April 5th, 2016

एशियाकै ‘उत्कृष्ट बैंक म्यानेजर’को विचारमा यसरी सम्भव छ देशको समृद्धि 

narayan das‘तपाईको बैंकलाई बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप विजनेश एसेम्बली (इबीए)ले यस वर्षको एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड दिँदैछ र तपाईलाई उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरिँदैछ’ भन्ने खबर सुन्दा नारायणदास मानन्धर छक्क परे । अचानक यस्तो सुन्दा म छक्क परेको थिएँ, प्राइम कमर्सियल बैंकका कार्यकारी अधिकृत मानन्धरले बैंकिङ खबरसंग भने, ‘हुन त राम्रा कामहरु थुपै्र गरेका थियौँ तर यसरी अन्तर्राष्ट्रिय पुरस्कारको अवसर आउँछ भन्ने कुरा सोचैकै थिइनँ । तर राम्रो काम गर्दै गयो भने अरुले मूल्याङकन गर्दा रहेछन् भन्ने कुरा थाहा भयो ।’ बैंकलाई अझै प्रभावकारी ढंगबाट उत्पादनमुखी, सीप विकास, जलविद्युत, उद्योग लगायतका क्षेत्रमा केन्द्रित गर्दै मुलुकको आर्थिक समृद्धिका लागि अझै भूमिका बढाउने पनि उनले सुनाए । प्रस्तुत छ, एशियाकै उत्कृष्ट म्यानेजर उनै मानन्धरसंग मुलुकको आर्थिक समृद्धि र त्यसमा बैंक र अन्य क्षेत्रको भूमिका लगायतका विषयमा बैंकिङ खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश :

सोच बदल्ने त्यसपछि देश बदलिन्छ 
हामी गरिब धनको कमीले मात्र भएको हैन । हामी सोचकै गरिब भएका छौँ । आर्थिक विकासकै लागि त, हाम्रो देशमा भएका सबै बैंकहरु प्रत्येकले दुइचार वटा गाउँको बिकासलाई मिसन बनाएर लगानी गरौँ त पाँचवर्षमा देश कहाँ पुग्छ । ल त्यो अभियानमा जाने हो भने हामी तयार छौं, अरु बैंक पनि आउन् । हामीले त सीपमूलक जनशक्ति उत्पादन र विकासमा लगानी गरिरहेका छौँ । तर अर्को भुल्नै नहुने पक्ष के छ भने त्यसकालागि फराकीलो सोचको खाँचो छ । हामी सोचका गरिब छौँ । हामी विकास, समृद्धिमा अरुभन्दा पछि पर्नुको कारण हाम्रो सोच नै हो । हुन त मैले यसो भनिरहँदा धेरैले मलाई ‘ऊ चाहिँ गतिलो ?’ भन्लान् तर वास्तविकता त्यही हो कि हाम्रो संस्कार हाम्रो नकारात्मक सोचले विकास गरेको संस्करण भएको छ । तपाईलाई म एउटा अनुभव सुनाउन चाहन्छु । केही दिनअघि एउटा गाउँ म त्यसको नाम अहिले लिन चाहन्न । त्यहाँ प्राइम बैंकको शाखा खोल्न भनेर गएका थियौँ । तर त्यहाँका सहकारीकर्मी लगायतका स्थानीय केही व्यक्तिहरुले ‘हामी शाखा खोल्नै दिदैनाँै’ भनेर खुब विरोध गरे । पछि म आफै पनि त्यहाँ गएँ, फेरी त्यसै गरे । चरणबद्ध रुपमा मैले छलफल चलाएर त्यहाँ बुझाएँ । ‘हामी यहाँ तपाईहरुको पैसा लिएर वा ऋण दिएर नाफा कमाउन मात्र आएको हैन । हामीसंग तपाईहरुले लिने कुरा पनि थुप्रैछन् । हामी यहाँको स्थानीय विकासमा भूमिका खेल्नेछौँ । त्यसले तपाईहरुलाई पनि फाइदा नै हुनेछ ।’ भनेर चरणबद्धरुपमा छलफल गरेपछि अन्ततः उनीहरुले माने र हामीले शाखा खोल्यौँ । मैले हाम्रो बैंकको शाखा खोल्ने विषयमा एउटा उदाहरणमात्र दिएको हुँ । यस्ता थुप्रै घटना छन् जो मानिसका सोचहरुबाटै प्रभावित बनेका छन् । तपाई विकास आयोजनादेखि ठूलठूला कार्यक्रमहरुलाई नै हेर्नुस् कति वर्षसम्म लिङगरिङ भएर अड्किएका छन् । त्यसैले पहिला सोच बदल्ने हो त्यसपछि देश बदलिन्छ । 

यस कारण युवाहरु विदेश पलायन हुँदैछन्
हाम्रो देशको राजनीतिको म धेरै टिप्पणी गर्न चाहँन्न । किनभने मैले पहिले नै पनि भनँे हाम्रो सोच र संस्कृतिले हरेक कुरा निर्धारण र विकास गर्ने भएकाले त्यस्तो सोचबाट निर्देशित राजनीतिबाट धेरै अपेक्षा गर्नु बेकार हुन्छ । नेताहरुका आधारहीन तरिकाले दिनदिनै सुनिने र अखबारमा पढिने एउटै कुराहरु सुनेर हामी ताली बजाउँछाँै । त्यतिमात्रै हैन केही वर्षपछि त्यही कुरा उही नेताले दोहोर्याउँछ अनि हामी फेरी ताली पड्काउँछौँ । राजनीतिज्ञ र कतिपय आर्थवीद भनिएकाहरुले काम गर्न युवाहरुलाई विदेश नजाऊ भनेको सुन्छु । तर नेपालमा बसेर गर्ने केही काम उनीहरुले बनाइदिएका छन् र ? यहाँ बसेर काम गर्ने अवसर मिलाइदिनु पर्यो नि त । महंगीले आकास छोएको छ । जीवन चलाउनु र भन्दिनुमा फरक छ । त्यसैले हाम्रो देशको राजनीति अन्धाधुन्ध चलेको देख्छु म । अहिले बिवाहमा जन्ती र मर्दा मलामी पाउन छाडिसके । धेरै विदेशमा छन् र कतिपय जाँदैछन् । यो त एउटा विकासोन्मुख राष्ट्रको लागि अति घाटाको कुरा हो । हामीले रोजगारीको अबसर यही सृजना गर्न सक्छाँै । असम्भव केही छैन । हामी बैंकहरुले पनि सीपमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्छ । तत्काल आउने प्रतिफलको मात्र आसा गरेर लगानी गर्नुभन्दा अब देशका लागि पनि सोचेर धेरै नाफाको अपेक्षा नगरी सीप र क्षमता अभिबृद्धिका क्षेत्रमा लगानी गर्नु आवश्यक छ । एउटा मान्छेलाई बाँच्नका लागि उसलाई सीप र त्यसलाई उपयोग गर्न सक्ने अवसर मिलाइदिनु पर्छ । 

हाम्रो बैंकले के गर्यो ?
हामी प्राइम बैंक संधै उत्पादनमूलक क्षेत्रको सम्भावनालाई ध्यानदिएर लगानी गछौँ । त्यहाँ हामी आफ्नो फाइदा मात्रै हेर्दैनौँ । हामीले जलविद्युत, सिमेन्ट उद्योग लगायतका क्षेत्रमा पनि लगानी गरिरहेका छौँ । जलविद्युतको क्षेत्रमा २५० मेगावाटभन्दा बढिको आयोजनाहरुमा लगानी गर्नेमा त हामीले लिड गरेका छौँ । उर्जा नेपालको लागि अत्यावश्यक र उच्च प्राथमिकताको क्षेत्र हो । यसको विकास नभई अहिलेको अर्थतन्त्रको विकास हुन सक्दैन । नेपालीको दैनिकउपभोग तथा देशको आर्थिक विकासको लागि ऊर्जा विकास अनिवार्य छ । बैंकका लागि पनि अन्य क्षेत्रको तुलनामा बढी लाभ हुने क्षेत्र यहीहो । हामीले जलविद्युतमा स्वदेशी तथा विदेशी दुवै खालका लगानी गरिरहेका छौं । हाम्रो माध्यमबाट गैर आवासीय नेपाली, चीन, भारत तथा युरोपेली मुलुकहरुले पनि लगानी गर्दै आएका छन् । उनीहरुले प्रत्यक्ष सेयर लगानीका साथै विदेशी फण्ड ल्याएर प्राइम बैंकमार्फत लगानी गरिरहेका छन् । हामीले त्यस्तो फण्डको कन्सोर्टियम लिड गरिरहेका छौं । हालसम्म प्राइम बैंकले रू करिब २२ अर्ब जतिको यस्तो लगानीमा ठूला जलविद्युत परियोजना अघि बढाइरहेको छ । यस क्षेत्रमा लगानीका लागि अहिले पनि विदेशी लगानीकर्ताहरु आइरहेका छन् । अहिले देशमा लगानी गर्ने बेला हो । यो अवस्थामा बैंकहरु २० प्रतिशमै अल्झिएर बस्नु जरुरी छैन । बैंकलाई बढी नाफा दिलाउन र देशको आर्थिक विकासका लागि उत्पादनमुलक क्षेत्रमा जतिसक्दो बढी लगानी गर्नुपर्छ । त्यसैले हामीले आगामी दिनमाउर्जा क्षेत्रमा अन्य विदेशी लगानीकर्ताहरु पनि ल्याउँदैछौं ।

यो बैंकले स्थापना कालदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । बैंक गत आर्थिक वर्षमा न्यून संचालन खर्च गरी अधिकतम नाफा कमाउने बैंकमध्ये पहिलो सूचिमा थियो । यो हाम्रै कामको प्रतिफल हो । म दाबीका साथ भन्छु, तपाई गएरै हेर्न सक्नुहुने छ, भर्खरै हामीले जिरिमा चौरी पालनको संभावना देखेर त्यहाँका किसानलाई लगानी गर्यौँ । त्यो अति नै संभावित क्षेत्र थियो । यद्यपी चुनौति पनि उत्तिकै थिए । तर पनि हामीले जोखीमै मोलेर सुरुवात गरिदियौँ । अहिले त्यहाँ अरु बैंकहरु गए । हामीले उत्प्रेरित गरेका चौरी पालक कृषकहरुलाई गएर हेर्नुस् । आज उनीहरु आत्मनिर्भर छन् । त्यस्तै लगानी अरुले पनि गरिदिए देशको समृद्धि पर छैन । म तत्कालको कुरा गर्दैछु हामीले मकवानपुरका गाउँ–गाउँमा पुगेर पनि तरकारी खेतीमा लागेका कृषकहरुमा लगानी गर्यौँ । आज उनीहरु पनि आत्मनिर्भर छन् । 

प्राइम बैंक यसकारण अरुभन्दा फरक छ 
हामी अरुभन्दा कसरी फरक छौँ भने हामी व्यक्तिको सम्पति हेरेर लगानी गर्दैनौँ । उसको आम्दानी हेरेर लगानी गछौँ । तपाई हेर्नुस त यो न्यूरोडमा कति बैंक छन् । गनेर साध्य छैन । तर यही न्यूरोडमा घर भएकाहरुलाई ती बैंकहरुले कर्जा दिँदैनन् । किनभने उनीहरुको घरलाई मूलबाटोले छोएको छैन । तर हामी दिन्छौँ । चाहे उसको घर बाटोले नछोएकै किन नहोस् । तर उद्धेश्य पक्कै विचार गछाँै । आयमूलक क्षेत्रमा लगानी गर्ने हो भने हामीलाई कर्जा दिन कुनै अप्ठेरो छैन । बैंकलाई न्यूरोड आसपासकै क्षेत्रमा पनि लगानीको प्रशस्त संभावना छ । कतिपय बैंक वित्तीय संस्थाले अप्ठ्यारो नीतिका कारण लगानी गर्न सकेका छैनन् । तर, हामीले बैंकको नीतिमै परिवर्तन गरेर लगानी गर्दै आएका छौं । सुरुदेखिनै हामी फरक सोच लिएर अघि बढ्यौँ । नेपालमा धेरै बैंक वित्तीय संस्था छन् । सवैको कार्यशैली एउटै प्रकृतिका छन् । तर, हामीले बैंक वित्तीय पहुँच नपुगेका क्षेत्रको खोज अनुसन्धान गरी लगानी गर्दैं आएका छौं । कस्ता खालका जनताले बैंकिङ सुविधा उपयोग गर्न पाएका छैनन् त्यसको पनि अनुसन्धान गरिरहेका छौं । 

हामीले लीड गरेका क्षेत्र 
पछिल्लो समय हामीले जलविद्युत र उद्योगको क्षेत्रमा ठूलो लगानी गरेका छौँ । बैंकले जलविद्युत, सिमेन्टजस्ता उद्योग र दर्जनभन्दा बढी प्रोजेक्ट लीड गरिरहेको छ । पहिला पूर्वाधार विकास भएपछि मात्र मुलुक विकास हुने हो । सिमेन्ट पनि पूर्वाधार विकासका लागि आवश्यक वस्तु हो । तसर्थ प्राइम बैंकले सिमेन्ट उद्योगमा पनि लगानी गर्दै आएको छ । हामी धितोको वारेमा अध्ययन नगरी कर्जा प्रवाह गर्दैनौं । कतिपय बैंकले कमर्शियल भेइकल, क्रसर जस्ता उद्योगमा कर्जा प्रवाह गरे । तर, हामीले गरेनौं । सरकारको स्पष्ट नीति नभएका क्षेत्रमा लगानी गर्दैनौं ।

मुलुकको समृद्धिको लागि प्राइम बैंकको भूमिका
एउटा बलियो मान्छेले नै लडेको मान्छेलाई उठाउन सक्छ भनेजस्तै हामी पहिला बलियो हुन चाहान्थ्यौँ । हरेक चुनौति पार गर्दै हामी सबलप्रायः भयौँ । अब हामी मुलुकको समृद्धिको लागि भूमिका खेल्न सक्छौँ । त्यसैले हामी पूर्वाधार विकास, सीपयुक्त जनशक्ति विकास र सीपमूलक कार्यक्रमपट्टि जोड गरिरहेका छौँ । नाफालाई मात्र केन्द्र बनाएर हामी अघि बढ्ने हो भने अरु र हामीबीच केही फरक हुने छैन । त्यसैले हामी अरुभन्दा फरक ढंगले अगाडी बढिरहेका छौँ । परिणामका लागि बैशाखसम्म पर्खिनुहोला । हामी परिणाम देखाउने छौँ । त्यो सकारात्मक परिणाम हुनेछ । पहिले नै यसो गर्छु र उसो गर्छु भन्दैमा हुँदैन । त्यसैले हाम्रा सकारात्मक उपलब्धीका लागि पर्खिनुहोला । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]