Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नबिल बैंकको वाकाथन

२०८१ फाल्गुन २४ गते

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । “महिलाहरू पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरू उपलब्ध गराउनका लागि सदैव तयार छ”, उनले भने ।

बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौँ, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो ।