May 5th, 2021

वित्तीय साक्षरता : अबस्था, अवधारणा र महत्त्व

सागर पौडेल / वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरु बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्त्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ ।

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धि ज्ञान तथा यसको प्रयोग गर्नका लागि प्रेरणा र विश्वास प्रदान गरि वित्तीय सन्दर्भहरूको दायरा भित्र रहि प्रभावकारी निर्णयहरू गर्न, व्यक्ति तथा समुदायको वित्तीय कल्याणमा सुधार गर्न र आर्थिक जीवनको सहभागितालाई सक्षम गर्न सक्ने ज्ञानको रूपमा परिभाषित गरेको छ ।

वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउँछ ।

वित्तीय साक्षरताको महत्त्व:
वित्तीय साक्षरताको लक्ष्य हेरेक व्यक्तिले साधन र स्रोतको कुशल प्रयोग गर्दै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवन स्तर सुधार गर्नु हो । वित्तीय साक्षरताको महत्त्वलाई व्यक्ति तथा परिवार, बैंक तथा वित्तीय संस्था र राष्ट्रलाई गरि तीन भागमा हेर्न सकिन्छ ।

व्यक्ति तथा परिवारको लागि महत्त्व
– प्रचलित कानुनले कालो धन भनी परिभाषित गरेका आर्थिक क्रियाकलापहरुको संलग्नता बाट जोगाउँछ।
– उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग र परिचालन गर्न सिकाउँछ ।
– न्यून आय भएका व्यक्तिहरुले भविष्यको सुरक्षाको लागि आम्दानीको केही अंश बचत गर्ने बानीको विकास हुन्छ ।
– बैंक तथा वित्तीय संस्थाहरु बाट विभिन्न प्रकारका कर्जा सुबिधा लिइ उद्योग तथा व्यवसाय संचालन गर्न सक्छन् ।
– विप्रेषण वाट प्राप्त आम्दानी उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न सचेतता प्रदान गर्दछ ।
– व्यक्तिको जीवन तथा व्यवसायीक क्रियाकलापमा हुनसक्ने जोखिम तथा अनिश्चितता बाट वचन विमा तथा सुरक्षाका नीतिहरु खरिद गर्न सिकाउँछ ।
– वित्तीय साक्षरताले कुनै व्यक्तिको कम लागत, कम समय, सरल तथा सुरक्षित तरिकाले वित्तीय कारोबार गर्न सक्ने क्षमताको विकास गर्दछ ।
– सरकारी तथा गैर सरकारी संस्थाहरुले प्रदान गर्ने अनुदान तथा आर्थिक सुबिधाहरु उपभोग गरि व्यक्ति तथा परिवारको जीवन स्तरमा सुधार ल्याउन सक्दछ ।

 – वर्तमान समयमा प्रयोग हुने वित्तीय उपकरणहरु तथा सेवाहरुको प्रयोगमा वृद्धि गर्दै व्यक्तिलाई वित्तीय प्राविधि मैत्री बनाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरुको लागि महत्त्व
– ग्राहकको फजुल खर्च गर्ने बानीमा सुधार हुँदा निक्षेप संकलनमा वृद्धि हुन्छ ।
– समाजमा उद्यमशील संस्कृतीको विकास हुनाले कर्जा विस्तारमा वृद्धि हुन्छ ।
– वित्तीय संस्थाहरुले व्यवसायको विकास विस्तार गरि अपेक्षित मुनाफा हासिल गर्न सक्छन ।
– व्यवसायिक क्रियाकलापहरु लाई दिगो, सबल एवं प्रतिस्पर्धी बनाउँछ ।
– बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न प्रोडक्टहरुको कम लागतमा प्रबर्द्धन भइ सफल संचालन हुन्छ ।
– ग्राहकहरुलाई वित्तीय प्राविधिमा आएको परिवर्तनलाई आत्मसात गराइ उच्चतम सन्तुष्टि प्रदान गर्न सक्छ ।

निष्कर्षमा: गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी दिगो आर्थिक विकासका लागि वित्तीय सेवाको माग अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्न वित्तीय साक्षरता अभियान अपरिहार्य छ ।

राष्ट्रको लागि महत्त्व
– देशमा उद्यमशील संस्कृती विकास सँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सहयोग पुर्याउँछ ।
– आर्थिक स्थायित्व, आर्थिक वृद्धि, आर्थिक विकास र सामाजिक न्याय कायम हुन्छ ।
– राष्ट्रिय पूँजि निर्माण, उत्पादन क्षेत्रको विकास र औद्योगिकरण गर्नमा समेत सहयोग गर्दछ।
– ग्रामीण क्षेत्रका विभिन्न विनिमय कारोबारहरुलाई मौद्रिकीकरण गर्न सहयोग गर्दछ ।

नेपालमा वित्तीय साक्षरताको अबस्थामा:
विश्वभर करिव २ अर्ब ५० करोड जनता बैंकिङ तथा वित्तीय सेवाको पहुँच बाहिर रहेको अनुमान गरिएको छ । त्यसैगरी, विश्वभरका करिव २ अर्ब २० करोड बालबालिकाहरू मध्ये करिव एक अर्ब बाल–बालिकाहरू अहिले पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् भने हालसम्म १ प्रतिशतभन्दा कम बालबालिकाहरू मात्र वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको दायरामा आएका छन् ।

विश्वभरमा करिव १३ प्रतिशत युवाहरू बेरोजगार रहेका छन् । यस्तो बेरोजगारीको अंश कतिपय मुलुकमा करिव ५० प्रतिशतसम्म रहेको पाइएको छ । १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू मध्ये करिव ४० प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेको पाइएको छ ।

नेपालको जनसंख्याको ठूलो भाग अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको देखिन्छ । मुलुकमा अहिले पनि १८ प्रतिशत जति जनसंख्या गरिबीको रेखामुनि रहेको छ । त्यस्तै ४१ प्रतिशत जनतामा औपचारिक वित्तीय सेवा पुगेको, थप २० प्रतिशत जनतामा अर्ध औपचारिक वित्तीय सेवा पुगेको, थप २० प्रतिशत जनतामा अनौपचारिक वित्तीय सेवा लिने गरेका र बाँकी १९ प्रतिशत जनता वित्तीय सेवाबाट बञ्चित रहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनाको पिलर २ मा भएको वित्तीय साक्षरतासम्बन्धी उद्देश्य बमोजिम
नेपालमा ६१ प्रतिशत जनताले बैंक तथा वित्तीय संस्थामा खाता खोलेका हुँनाले, कर्जा तथा रेमिट्यान्स सेवाको उपयोग र लघुवित्त समेतको उपयोग गर्ने गरेकाले नेपालमा वित्तीय साक्षरताको राम्रो प्रगति भएको अनुमान गर्न सकिन्छ ।

नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति ( २०७३/७४ – २०७७/७८) मा वित्तीय पहुँच र समाबेशीकरण अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । जसलाई वृद्धि गर्न वित्तीय साक्षरता र शिक्षाको माध्यमवाट जनचेतना अभिवृद्धि गर्ने रणनीति लिएको छ ।
नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजना (२०१७ – २०२१) मा कोर पिलर भित्रको पिलर दुईमा वित्तीय स्थायित्व र वित्तीय क्षेत्र विकास अन्तर्गत वित्तीय पहुँच र वित्तीय समाबेशीकरणमा अभिवृद्धि गर्ने उद्देश्य रहेकोे छ । यसै रणनीति बमोजिम नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा (एफ एल एफ) को २०२० मार्चमा तर्जुमा गरेको छ।

नेपाल सरकारको पन्ध्रौं आवधिक योजना (२०७६/७७ – २०८०/८१) ले वित्तीय साक्षरता अभिवृद्धि गर्ने रणनीति लिदै सोही बमोजिम कार्यनीति तर्जुमा गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउँदै वित्तीय सेवाको माग अभिवृद्धि गर्ने र वित्तीय साक्षरता ढाँचाको कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु लाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा थप उत्तरदायी बनाउँदै सहुलियतपूर्ण कर्जा, पुनरकर्जा, सफा नोट नीति विद्युतीय भुक्तानी सेवा, लगायत राष्ट्र बैंकले जारी गरेको नीतिगत व्यवस्था एवम् कार्यक्रमहरुको प्रबर्द्धनमा परिचालन गराइने नीति लिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको त्रैमासिक समिक्षाले पनि वित्तीय पहुँच तथा वित्तीय साक्षरतामा वृद्धि भएको अवस्थालाई देखाँछ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाले बैंक तथा वित्तीय संस्थाहरु मार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्न आवश्यक निर्देशन जारी गरेको छ ।

वित्तीय साक्षरता वृद्धि गर्न नेपाल राष्ट्र बैंकको भूमिका:
नेपाल राष्ट्र बैंक अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हो। देशको केन्द्रीय बैंक तथा उच्च मौद्रिक अधिकारीको रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्नु नेपाल राष्ट्र बैंकको मुख्य जिम्मेवारी रहेको छ ।

– नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता रणनीति, २०७६ लागु गर्दै सोही बमोजिम वित्तीय साक्षरता ढाँचा (एफ एल एफ) तर्जुमा गरेको छ ।
– विद्यार्थी लक्षित विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम, पूर्व कर्मचारी संघ मार्फत वित्तीय साक्षरता कार्यक्रम, वार्षिक उत्सहबमा बित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले साइकल र्यालि जस्ता वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
– अन्य संस्थामार्फत सञ्चालन गर्ने वित्तीय चेतना अभिवृद्धि कार्यक्रममा वार्ताकार तथा वित्तीय सहयोगको उपलब्धता गरेको छ ।
– विद्यालय तथा उच्च माध्यमिक विद्यालयका पाठ्यक्रम तथा पाठ्य सामग्रीमा वित्तीय शिक्षा अभिवृद्धिमूलक सामग्रीको समावेशिता गर्न पहल गरेको छ ।
– बैंकबाट वित्तीय साक्षरतामूलक सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
– अन्तराष्ट्रिय सहयोगमा विभिन्न संस्था मार्फत सञ्चालन हुने कार्यक्रममा प्रोत्साहन तथा समन्वयात्मक भूमिका निर्वाह गरेको छ ।
– वित्तीय साक्षरतामूलक विभिन्न सामग्रीहरुको प्रकाशन तथा अडियो सामग्री निर्माण गरेको छ ।
– बैंक तथा वित्तीय संस्थालाई वित्तीय साक्षरता कार्यक्रम गर्न प्रोत्साहन तथा बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रबर्द्धन कार्यमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको ।

निष्कर्षमा: नेपाल राष्ट्र बैंकले विभिन्न अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना तथा रणनीतिहरु तर्जुमा गर्दै वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्दै आएको छ ।

नेपालमा कसरी वित्तीय साक्षरता अभिवृद्धि गर्न सकिन्छ ?
नेपालमा वित्तीय साक्षरता प्रतिशत अन्य विकसित मुलुकको दाँजोमा ज्यादै न्यून देखिन्छ । देशको आर्थिक समृद्धिको लागि वित्तीय साक्षरतामा शिघ्र अभिवृद्धि गर्न आवश्यक छ ।

– सरकार र सबै सम्बन्धित सरोकारवालाहरुले निष्पक्ष, जिम्मेवारीपूर्ण र समन्वयात्मक ढंग वाट वित्तीय शिक्षाको प्रबर्द्धन गर्नु पर्दछ ।
– मुलुकमा सम्पूर्ण नागरिकहरुले कम उमेरमै वित्तीय शिक्षा प्राप्त गर्न वित्तीय शिक्षा सम्बन्धि पाठ्यक्रम स्कुल स्तर वाट सुरु हुनु पर्दछ । जसले वित्तीय साक्षरतालाई औपचारिक शिक्षासँग जोड्ने काम गर्दछ।
-वित्तीय शिक्षा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सुशासनको एक मुख्य अंग हुनु पर्दछ, साथै जसको उत्तरदायित्व र जवाफदेहितालाई प्रोत्साहन गर्नु पर्दछ ।
– वित्तीय शिक्षा सम्बन्धि नीति तथा योजनाहरु वित्तीय विशेषज्ञ वाट स्पष्ट रूपमा निर्धारण गर्नु पर्दछ । साथै वित्तीय संस्थाका कर्मचारीहरुलाई मार्गदर्शन गर्न वित्तीय शिक्षा आचार संहिताको विकास गर्नु पर्दछ ।
– वित्तीय साक्षरता कार्यक्रमहरु विशेषगरि जीवन उपयोगी आर्थिक योजनाहरु बनाउन सक्ने क्षमतामा केन्द्रित हुनु पर्दछ जस्तै वचत, कर्जा, लगानी, निवृत्तिभरण कर योजना आदि ।
– वित्तीय शिक्षा सम्बन्धि कार्यक्रमहरु वित्तीय क्षमता निर्माणमा केन्द्रितहुनु पर्दछ । जहाँ विशेषगरी लक्षित समुह तथा सकेसम्म व्यक्तिगत रूपमा हुनु पर्दछ ।
– राष्ट्रिय अभियानहरु, विशिष्ट वेबसाईटहरु, नि:शुल्क सूचना सेवाहरु र वित्तीय ग्राहकहरुको लागि उच्च जोखिम सम्बन्धि चेतावनी प्रणालीलाई बढावा दिनु पर्दछ ।
– वित्तीय पहुँच र वित्तीय समावेशीकरणलाई प्रबर्द्धन गर्न बैंक तथा वित्तीय संस्थाहरुमा जोड दिनु पर्छ ।
– वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरु उत्पादन र वितरण गर्ने कार्यमा आधुनिक सञ्चार माध्यम तथा प्राविधिको प्रयोग गर्नु पर्दछ ।

नेपालमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरु:
– बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रबर्द्धन कार्यमा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था छ जसको प्रभावकारिता ज्यादै न्यून देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीले उक्त रकम दुरुपयोग गर्ने तथा सामान्य औपचारिकता मात्र पुरा गरेको देखिन्छ ।
– सहकारी तथा लघु वित्त कम्पनीहरुको देश भर व्यापक संजाल भएता पनि वित्तीय साक्षरता प्रबर्द्धनमा यसको भूमिका ज्यादै न्यून देखिन्छ।
– नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका बमोजिमका निर्देशनको पालना गरेको देखिदैन ।
– नेपाल सरकारको पन्ध्रौं आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, नेपाल राष्ट्र बैंकको तेस्रो रणनीतिक योजना, मौद्रिक नीति जस्ता आर्थिक योजनाहरुले वित्तीय साक्षरता वृद्धि सम्बन्धमा विभिन्न उद्देश्य तथा रणनीति लिएता पनि उपलब्धिमूलक हुन सकेको छैन ।
– नेपालमा वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीता मापनका स्पष्ट विधिहरु अहिलेसम्म विकास गरिसकिएको छैन ।
– वित्तीय साक्षरता कार्यक्रमको आयम धेरै फराकिलो रहेको हुँदा निरक्षर देखि दीक्षित बर्ग समेतका सबै व्यक्तिलाई समेट्न सक्ने गरि कार्यक्रम तर्जुमा हुन सकेका छैनन् ।
– नेपाल सरकार र वित्तीय स्वरूपको रूपमा रहेका नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग जस्ता विभिन्न संस्थाहरुको वित्तीय साक्षरता सम्बन्धि उद्देश्यमा भिन्नता देखिन्छ ।
-वित्तीय साक्षरता मापनमा पनि कठिनाइ रहेको छ । जस्तै गरिबी, अशिक्षा, सामाजिक तथा आर्थिक रुपले पिछडिएको अवस्था, भौगोलिक विकटता तथा विकासका पूर्वाधार उपलब्ध हुन नसक्नु ।


नेपालमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरु समाधानका उपायहरु:
वित्तीय साक्षरता सम्बन्धमा देखिएका विद्यमान समस्याहरु समाधानका लागि निम्न बमोजिमका नीतिगत, प्रक्रियागत र संरचनागत उपायहरू अवलम्बन गर्नु पर्दछ ।
– बैंक तथा वित्तीय संस्थाको नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रबर्द्धन कार्यमा खर्च गर्नुपर्ने उक्त नीतिगत व्यवस्थालाई नेपाल राष्ट्र बैंकले उचित कार्यबिधी सहित अनुगमन तथा निरीक्षण गर्न सक्ने संयन्त्रको विकास गर्नु पर्दछ ।
– सहकारी तथा लघु वित्त कम्पनीहरुको देश भर व्यापक संजाल भएको हुनाले वित्तीय साक्षरता कार्यक्रममा यिनै संस्थाहरुको साक्षरता वृद्धि गर्न सक्ने क्षमताको विकास गरी आवश्यक आर्थिक तथा प्राबिधिक सहयोग गर्नु पर्दछ ।
– बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय जानकारीहरु पारदर्शीका साथ जानकारी दिनु पर्ने, सरल भाषाको प्रयोग गर्नुपर्ने, भ्रम सिर्जनाहुने गरि सूचना दिन नहुने, सरल बैंकिग सम्बन्धि व्यवस्था गर्नु पर्ने, वित्तीय सेवाको शुल्क लगायत शर्त परिवर्तन सम्बन्धि जानकारी दिनु पर्ने जस्ता नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका बमोजिमका निर्देशनको पालना गर्नु पर्दछ ।
– २०७८ सालमा सञ्चालन हुने राष्ट्रिय जनगणनामा नेपालको वित्तीय साक्षरताको अद्यावधिक अवस्थाबारे जानकारी उपलब्ध गराउनु पर्नेछ ।
-वित्तीय साक्षरता सम्बन्धमा रहेका आर्थिक योजनाहरु तर्जुमालाई तथ्यपरक र नतिजामूलक बनाई कार्यान्वयन पद्धति सँग जोड्नु पर्दछ ।
– वित्तीय साक्षरताका लागि लक्षित वर्ग अनुसार उपयोगी एवं अनुकूल सामग्रीहरुको निर्माण गरि सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेका बिज्ञ बाट प्रशिक्षण गराउँनु पर्छ ।
-वित्तीय साक्षरता कार्यक्रम प्रभाकारीता मापनका स्पष्ट विधिहरु विकास गरि वित्तीय साक्षरता अभिवृद्धि गर्नु पर्दछ ।

निष्कर्षमा: वित्तीय साक्षरता सम्बन्धमा देखिएका समस्याहरुलाई समयमै न्यूनीकरण गरि देशमा उद्यमशील संस्कृती विकास सँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सकिन्छ ।

पोखरा महानगरपालिका, कास्की


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]