June 20th, 2019

निक्षेप संकलन र कर्जा प्रवाहको अन्तरले तरलता अभावको संकेत

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभावको संकेत देखिएको छ । बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो ।  

नेपाल राष्ट्र बैंकद्धारा सार्वजानीक चालु आर्थिक बर्ष १० महिनाको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह १७.१ प्रतिशतले वृद्धि गर्दा निक्षेप संकलनमा भने ११.६ प्रतिशत मात्र वृद्धि गरेका हुन् ।  अघिल्लो बर्षको यसै अवधीमा वित्तिय संस्थाहरुले कर्जा प्रवाह १८.१ प्रतिशतले वृद्धि गरेका थिए भने निक्षेप संकलन ११.१ प्रतिशतले वृद्धि गरेका थिए ।

 

यसैगरि वार्षिक बिन्दुगत आधारमा २०७६ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १९.८ प्रतिशतले बढेको छ भने बार्षिक विन्दुगत आधारमा वित्तीय क्षेत्रले नीजि कर्जा यस अवधीमा २१.५ प्रतिशत कर्जा प्रवाह बढाएका छन् । यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमश :  ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमश : ८.६ प्रतिशत, ३५ प्रतिशत र ४५.२ प्रतिशत रहेको थियो । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशत रहेको छ । गत बर्षको सोहि अवधीमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशत मध्ये वाणिज्य बैंकहरुको कर्जा १५.५ प्रतिशतले, विकास बैंकहरुको ३१ प्रतिशतले र वित्त कम्पनीहरुको १६.६ प्रतिशतले बढाएका हुन् । वार्षिक बिन्दुगत आधारमा बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढाएका छन् ।

बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । सो अवधीमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १५ प्रतिशत रहेको थियो । यसका साथै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २६.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.२ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २२.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.८ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.५ प्रतिशतले बढेको छ ।

 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानी योग्य साधनमा दबाब यस क्षेत्रमा बर्षेनी भइरहेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुन जान्छ । यसरी निक्षेप संकलनको तुलनामा बैंकहरुले कर्जा प्रवाह बढाउदा थप कर्जा दिने रकम अभाव हुन गई  वित्तीय बजारमा अन्तर बैंक कारोबार बढेको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ को १० महिनामा वाणिज्य बैंकहरुले १३ खर्ब ३८ अर्ब ९५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले २ खर्ब १४ अर्ब १७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमश ः ९ खर्ब ७२ अर्ब ३३ करोड रुपैयाँ र ३४ अर्ब ५१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए । बैंकहरुलाई लगानी योग्य पुँजी (तरलता) अभाव भएको कुरा अन्तर बैंक कारोबारको ब्याजदर पनि पुष्टि गर्छ ।

२०७५ बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ५.१५ प्रतिशत रहेकोमा २०७६ बैशाखमा ४.२९ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ बैशाखको ४.५३ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ६.१२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ बैशाखको १०.३२ प्रतिशतको तुलनामा २०७६ बैशाखमा ९.५९ प्रतिशत कायम भएको छ । २०७६ बैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमश ः ६.६१ प्रतिशत र १२.३२ प्रतिशत रहेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]