October 4th, 2020

ग्रामीण अर्थतन्त्र र कोभिड–१९

दिवस ढकाल-

अर्थशास्त्रीहरुले शहरी अर्थतन्त्र (Urban Economy) लाई अर्थतन्त्रको इन्जिनको रुपमा हेर्ने गरेका छन् भने ग्रामीण अर्थतन्त्रलाई श्रम र कृषिजन्य आपुर्तिको साधनमात्र मान्ने गरेका छन् । ग्रामीण अर्थतन्त्रलाई अझै पनि सरकार तथा अन्तराष्ट्रिय समुदायले अनौपचारिक अथवा असंगठित क्षेत्रको रुपमा सिमीत राख्दै ग्रामीण क्षेत्रमा रहेको अपार सम्भावनालाई ब्यवसाय र औद्योगिक क्रियाकलापमा ढाल्न नसक्दा नेपाल जस्ता बिकासशील देशका श्रमशक्ति जिविकोपार्जनका लागि रोजगारीको सिलसिलामा शहर केन्द्रीत हुनुको साथै भारत तथा खाडी मुलुकहरुमा जाने गरेको देखिन्छ ।
विगतलाई फर्केर हेर्दा गाँउघरमा बिकासका सामान्य पूर्वाधार पनि रहेको स्थिती थिएन तर अहिले भने धेरै हदसम्म समयले कोल्टे फेरेको छ । नेपालको नयाँ राजनीतिक संरचना लागु भए संगै केन्द्रको साथै प्रदेश र स्थानीयतहका सरकारहरु मजबुत बन्दै बिकास र सम्बृद्घिको यात्रामा ग्रामीण जनतालाई पनि विकासमा सहभागिता गराउँदै अघि बढेको स्थिति देखापरेको छ । यद्यपि ग्रामीण भेगमा बसोबास गर्ने जनतामा भएको मौलिक एवं स्थानिय विशेषज्ञतालाई उजागर गर्नका लागि सही संस्थागत संयन्त्र र सही सरकारी नीतिहरुको खाँचो रहेको देखिन्छ । ग्रामीण अर्थतन्त्रमा ग्रामीण क्षेत्रको दिगो विकासको अवधारणालाई महत्वपूर्ण मानिन्छ । यस सन्दर्भमा, प्राकृतिक श्रोत साधनको समुचित उपयोग गर्दै ग्रामीण क्षेत्रको दिगो विकासका अवधारणाहरुलाई मूर्तरुप दिनका लागि स्थानिय विकासका आयोजनाहरुमा स्थानियहरुको सिप, कला तथा विशेषज्ञतालाई उपयोग गरी रोजगारीको अवसर सृजना गर्न सकिने र सोबाट ग्रामीण भेगका बहुसंख्यक जनता आफ्नो जिविकोपार्जनका लािग देश विदेशमागई जोखिमपूर्ण र तल्लो स्तरको श्रम बेच्न बाध्य हुने बाध्यात्मक परिस्थितिको अन्त्य हुन सक्ने देखिन्छ ।
देशको राजनीतिक परिवर्तनसंगै ग्रामीण अर्थतन्त्र जसरी चलायमान हुने परिकल्पना गरिएको थियो त्यो हुन सकेको देखिदैन । ग्रामीण अर्थतन्त्रलाई सहरी अर्थतन्त्रको समानान्तर र स्वतन्त्र अर्थतन्त्रको रुपमा विकास गर्नका लागि पुर्खा देखि चलिआएको निर्वाहमुखी कृषिप्रणालीलाई रुपान्तरण गरी व्यवसायमुखी बनाउन प्रोत्साहन गर्नु पर्ने, बाँझो खेतबारीमा उपयुक्त नीतिहरु मार्फत खेतीपाती हुने व्यवस्था गर्नु पर्ने, बाउबाजेका पालादेखि सञ्चालनमा रहेका मौलिक पेशाहरुलाई आधुनिक औजारहरु एवं प्रविधिहरु मार्फत आधुनिकिरण गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने, लोपोन्मुख अवस्थामा रहेका कतिपय घरेलु तथा साना उद्योगहरु आधुनिकिरण सहित पुनः सञ्चालनमा ल्याउन प्रोत्साहन गर्नुपर्ने, बजारको व्यवस्था गर्नुपर्ने, सडक सञ्जाल विस्तार गर्नुपर्ने, सञ्चार एवं सूचना प्रविधिबाट ग्रामीण क्षेत्रलाई जोड्नु पर्ने, शिक्षा–स्वास्थ्यमा ग्रामीण पहुँच हुनु पर्ने लगायतका संयन्त्रहरुको सरल पहुँच र सोलाई व्यवस्थित गर्न सकिएको खण्डमा ग्रामीण भेगमा रहेका मानवीय एवं प्राकृतिक स्रोतको समुचितउपयोग भई सो क्षेत्रका जनताले परिवर्तनको महसुुस गर्न सक्ने र यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने तथा समग्र अर्थतन्त्रको स्वस्थ विकासलाई टेवा पुर्याउन सक्ने देखिन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने विभिन्न सहकारी संस्थाहरु, गैह«सरकारी संस्थाहरु, बैंक बित्तीय संस्थाहरु र बिशेषगरी लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण भेगमा पुगेर त्यहाँ रहेका जनतामा वित्तीय सेवाको सँगसँगै वित्तीय सचेतना, लघुउद्यम विकास, ब्यवसायिक तालिम, महिला सशक्तिकरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रमागई वित्तीय सेवाको सँगसँगै उल्लेखित सेवाहरु प्रवाहगर्दा लागत बढ्ने देखिन्छ र यतिगर्दा गर्दै पनि ति संस्थाहरु नाफाकेन्द्रीत भए भनेर यदाकदा आलोचनाहुने गरेको सुनिन्छ र ति संस्थाहरुबाट सम्पादन भएका सामाजिक कार्यक्रमहरुको प्रभाकारिताले जस समेत पाउन सकेको देखिदैन । यस्ता संस्थाहरुले विभिन्न बचत, ऋण तथा बीमाका कार्यक्रमहरुबाट ग्रामीण क्षेत्रमा पुंजी परिचालन गरिरहेका छन् तर यस्ता कार्यक्रमहरुबाट केहीहद सम्म स्वरोजगारी निर्माणभएता पनि स्थानीय स्रोत तथा साधनहरुको उच्चतम उपयोग हुन नसकेको कारण लाखौ श्रम शक्ति बसाँइसराई गरी शहर केन्द्रीत हुनुपरेको छ ।
चिनको वुहान सहरमा सन् २०१९ को डिसेम्वरमा पहिलोपल्ट देखापरेको कोरोना भाइरस अहिले बिश्वभरी फैलिसकेको छ । कोभिडले अहिले बिश्व शक्ति राष्ट्रहरुलाई पनि घुँडा टेकाईसकेको छ र यसको मारमा सबैभन्दा बढी नेपालजस्ता बिकासोन्मुख देशका आप्रबासी कामदारहरु परेका छन् । लाँखौ नेपालीकामदारहरु लकडाउनको समयमा भारत लगायत तेस्रो राष्ट्रहरुबाट घर फर्के, नेपालकै सहरबाटगाँउ फर्के र केही समयको घरबसाँईपछि पुनः रोजीरोटीको खोजीमा आफ्नो गाउँठाउँ छोड्न बाध्य भए । राज्यको ध्यान त्यस तर्फ केन्द्रित हुन सकेको देखिदैन, ती प्रवासी कामदारहरुको दुःख व्यथा र मनोदशा बुझ्ने प्रयत्न कहिले भएको देखिएन । आखिर योे श्रीङ्खला कहिले सम्म चलिरहने हो त ? यो सन्दर्भमा ग्रामीण क्षेत्रमा रहेका युवा शक्तिहरुलाई विदेश पलायन हुने परिस्थितिको अन्त्य नगरी ग्रामीण क्षेत्रको विकासको सपना देख्नु कोरा कल्पना मात्र हुने देखिन्छ । कोभिडको संक्रमणबाट बच्नका लागि घरभित्र बस्न सरकारी निकायहरुले गरेको आग्रहका वावजुद पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुका गरिब जनताहरु पेटका लागि जोखिम मोल्न बाध्य छन् । हुन त बन्दाबन्दीको समयमा घरभित्रै बसेर सरकारी आदेशको पालना नगरेका पनि होइनन् तथापि बिश्वब्यापि लकडाउन भएको समयमा अधिकांश एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी राष्ट्रहरुमा बसोबास गर्ने गरिब परिवारहरुमा थप घरेलु हिंसा बढाएको बिबिसीको रिर्पोटबाट अवगत भएको थियो ।

काठमाँडौको कालीमाटीमा तरकारी ब्यापार गरी गुजारा चलाउने मनोज यादव नौ दिनअघि सामान्य ज्वरो देखिएपछि घण्टौ लाइनबसी टेकु प्रयोगशालामा पीसीआर परीक्षण गराएका थिए । उनी आफ्ना श्रीमती र दुइवटा छोराछोरी सहीत एउटा कोठा लिएर बस्छन् । परीक्षण गराए लगत्तै उनी त्यही कोठामा आइसोलेसनमा बसे । तीन दिनपछि नतिजा पोजिटिभ देखियो । ज्वरो कम भइसकेकाले परीक्षण केन्द्रले होम आइसोलेसनमा रहन यादवलाई अनुरोध गर्यो । कन्ट्याट ट्रेसिङ्गका विषयमा उनलाई थप केही भनिएन । उनले पनि परिवारको पीसीआर परीक्षण गर्ने आँट गरेनन् । परिवारका अन्य तिनै सदस्यलाई कुनै लक्षण नदेखिएकाले पनि यादवले सोही कोठामा आराम गर्ने निर्णय गरे । मनोज यादवसंग त्यसबाहेक अन्य कुनै विकल्प थिएन । दुई बच्चाको स्वास्थ्यलाई लिएर उनी बढि चिन्तित छन् । “आफू त बचिएला, बच्चाहरुलाई कसरी जोगाउने ?” उनी घोत्लिन्छन् । एउटै कोठा छ, जाँउ त कहाँ जाँउ ? एउटै भान्छा एउटै शौचालय, के बार्ने, के नबार्ने ? उनी अलमल्ल परेका छन् । तथापि सक्दो दुरीमा रहेको उनी बताउँछन् ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । मनोज यादव जस्ता मुख्य शहरमा जिविकोपार्जन गर्न एउटै कोठामा बसेका कैयन संक्रमित परिवारको कथा यस्तै छ । कैयौंका घरबेटीले संक्रमित परिवारलाई अनेक मानसिक यातना दिने समेत गरेको सुनिएको छ । यो स्तम्भ लेख्दै गर्दा संसारमा कोभिड–१९ को भ्याक्सिन परीक्षण गर्न शक्ति राष्ट्रहरुबीच तछाडमछाडको स्थिती देखा परेको छ । शक्ति राष्ट्रहरुबीच भ्याक्सिन कम्पनिहरुसंग अग्रिम खरिद सम्झौता गर्ने राष्ट्रवादको चटारो चल्दै गर्दा नेपाल जस्ता गरिव देशका जनताको भ्याक्सिनमा पहुँच कहिले सम्म हुने हो भन्ने कुरा अन्यौल नै रहेको छ । बंगलादेशका नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसको नेत्तृत्वमा विश्वब्यापि रुपमा कोभिड बिरुद्धको भ्याक्सिनलाई सहजै गरिवको पँहुचमा पु¥याउनका लागि यो भ्याक्सिनलाई साझा वस्तु (Common Good) बनाउने अभियान सुरु गरिएको छ तथापि यो अभियानले सार्थकता पाउन सक्ने कुरामा धेरै कठिनाइहरु आउन सक्ने देखिन्छ ।
ग्रामीण अर्थतन्त्रलाई स्वतन्त्र र समानान्तर अर्थतन्त्रको रुपमा विकास गर्ने कुरा गर्दै गर्दा यसलाई सहरी अर्थतन्त्रको विकल्पको रुपमा हेर्न खोजिएको हैन । गाउँमा सडक यातायात, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, सञ्चार तथा सुचना प्रविधि लगायतका आभारभुत पूर्वाधारहरुको विकास गरेर त्यो क्षेत्रमा रहेका जनतालाई स्थानिय स्तरमा पेशा ब्यवसाय गर्न सक्ने वातावरण मिलाउने, स्वरोजगारीको प्रबन्ध मिलाउने, ठाँउ बिशेषको पहिचान गरी प्रतिस्पर्धात्मक लाभ प्राप्त हुने वस्तु तथा सेवाहरु उत्पादन गर्ने उचित वातावरण प्रदान गरी बजारको व्यवस्था समेत मिलाउने जस्ता कुराहरुमा ध्यान दिएमा जिवन गुजारा गर्नका लागि मात्रै आफ्नो बासस्थान छोड्नु पर्ने थिएन, मातृभुमी छोड्नु पर्ने थिएन र कोभिड जस्ता सरुवा रोगहरुबाट ग्रामीण क्षेत्रलाई धेरै हदसम्म सुरक्षित राख्न सकिने थियो जुन ग्रामीण क्षेत्रमा बसोबास गर्ने हरेक जनताको संविधान प्रदत्त हक पनि हो ।
ग्रामीण अर्थतन्त्रको महत्व बुझेर यसको सिद्धान्तलाई प्रयोग गरी लागु गर्ने यो सही समय हो । ग्रामीण इलाकामा लघु ब्यवसाय र उद्यमको प्रर्वधन गर्न जरुरी छ । बित्तीय साक्षरता संगसंगै ग्रामीण क्षेत्रका जनताहरुलाई आवश्यक सीप तथा क्षमता अभिबृद्धि गरेर उनीहरुमा उद्यमशीलता जगाउनकालागि अहिले भएका संयन्त्रहरुलाई थप सुदृढ गर्दै लगे मात्र ग्रामीण अर्थतन्त्रले हांगा फैलाउन सक्छ । सही नीतिहरुको निर्माण र त्यसको प्रभावकारी कार्यन्वयनले मात्र यो कुरा सम्भव छ र तव मात्र नेपालको कुल ग्राहस्थ उत्पादनमा ग्रामीण क्षेत्रको योगदान बढेर जानेछ, कृषि तथा उत्पादन क्षेत्रको अर्थतन्त्रमा दरिलो योगदान हुनेछ र यसले अर्थतन्त्रलाई सन्तुलित बनाउनेछ । ग्रामीण अर्थतन्त्रको यो मोडेलले बिस्तारै सहर केन्द्रीत मझौला तथा ठुला उद्योग कलकारखानाहरुलाई पनि ग्रामीण इलाकामा बिस्तार गर्न सहयोग पुग्नेछ जसले सहरी क्षेत्रको भीडभाड, प्रदुषण र कोलाहल कम गरी सहर क्षेत्रहरुलाई पनि सफा सुन्दर र सन्तुलित बनाई राख्न मद्दत गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]