
बैंकिङ खबर/ नेपालबाट विदेशी बैंकमा जुवाको रकम ‘ट्रान्जेक्सन’ गरेको पाइएको छ । अवैध अनलाइन जुवा र क्यासिनो खेलाएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ समेत गरेको छ ।
टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा जुवा खेलाउने भाडाको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गिरोहले ललितपुर महानगरपालिका– २ स्थित सानेपा ओरालो (सीजीबाट सानेपा चोकतर्फ) र अरुण चोकमा दुईवटा घर भाडामा लिएर गत असारदेखि अनलाइनमार्फत जुवा खेलाउँदै आएको थियो ।
पक्राउ परेकामध्ये १० जना भारतीय र १४ जना नेपाली छन् । अनुसन्धानका क्रममा उक्त गिरोहले हालसम्म भारतीय रुपैयाँ १ अर्ब ९० करोड ९७ हजार ८ सय ८२ (नेपाली ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रुपैयाँ ८ पैसा) कारोबार गरेको देखिन्छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका अजितकुमार, प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय, मनोज कुमार, उत्तराखण्डका मुकेश मण्डल, मध्यप्रदेशका मनोजकुमार बजाज, मध्यप्रदेशकै सुमित खत्री, बिहारका प्रभातकुमार साह र ओमप्रकाश खत्री छन् ।
त्यस्तै, नेपालीतर्फ प्यूठान नगरपालिका– ६ दाखाक्वाडीका टंकबहादुर पछाई, सोही ठाउँका लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, प्युठान गाजुरीका अशोक जिसी, सुजन जिसी, गोपाल विष्ट, रवि विष्ट, डोटी पूर्वीचौकी गाउँपालिका– ५ काडामाण्डुका तेज बोगटी, सुर्खेत गुर्वाकोटका हेमन्त लोहानी गौतम, दार्चुलाको व्यास गाउँपालिका– २ का सुजन जिसी र हेमन्त धामी पक्राउ परेको अनुसन्धान कार्यालयले जनाएको छ ।
‘शुभलाभ डट अनलाइन’, ‘सिल्भरएक्सकम डट्कम’, ‘फ्यूचर डट बेट’, ‘सिल्भरबेट७७७ डट इन’, ‘टाइगर३६५ डट मी’, ‘सिल्भरबुक२४६’ र ‘युनिकोन३६५’मार्फत सट्टेबाजी र अनलाइन जुवा खेलाउँदै आएका थिए ।
पक्राउ परेकाविरुद्ध सट्टेबाजी कसुर र अनुमतिविना अनलाइन क्यासिनो खेलाएको अभियोगमा कारबाही हुने अनुसन्धान कार्यालयले जनाएको छ ।




