November 22nd, 2019

अधिकांश बैंकहरुको सिसिडी रेसियो अधिकतम सीमामा पुग्यो

बैंकिङ खबर । कर्जा विस्तारमा आक्रामक बनेका कारण बैंकिङ क्षेत्रमा तरलता अभाव बढेको छ । तरलता अभावका कारण अधिकांश बैंकहरुको सिसिडी रेसियो राष्ट्र बैंकले तोकेको अधिकतम सीमामा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

नेपाल राष्ट्र बैंकले निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा वितरण गर्न नपाइने भनी सीमा तोकेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको रिपोर्ट हेर्दा बैंकहरुलाई यो सीमाभित्र बस्न हम्मेहम्मे परेको देखिन्छ । असोज मसान्तको तथ्यांक अनुसार जनता बैंकको सीसीडी रेसियो ७९.९४ प्रतिशत पुगेको भने सिटिजन्स बैंकको ७९.६२ प्रतिशत, सेञ्चुरी बैंकको ७९.२१ प्रतिशत, कुमारी बैंकको ७९.८० प्रतिशत रहेको छ ।

अधिकांश बैंकको सीसीडी रेसियो ७७ प्रतिशत नाघेको छ । ग्लोबल आईएमई बैंकको सिसिडी रेसियो ७८.३६ प्रतिशत छ भने एनआईसी एसिया बैंकको ७८.३५ प्रतिशत, सानिमा बैंकको ७८.८४ प्रतिशत र सनराइज बैंक बैंकको ७८.०६ प्रतिशत रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको सिसिडी रेसियो ७७.८८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ७७.८६ प्रतिशत, प्रभु बैंकको ७७.८१ प्रतिशत, एनएमबि बैंकको ७७.२७ प्रतिशत, माछापूच्छ्रे बैंकको ७७.०८ प्रतिशत, सिद्धार्थ बैंक ७७.३६ प्रतिशत र सिभिल बैंकको ७७.०९ प्रतिशत रहेको छ ।

यसबाहेक, बैंक अफ काठमाण्डूको सीसीडी रेसियो ७५.५९ प्रतिशत, नेपाल बंगलादेश बैंकको ७५.७३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ७५.६२ प्रतिशत र एभरेष्ट बैंक ७५.८९ प्रतिशत रहेको छ । नविल बैंकको सीसीडी रेसियो ७४.०९ प्रतिशत छ भने नेपाल एसबीआई बैंकको ७१.९७ प्रतिशत र हिमालयन बैंकको ७४.९८ प्रतिशत रहेको छ ।

सरकारी बैंकमा केही सहज
निजी स्तरका बैंकको तुलनामा सरकारी स्वामित्वका बैंकमा तरलता अवस्था अलि खुकुलो देखिएको छ । प्रथम त्रैमासिक विवरण अनुसार नेपाल बैंकको सीसीडी रेसियो ६८.६३ प्रतिशत मात्रै रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो ७१.९७ प्रतिशत रहेको छ भने कृषि विकास बैंकको ७१.४२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]