली समाजमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणा प्रदान गरिरहेका छन्।

प्रभु क्यापिटल मर्चेन्ट बैंकिङ सेवामा अग्रणी संस्था हो, जसले पूँजीबजारसम्बन्धी सचेतना कार्यक्रम तथा तालिमहरू प्रदान गर्दै आएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला उद्यमशीलता प्रवर्द्धन गर्दै ‘प्रभु ऐश्वर्या योजना’ नामक PMS योजना सञ्चालन गरिरहेको छ। यस योजनाले महिलाहरूलाई आर्थिक रूपमा सशक्त पार्न सहयोग गर्ने लक्ष्य राखेको छ। प्रभु क्यापिटलले वित्तीय सेवाहरूसँगै सामाजिक दायित्व बहन गर्दै समाजलाई सशक्त बनाउन निरन्तर क्रियाशील रहेको जनाएको छ।