April 17th, 2020

लकडाउनमा सहकारीको अबस्था – मिनराज कँडेल

बैंकिङ खबर । नेपालमा कोरोना भाइरसको संक्रमणको सन्त्रासले लकडाउन बढ्दो अवस्थामा रहेको छ । आर्थिक कारोबारहरु बन्द भएका कारण आम्दानीको स्रोत बन्द भएको छ भने खर्च मात्रै भइरहेको छ । यसकारण धेरै बचत नभएका विपन्न वर्गहरुमा ठूलो प्रभाव परेको छ । तीनै वर्गको ससाना बचतमा केन्द्रित सहकारी क्षेत्र पूर्ण रुपमा प्रभावित भएको अवस्था छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण र त्यसपछिको लकडाउनको अवस्थाका कारण सहकारी क्षेत्रमा परिरहेको असरका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डटकमका लागि सहकर्मी रुपा कोइरालाले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

लक डाउनको अवस्थामा सहकारी संस्थाहरु कसरी संचालन भइरहेका छन् ?
सहकारी संस्थाहरु पूर्ण रुपमा खुलेका छैनन् । कुनैकुनै ठाउँमा सहकारी संस्थाहरु खुलिरहेका छन् । केही सहकारीहरुले कार्यालय खोलेर आंशिक रुपमा भए पनि सेवा प्रदान गरिरहेका छन् । केही ठाउँहरुमा भने सम्पर्क व्यक्ति तोकेर अत्यावश्वयक वस्तुहरु पूरा गर्ने गरी सेवा प्रदान गर्दै आइएको छ ।

सहकारी क्षेत्रका केकस्ता सेवाहरु सुचारु छन् ?
सहकारी संस्थाहरुले अत्यावश्यक सेवाहरु मात्रै दिइरहेका छन् । तरकारी दुध, फलुफूल लगायतका सहकारीले सेवा दिइरहेका छन् । स्वास्थ्य सहकारीहरुले पनि आफ्नो सेवा दिइरहेका छन् । संचार सहकारीहरुले पनि सूचना प्रवाह गरिरहेका छन् । वित्तीय कारोबार गर्ने सहकारीहरुले चाहिँ आफ्नो अनुकुलताको आधारमा आंशिंक रुपमा कार्यालय संचालन गरेर सेवा दिएका छन् भने कसैले सम्पर्क व्यक्तिहरुमार्फत आवश्यक परेका सदस्यहरुलाई वित्तीय सेवा दिइरहेका छन् ।

सदस्यहरुले आफ्नो बचत झिक्न पाएका छन् त ?
सदस्यहरुले सहकारीमा गरेको बचत बैंकमा जम्मा गरिएको छ । अहिले बैंकहरुले पनि पूर्ण सेवा दिन सकेका छैनन् । बैंकहरुले पनि सबै बचत उपलब्ध गराउन सक्ने अवस्था छैन । जसकारण, हामीले पनि सदस्यको सबै रकम दिन फिर्ता दिन सक्ने अवस्था छैन । तर, सदस्यहरुलाई अप्ठेरो परेको अवस्थामा सहकारीहरुले सीमा तोकेर आंशिक रुपमा बचत रकम उपलब्ध गराइरहेका छन् ।

सहकारी संस्थाहरुले लकडाउनको समयमा कसरी सेवा दिने भन्ने विषयमा सहकारी विभागले केही निर्देशन दिएको छैन ?
सहकारी विभागले सुरुमा सहकारीहरु खोलेर सेवा दिनुपर्छ भनेको थियो । तर, सोअनुरुप सामान्य रुपमा सेवा प्रवाह गर्ने अवस्था भएन । स्थानीय निकायले पास उपलब्ध नगराउने लगायतका समस्या आएपछि निरन्तर सेवा प्रदान गर्न सकिएको छैन । तर, आफ्नै अनुकुलता हेरेर सहकारीहरु खोल्ने काम भइरहेको छ । पछिल्लो समयमा भने विभागले पनि कुनै निर्देशन दिएको छैन ।

सहकारी क्षेत्रमा कोरोना भाइरस र लकडाउनको कस्तो असर परिरहेको छ ?
सहकारी क्षेत्रमा कोरोना भाइरस र लकडाउनको ठूलो असर परिरहेको छ । कृषि, दुग्ध लगायतका सहकारीहरुमा सबैभन्दा धेरै असर परेको छ । कृषिजन्य र दुग्ध उत्पादनहरु प्रायः छिटै सड्ने वा विग्रिने हुन्छन् । उत्पादन गरे पनि विक्री वितरण गर्न नपाएपछि कृषकहरु मर्कामा परेका छन् । वित्तीय कारोबार गर्ने सहकारीहरुमा पनि रेगुलर बचत गर्ने क्रम रोकिएको छ । कर्मचारीहरु बाहिर काममा निस्किने अवस्था छैन । बचतकर्ताहरुको आम्दानीको स्रोत पनि छैन । ऋण लिएकाहरुलाई किस्ता चुकाउन समेत समस्या भइरहेको छ ।

समग्र आर्थिक क्षेत्रमा अहिलेको अवस्थो कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
कोरोनाका कारण अहिले विश्व अर्थतन्त्र नै प्रभावित भएको अवस्था छ । नेपाल जस्तो मुलुकमा यसको असर झन् बढी देखिन्छ । आर्थिक क्षेत्रभित्र पनि वित्तीय क्षेत्रमा झन् ठूलो प्रभाव पर्छ । अहिले व्यापार व्यवसायहरु ठप्पै छन् । उत्पादन भएका वस्तुहरुले बजार पाएका छैनन् । एकातिर उपभोक्ताहरु मारमा छन् भने उत्पादकहरु पनि उत्पादन खेर गएका कारण चिन्तित छन् । विशेषगरी, कृषिजन्य बस्तुहरु खेर गइरहेका छन् । यसबाहेक, देशको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको रेमिट्यान्स आप्रवाहमा ठूलो असर परेको छ । विदेशमा रहेका नेपालीहरु लक डाउन भएर बसेका छन् । काम गर्न पाइरहेका छैनन् । पर्यटन व्यवसायमा पनि असर परेको छ । पर्यटन अन्तर्गतका यातायात, होटल व्यवसाय लगायत सबै बन्द अवस्थामा छन् । यसरी सबै आर्थिक कारोबार बन्द भएका कारण निश्चय नै अर्थतन्त्रमा ठूलो धक्का लाग्ने देखिन्छ ।

लकडाउनपछिको अवस्थालाई सहजीकरण गर्न सहकारी विभागले कस्तो रणनीति बनाओस् भन्ने चाहनुहुन्छ ?
सुविधाको आधारमा हेर्दा हाल सहकारीहरु आफैँले छुट र सहुलियतमा स्कीमहरु दिएर सेवा प्रदान गरिरहेका छन् । यस विषयमा समग्र रुपमा छलफल गरी एउटा ठोस निष्कर्षमा पुगौँ भन्ने हिसाबले पहल भइरहेको छ । तर, लक डाउनको अवधि कतिसम्म लम्बिन्छ र यसको प्रभाव कति पर्छ भनेर आँकलन गर्ने अवस्था छैन । अवस्था सहज भएपछि कति प्रभाव पर्यो भन्ने आधारमा विभागसँग बसेर छलफल गरी निष्कर्ष निकाल्ने सल्लाह भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]