May 21st, 2020

कोरोना महामारिले निम्त्याएका आर्थिक संकटहरु

बैंकिङ खबर । सरकारले लकडाउन थप गरेसँगै अर्थतन्त्र थप संकटतर्फ उन्मुख रहेको छ । कोरोना महामारिको अन्त्य तत्काल नहुने देखिएको छ । विश्व अर्थतन्त्रमा यसले निकै ठुलो असर पार्ने छ । विभिन्न निकाय र संस्थाहरुले यसको रोकथाम तत्काल नभएका कारण हरेक देशलाई सुरक्षा विधि अपनाउन अनुरोध गरेका छन् । विश्व स्वास्थ्य संगठन, विश्व बैंक, एशियाली विकास बैंक लगायतका संस्थाहरुले आर्थिक रुपमा यसले हरेक देशलाई जोखिमतर्फ धकेलेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले यो महामारी सामान्य अबस्थामा आउन कम्तिमा १८ महिना लाग्ने प्रक्षेपण गरेको छ । यसको भ्याक्सिन पत्ता लगाउन १ बर्षदेखि १८ महिना कुर्नुपर्ने बताइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएका कारण विश्वका लागि कोरोना संक्रमण ठुलो संकट बनेको छ । 

करोडौले बेरोजगारको सामना गर्दै

कोरोना संक्रण र लकडाउनका कारण सन्सारमा करोडौ मानिसले रोजगार गुमाउने भएका छन् । कैयौं मुलुकहरुमा लकडाउनको समय अवधि अझै लम्बीने अबस्था सृजना भएको छ । जसले गर्दा बेरोजगारीको संख्या यकिन गर्न सकिने अबस्था छैन । तर संयुक्त राष्ट्र संघको श्रमिक इकाई अन्तर्रािष्ट्रय श्रम संगठन (आईएलओ) का अनुसार जुन महिनाभर सम्म करीव ३०.५ करोड मानिसको सधैको लागि जागीर जान सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण संगठनले जागीर जान सक्नेको पूर्वानुमान फेरी बढाएकोे हो । यस संस्थाले अघिल्लो पूर्वानुमानमा १९.५ करोड मानीसको रोजगारी गुम्ने उल्लेख गरेको थियो ।

संगठनले महामारी नियन्त्रण गर्न विश्वव्यापी लकडाउन बढेकाले यसको अनुमान पनि परिवर्तन गर्नुपरेको बताएको छ । संगठनले महामारीका कारण अनौपचारिक क्षेत्रका १.६ अर्ब कामदारलाई जीविकोपार्जनको खतरा बढीसकेको जनाएको छ, किनभने महामारीका कारण उनीहरुको आयस्रोत गुमिसकेको छ ।

एजेन्सीका अनुसार रिटेल र मैन्युफैक्चरिंग रिस्क जस्ता गम्भीर संकटको क्षेत्रमा ४३ करोडभन्दा बढी इंटरप्राइजेज जोखिममा छन् । आईएलओका अनुसार पहिलो महिनामा लकडाउनका कारण मजदुरहरूको आम्दानी ६० प्रतिशतले घटेको छ । अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एशियामा ७० प्रतिशत र एसिया र प्रशान्तमा २१।६ प्रतिशतले गिरावट आएको छ ।

आर्थिक संकट जोगाउने जिम्मेवारी सरकार र वित्तीय संस्थाको

विश्व बैंकले हालको आर्थिक अबस्थालाई व्यूताउँन र अर्थतन्त्र संहाल्नका लागि बैंक तथा वित्तीय संस्थाहरु र सरकारको भूमिका महत्वपूर्ण हुने बताएको छ । उसले सरकार र वित्तीय संस्थाको सहकार्यबाट मात्रै महामारिमा अर्थतन्त्र व्यूताउँन सकिने बताइएको छ । कोरोना प्रभावबाट आर्थिक प्रभावलाई कम गर्न विभिन्न राष्ट्रहरुले चालेको कदमहरु सकारात्मक रहेको उल्लेख छ । बेरोजगार आप्रवासी मजदुरहरूका लागि यस्तो बेला बढी महत्व दिनुपर्ने उसले बताएको छ । विभिन्न देशहरुले राहतका लागि प्याकेजहरु ल्याएकोले सहयोग हुने पनि बताइएको छ । विश्व बैंकका अधिकारी हर्त्विज शेफरले दक्षिण एसियाका देशहरुका बढी समस्या आउने भन्दै सरकारले भाइरसको संक्रमण रोकथाम गर्न र जनताको सुरक्षामा ध्यान केन्द्रित गर्नु पर्ने उल्लेख गरेका छन् । 

अर्थतन्त्रको खराव जोनमा सात राष्ट्रहरु
विश्व बैंकले कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षमा नेपाल लगायत दक्षिण एशियाका देशहरूमा आर्थिक मन्दी आउने बताएको छ । यी देशहरुको अबस्था खराव हुने उल्लेख छ । यसले विगत ३० बर्षको रेकर्ड तोड्ने बताइएको छ । विश्व बैंकले दक्षिण एशियाको अर्थव्यवस्थामा आधारित एक रिपोर्टमा दक्षिण एसियाका आठ देशहरूमा अर्थतन्त्र कम्जोर हुने विश्लेषण गरेको छ । यो अबस्था लम्विदै गए अर्थतन्त्र माइनसतिर जाने छ । कोरोना संकटको कारण श्रीलंका, नेपाल, भुटान र बंगलादेशको आर्थिक स्थिति सबैभन्दा बढी कम्जोर हुनेछन् । विश्व बैंकको रिपोर्टले गरेको अध्यनमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्समा थप मन्दी आउने देखिएको छ । रिपोर्ट अनुसार कोरोना संक्रमण रोक्नका लागि गरिएका उपायहरूले दक्षिण एशियाभरि आपूर्ति श्रृंखलामा असर पारेको छ ।

पर्यटन व्यवसाय विश्वकै लागि चुनौती
विश्व जगतमै कोरोनाको प्रभाव उच्च रुपमा बृद्धि हुँदै गएका कारण विश्वकै पर्यटन क्षेत्र जोखिममा परेको छ । पर्यटकिय मुलुकहरुका लागि त सबैभन्दा धेरै क्षति व्यहोर्नुपरेको छ । हाल सबैजसो देशहरु लकडाउनको अबस्थामा छन् । लकडाउन खुलेपछि पनि तत्काल पर्यटकहरुलाई कुनै पनि देशमा आवत जावत गर्न रोक लगाइने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दो अबस्थामा छ । यो डाटा अत्याधिक मात्रामा घटेपछि मात्रै पर्यटकीय क्षेत्रमा चहलपहल सुरु हुन सक्छ । तथापी हालको अबस्थामा महिनौ मात्र होइन बर्ष नै पर्खनुपर्ने यसले देखाउँछ । यसकारण पर्यटन क्षेत्रको विकास र विस्तार तत्काल हुन सक्ने देखिँदैन । जसले गर्दा होटलहरु र अन्य क्षेत्रमा गरिएको लगानी जोखिम अबस्थामा परेको छ । 

समाधान निस्कन कम्तिमा १८ महिना लाग्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो महामारी तत्काल समाधान नहुने बताएको छ । उसले यो समस्याबाट समाधान निस्कन कम्तिमा १८ महिना लाग्ने अनुमान गरेको छ । हरेक मुलुकलाई सावधानी र यसबारेमा शिक्षा फैलाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जोड दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अड्नोम गेबेरिसले लकडाउन हटाउनु महामारीको अन्त्य नभएको, बरु अर्को चरणको शुरुवात भएको बताएका छन् । महामारी विरुद्धको अर्को चरणको गम्भीरतालाई जोड दिँदै उनले सबै देशहरूले भाइरस रोकथामका लागि नागरिकहरूलाई शिक्षित, प्रोत्साहित र सशक्त बनाउनु पर्नेमा जोड दिए । जी ट्वाइन्टी समूहका स्वास्थ्य मन्त्रीहरूसँग भर्चुअल बैठकमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले भने “हामी उत्साहित छौं कि धेरै जी ट्वाइन्टी देशहरूले सामाजिक प्रतिबन्धहरू कम गर्नका लागि विचार गरिरहेका छन् तर यो प्रक्रिया चरणबद्ध हुनु आवश्यक छ ।’ उनले जी ट्वाइन्टी जस्ता समूह नभएका धेरै देशहरू महामारीको सामना गर्ने क्षमता नभएर भाइरस छिटो फैलिरहेकोमा दुख व्यक्त गरे ।

नेपालमा रेमिट्यान्समाथि ठुलो धक्का

रेमिट्यान्सको क्षेत्रमा निकै ठुलो गिरावट आउने संकेत देखिएको छ । देशको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको रेमिट्यान्स लकडाउनको अवधिमा ५० प्रतिशतले कमि आएको छ । यो रिपोर्टले अर्थतन्त्रमा नराम्रो धक्का पर्ने संकेत देखाएको छ । नेपाली श्रमजीवि वर्गहरु कार्यरत विदेशका धेरै व्यापार व्यबसाय बन्द हुँदा यो अबस्था निम्तिएको छ । चैत महिनाको रिपोर्टलाई हेर्दा बैशाख पछिका महिनाहरुमा यो स्थिति अझ बढ्ने अनुमान छ । चैत पहिलोसातासम्म विदेश र नेपालको वजार खुल्ला अबस्थामा रहेको थियो । चैत पहिलोसाताबाट अधिकाँस देशहरुमा लकडाउन घोषणा गरियो । फलस्वरुप विदेशमा रहेका नेपालीहरु बेरोजगार हुनुपरेको, काममा जान नपाएको तथा विदेश जान ठिक्क परेकाहरु जान नपाएका मुख्य कारणहरु हुन् ।

लकडाउन अवधि सकिएपछि कतिपय विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुमान गरिएको छ । जसले रेमिट्यान्स क्षेत्रमा थप धक्का लाग्ने देखिएको छ । चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ । यसअघि केन्द्रीय तथ्यांक विभागले रेमिट्यान्स साढे १८ प्रतिशतले र विश्व बैंकले १४ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए । तर प्रक्षेपणहरु लकडाउनको समयअवधि लम्बिएसँगै परिबर्तन हुँदै जाने देखिएका छन् । गत पुस महिनामा चाइनाबाट सुरु भएको कारोना भाइरसको महामारी विश्वभर फैलिएको छ । जसले गर्दा विश्व अर्थतन्त्र नै नराम्रो भूमरिमा परेका छ । फागुन महिनाको तुलनामा चैतमा रेमिट्यान्स आप्रवाह करिब ५० प्रतिशतले घटेको प्रक्षेपण गरिएको छ । फागुन महिनामा ७९ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा ३९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । बैशाख २३ गते संसदको अर्थसमितिमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विश्वभर करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको र चैत महिनामा फागुनको तुलतामा ५० प्रतिशत रेमिट्यान्स घटेको विवरण प्रस्तुत गरे । उनले चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने प्रक्षेपण सुनाए । चालु आर्थिक बर्ष सकिन करिव ७० दिन बाँकी छ । असार मसान्तमा चालु आर्थिक बर्ष सकिन्छ । साउन १ गतेबाट नयाँ आर्थिक बर्ष सुरु हुने छ ।

गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । आगामी दिनमा भारतबाट आउने रेमिट्यान्स र अप्रत्यक्ष रकम पनि घट्ने देखिन्छ । भारत जानेहरु कतीपयले नगद नै लिएर आउने र हुण्डीको माध्यमबाट पनि पठाउने गरेका छन् । त्यसो त आधिकारीक रेमिट्यान्स भन्दा बाहिरबाट पनि उत्तिकै रकम भित्रिने गरेको छ । जुन तथ्याङक राष्ट्र बैंकसमक्ष छैन । नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुकमा पर्दछ । यसले गर्दा अर्थतन्त्रमा रेमट्यान्सको महत्वपूर्ण भूमिका रहन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]