November 7th, 2023

के हो असर्फी ?

बैंकिङ खबर/ सुनचाँदीका असर्फी बिक्री खुल्ला भएको छ । आइतबारदेखि तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताका लागि सुनचाँदीका असर्फी बिक्री खुल्ला गरेको हो ।

जसअनुसार सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरिएको छ । केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ ।

त्यस्तै १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ । यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको छ ।

के हो असर्फी ?

असर्फीको अर्को नाम ‘सुनको सिक्का’ हो । असर्फी सिक्काका रूपमा भए पनि चलनचल्तीको मुद्रा होइन । यसकारण असर्फीले सामान खरिद गर्न वा आवश्यकताअनुसार खर्च गर्न मिल्दैन ।

सुनलाई गालेर सिक्काको आकार दिइन्छ र त्यसलाई असर्फी भनिन्छ । यो काम राष्ट्र बैंकले गर्छ । दुई वर्षअघिसम्म सुन्धारास्थित पुरानो घरमा राष्ट्र बैंकको टक्सार विभाग थियो । त्यहाँ विभिन्न परिमाण र डिजाइनका सुनका सिक्का बनाइन्थ्यो । उक्त स्थान अहिले बबरबहलस्थित औषधि व्यवस्थापन विभाग परिसरमा स्थानान्तरण गरिएको छ । अहिले त्यहीँबाटै सिक्का बिक्री गरिन्छ ।

‘असर्फी’ नाम सुन्नेबित्तिकै धनी तथा उच्च वर्गका लागि बनाइएको भन्ने लाग्न सक्छ । यो स्वाभाविक हो । सुनका सिक्का खरिद गर्ने क्षमता न्यून आय भएका व्यक्तिसँग हुँदैन । त्यसकारण असर्फी खरिद गर्ने प्रायः धनीवर्ग नै हुन्छन् । केही वर्षयता परिस्थिति बदलिएको छ । अचेल असर्फीमा सर्वसाधारणको पहुँच पनि बढेको छ । पछिल्ला वर्षमा असर्फीको माग उच्च दरले बढ्दै जानुले यो पुष्टि हुने राष्ट्र बैंकको दाबी छ ।

असर्फी कसरी बनाइन्छ ?

सुनलाई गालेर असर्फी बनाइन्छ । असर्फी बनाउन प्रयोग गरिने सुन राष्ट्रको हो । विभिन्न माध्यममार्फत संकलित सुन राष्ट्र बैंकको ढुकुटीमा हुन्छ । त्यही सुन पगालेर असर्फी बनाइन्छ । यो काम राष्ट्र बैंकको टक्सार विभागले गर्छ । त्यहाँ विभिन्न प्रकारका सिक्का बनाउने मेसिन छन् । असर्फी पनि त्यहीँ बनाइन्छ ।

असर्फीको डिजाइन र आकार भने फरक फरक हुन्छ । राष्ट्र बैंकले साढे दुई, पाँच र १० ग्राम सुन गरी तीन प्रकारका असर्फी बनाउँदै आएको छ । तीमध्ये साढे दुई सय ग्रामका असर्फीको माग बजारमा उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । असर्फी सिक्का भए पनि तिनमा (मूल्य) अंकित गरिएको हुँदैन । सिक्काको एक पाटोमा ‘असर्फी नेपाल’ र अर्को पाटोमा नेपाल राष्ट्र बैंक तथा मिति राखिएको हुन्छ ।

असर्फीको मूल्य कति पर्छ ?

सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तय हुन्छ । बजारमा सुनका गहना खरिद गरे जस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी विक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ । यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै असर्फी किन्न रुचाउँछन् ।

सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुवैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]