September 24th, 2018

निर्जीवन बीमाको दाबी कसरी गर्ने ? कसरी हुन्छ भुक्तानी ?

बैंकिङ खबर । सामान्यतया, चल अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधीपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । यदि सम्पत्तिको बीमा गरिएको छ भने कुनै कारणवश सम्पत्ति नाश भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ । कम्पनीहरुले शतप्रतिशत नभए पनि अधिकतम ९० प्रतिशतसम्म भुक्तानी गर्छन् । सो रकमले मानिसले फेरि सम्पत्ति जोड्न सक्छ । मानिस फेरि पहिलेकै अवस्थामा आउन सक्छ । अन्यथा यस्ता दुर्घटनाले करोडपति पनि फुटपाथमा आउन बेर लाग्दैन ।

क) क्षतिको सूचना 
बिमितले आफ्नो बीमा गरिएको सम्पत्तिको बीमा नगरिए सरह मानेर पर्याप्त सुरक्षा गरेको हुनुपर्दछ । यदि पर्याप्त सुरक्षा गर्दागर्दौ पनि दुर्घटना भई हानी हुन गएमा सोको सूचना यथाथसम्भव छिटो बिमकलाई गर्नुपर्दछ । बिमकबाट उपलब्ध हुने दाबी फाराम (क्षतिको सम्पूर्ण विवरण खुलाइने फाराम) मा पनि सम्पूर्ण विवरण भरी बिमकलाई बुझाउनु पर्दछ । 

ख) दाबीको अनुमानित लागत तथा क्षतिको कारण 
बिमितले क्षति भएको सम्पत्ति सम्बन्धी प्रारम्भिक मूल्यांकन गरी बिमक समक्ष पठाउनु पर्दछ । दाबी गर्दा उपयुक्त प्रमाण पेश गर्नु पर्दछ । यदि बीमा गरिएको जोखिमले नभई अन्य कारणबाट हानी नोक्सानी भएको खण्डमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दैन । बीमा गरिएकै जोखिमबाट नोक्सानी भएको हो भन्ने प्रमाण दिन जरुरी हुन्छ । 

ग) बिमितले मुल्यांकन
बिमितले गरेको दाबीको कारण र दाबी रकम सही छ कि छैन, वास्तविक रुपमा कति रकम क्षति भयो भनेर मुल्यांकन गर्न बीमा कम्पनीले बीमा सर्भेयर नियुक्त गर्दछ । उक्त सर्भेयरले क्षतिको वास्तविक कारण, क्षतिको वास्तविक रकम लगायत सम्पूर्ण क्षतिसम्बन्धी विवरण सहितको सर्भे प्रतिवेदन तयार पारी बीमा कम्पनीमा पेस गर्दछ । मूलतः सोही प्रतिवेदनका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दछ वा थप अनुसन्धान गरी दायित्व यकिन गर्दछ । 

घ) दाबी भुक्त्तानी 
उपरोक्त अनुसार सर्भेयरको प्रतिवेदन वा अनुसन्धानको आधारमा बीमा कम्पनीले क्षतिपूर्ति वा दाबी भुक्तानी प्रदान गर्दछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]