April 8th, 2020

लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ? (लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालको अन्तर्वार्ता)

बैंकिङ खबर । कोरोना भाइरस (कोभिड १९)का कारण यतिबेला विश्वव्यापी त्रास फैलिएको अवस्था छ । नेपालमा पनि संक्रमण फैलिन नदिन लक डाउन घोषणा गरिएको छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् बढी रहेको छ । भाइरसको सन्त्रासका कारण काम गर्ने वातावरण नभएपछि लघुवित्तकर्मीहरु संस्था बन्द गरेर बसेका छन् । यसैबीच कोरोना भाइरसको संक्रमण र लक डाउनका कारण लघुवित्त क्षेत्रमा देखिएको प्रभावका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी रुपा कोइरालाले नेपाल लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका विजय लघुवित्तका सीईओ वसन्त लम्सालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

कोरोना संक्रमणको त्रास फैलिरहेको यस अवस्थामा लघुवित्तहरुले कसरी कार्य गरिरहेका छन् ?
कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले लक डाउन गरेके अवस्था छ । यसकारण लघुवित्त वित्तीय संस्थाहरुले काम गर्ने अवस्था छैन । मिटिङहरु बस्न पनि नमिल्ने र अन्य कार्य संचालन पनि गर्न नकिल्ने भएका कारण अहिले लघुवित्तहरु अधिकांश बन्द रहेका छन् । लघुवित्तका कार्यहरु फिल्डमा गएर गर्नुपर्ने हुन्छ । तर, अहिले त्यो अवस्था पनि रहेन । त्यसैले, लक डाउन अवधिभर लघुवित्तहरु बन्द नै छन् ।

लघुवित्तका केही शाखाहरु त खुलेका होलान् कि ?
ग्राहकले डिपोजिट निकाल्न खोजेको अवस्थामा केही शाखाहरु खोल्ने गरिएको छ । यद्यपि, लघुवित्तका प्रायः स्टाफहरु संस्था नजिकका छैनन् । उनीहरु पनि आफ्नो घर जान खोज्छन् । त्यसैले, कार्यालय नजिकै घर भएका स्टाफहरुले सेवा दिनुपर्छ भन्ने ठानेमा शाखा खोलेर पनि बसेका छन् । तर, अधिकांश शाखाहरु बन्द नै छन् ।

ग्राहकहरुले सेवा लिइरहेका छन् त ?
लघुवित्तका ग्राहक भनेका प्रायः ग्रामीण भेगमा विपन्न वर्गहरु हुन् । उनीहरुलाई आफूले राखेको डिपोजिट आवश्यक परेमा लिन गइराखेका छन् । तर, ग्राहकहरुमा पनि अहिले संक्रमणको त्रास भएका कारण सेवा लिनेको संख्या एकादुई मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले त लघुवित्तहरुलाई पनि सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन जारी गरेको छ । यस विषयमा हामीले ग्राहकहरुलाई जानकारी पनि दिएका छौँ ।

दुई सातादेखि चलिरहेको लक डाउन अझै थप गरिएको छ । यसबाट लघुवित्त क्षेत्रमा केकस्ता प्रभाव परेका छन् ?
लक डाउनका कारण लघुवित्त क्षेत्रमा नै मेजर असर परेको छ । किनकि, लघुवित्तका ग्राहक भनेकै विपन्न वर्ग हुन् । र लक डाउनका कारण ती वर्ग नै सबैभन्दा धेरै प्रभावित भएका छन् । यसअघि नै लघुवित्तहरुको संख्या धेरै भएका कारण लेण्डिङमा समस्या थियो । यो समस्या अबका दिनमा झन् बढ्ने देखिन्छ । रिपेमेन्टको समस्या बढ्दै जाने देखिएको छ । यस विषयमा हामीले राष्ट्र बैंकसँग कुराकानी पनि गरेका छौँ । लघुवित्त क्षेत्रमा पर्न सक्ने असरलाई विशेष रुपले हेर्न आग्रह गरेका छौँ । यस विषयमा राष्ट्र बैंक पनि सकारात्मक रहेको छ ।

यसको प्रभाव लामो समयसम्म रहन्छ होला नि ?
लघुवित्तहरुले विना धितो कर्जा प्रभाव गर्ने भएका कारण यसै पनि बढी जोखिम रहेको छ । त्यसमाथि, कोरोनाका कारण जोखिम बढ्ने सम्भावना रहेको छ । यसको प्रभाव लघुवित्तमा यति नै पर्ला भनेर त औपचारिक रुपमा अध्ययन गरिएको छैन । तर, कम्तीमा पनि डेढ दुई वर्षसम्म लघुवित्त क्षेत्र प्रभावित हुन्छ भन्ने मलाई लागेको छ । यस विषयमा लक डाउन खुलेपछि अध्ययन गर्नेछौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]