बैंकिङ खबर/ चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल पुँजी ७ खर्ब १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १३.३७ प्रतिशत हो । २०८० असार मसान्तसम्म ६ खर्ब ८३ अर्ब १२ करोड हाराहारी रहेको बैंक तथा वित्तीय संस्थाहरूको कुल पुँजी समीक्षा अवधिमा ५.३६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको स्थिति हेर्दा समीक्षा अवधिमा जीडीपीको तुलनामा निक्षेपको अंश ११४.९५ प्रतिशत पुगेको छ भने कर्जा लगानीको स्थिति ९४.४९ प्रतिशत हाराहारी पुगेको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको स्थितिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४.२५ प्रतिशतले मात्र बढेको छ । यसले अपेक्षित ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेट्न नसक्ने निश्चित छ । गभर्नर महाप्रसाद अधिकारीले यो वर्षको आर्थिक वृद्धिदर औसत (करिब ४ प्रतिशत हाराहारी मात्र) रहने बताएका छन् । करिब ६ सय मेगावाटको जलविद्युतको उत्पादन थप, पर्यटन व्यवसायको उत्साह र अन्य सेवा आयहरूमा वृद्धि भए पनि पुँजीगत खर्चमा भएको कमी, वैदेशिक रोजगारी र अध्ययनका नाममा युवाहरू तीव्रतर बिदेसिने क्रम बढेकाले आन्तरिक बजारको समेत शिथिलताका कारण अपेक्षित उपलब्धि हात पर्न नसकेको उनले बताए ।
आर्थिक वर्ष २०८०÷८१ मा मौसम अनुकूलताको कारण समयमै रोपाईं गर्न सकिएको र मल खादको समेत आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको उनको भनाइ छ । तर आर्थिक शिथिलताका कारण उपभोक्ताहरूको क्रय शक्ति घट्दा बैंकहरूको लगानी र खराब कर्जामा नकारात्मक प्रभाव पर्न गएको उनले बताए ।
चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) ३.७३ प्रतिशत पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।