October 15th, 2020

स्थिर व्याजदर : निल्नु न ओकल्नु !

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको स्थिर व्याजदर नीति कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको छ । बैंकहरुले यसलाई लागु गर्ने अबस्था तत्काल छैन । बैंकहरुले स्थिर व्याजदर नीति लागु गर्दा कर्जा प्रवाहमा समस्या आउने देखिएको छ ।

स्थिर व्याजदर महंगो हुने

तत्काल स्थिर व्याजदर लागु गरिए हाल रहेको व्याजदरमा ४/५ प्रतिशत व्याज बृद्धि हुने देखिन्छ । यसरी हेर्दा व्याजदरको आकार १३ भन्दा माथि १५ प्रतिशतसम्म जाने अनुमान छ । यो व्याजदर ५ बर्ष भन्दा माथिको कर्जामा लागु हुने छ । पछिल्लो समय बैंकहरुले घर कर्जामा लामो समयसम्म भुक्तानी गर्न सकिने नीति ल्याएका छन् । जसअनुसार कतिपय बैंकहरुले २०/३० बर्षसम्म लामो कर्जा अवधि तोकेका छन् । यसरी लामो समयको अवधिलाई हेर्ने हो भने ऋणीलाई नै यसले फाइदा पुर्याउने नेपाल राष्ट्र बैंकको भनाई छ । तर तत्कालका लागि व्याज महंगो भने अबस्य पर्ने छ । हरेक बर्षको महंगिले पनि स्थिर व्याजदर बढ्ने छ । राष्ट्र बैंक आफैले तत्कालका लागि यो व्याज केही महंगो पर्ने स्वीकारेको छ । जस अनुसार सर्बसाधारणले तत्काल कर्जा लिने अबस्था देखिँदैन । कोरोना संक्रमणले आक्रान्त अर्थतन्त्रमा यो नीतिले बैंकमा तरलता झन् थुप्रीने देखिन्छ ।

अधिकाँस बैंकरको विरोध

हालै बैंकर्स संघले स्थिर व्याजदर नीति कार्यान्वयनमा चुनौती रहेको निश्कर्ष निकालिसकेको छ । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्ममा घर तथा सवारी कर्जालगायत व्यक्तिगत आवधिक कर्जाको स्थिर ब्याजदर निर्धारण गर्न म्याद दिएको थियो । तथापि यो व्यवस्था व्यावहारिक नभएको भन्दै जटिल हुने नेपाल बैंकर्स संघले बताएको छ । संघले यसबारे स्पष्ट व्यवस्था गर्न गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव समेत दिइसकेको छ । यसबारेमा राष्ट्र बैंक हाल मौन छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसको सम्बोधन हुने संकेत राष्ट्र बैंकले दिएको छ । 

हाल अर्थतन्त्रमा कोरोनाका कारण धेरैथरी समस्या उत्पन्न भएको छ । रोजगारीहरु गुमेको छ भने उद्योगधन्दा तथा व्यवसायहरु बन्द जस्तै छन् । सबै क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन धेरै समय लाग्ने अनुमान गरिएको छ । अहिले कोरोना संक्रमण बढेर त्रास कायम छ भने त्रासको बाबजुत पनि अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्ने बाध्यता छ । यस्तो अबस्थामा सस्तो व्याजमा समेत कर्जा लिनेहरु देखिँदैनन् । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमाझ नेपाल राष्ट्र बैंकको मौद्रिक निति, निर्देशन र राष्ट्र बैंकले जारी गरेका व्यवस्थाहरु लागु गर्नुपर्ने दायित्व छ । तथापि स्थिर व्याजदरको नीतिमा भने धेरैजसो बैंकरहरु विरोधमा छन् ।

लगानीको वातावरण छैन

बैंकिङ क्षेत्रको कर्जामा केही मोडेलहरु वा व्याजका कुरा परिवर्तन गरेपनि अन्तत सबैकुरा लगानीसँग जोडिएको छ । लगानीका लागि सुरक्षित क्षेत्र मापन गर्न यतिबेला कठिन छ । पर्यटनमा ठुलै धक्का लागेको छ भने कृषिमा बजार व्यबस्थापनकै चुनौती देखिएको छ । छिमेकी देशबाट खुल्ला नाका मार्फत आयात हुने बस्तु रोक्न नसक्दा आत्मनिर्भर अर्थतन्त्रमा ठुलै धक्का लाग्ने देखिन्छ । यसकारण पनि लगानीको क्षेत्र रोज्न कठिन छ । कतिपय ऋण खराव कर्जातर्फ धकेलीने सम्भावना समेत बढेर गएको छ । यसबाहेक अन्य उपभोग्य लगानी जस्तै घर, गाडि, रोजगारी आदीको अबस्थासमेत कम्जोर हुँदा बैंकलाई बुझाउनुपर्ने व्याज, किस्ता वा साँबा तत्काल बुझाउन सक्ने अबस्थामा ऋणीहरु छैनन् । यसले गर्दा सेवामूलक ढंगले बैंकहरुले विभिन्न रणनीति बनाउँदा पनि व्यबसायीक हिसावबाट भने बैंकहरु कम्जोर हुने देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]