November 3rd, 2016

वित्तीय साक्षरता बढाउने गज्जबको ‘टेक्निक’, विजय लघुवित्तका सीइओसँगको अन्तरवार्ता

basanta lamsalबसन्त लस्साल नवलपरासीमा रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । लघुवित्तका माध्यमबाट देशमा रोजगारीका अवसरको सिर्जना, उद्यमशीलताको विकास गर्दै गरिबी निवारण गर्न सकिन्छ भन्ने मान्यता राख्ने उनी एक सफल व्यवस्थापक पनि हुन् । सन् २०१२ मा दर्ता भएकोे विजय लघुवित्त वित्तीय संस्था उनको नेतृत्वमा निकै अघि बढिसकेको छ । पछिल्लो समय नेपालमै पहिलो पटक मोबाईलमार्फत वित्तीय साक्षरता विस्तार अभियान पनि विजय लघुवित्तले सुरु गरेको छ । सो अभियान निकै प्रभाकारी भइरहेको बताइन्छ । संस्थाले मोबाईलबाट वित्तीय साक्षरता विस्तार गर्न गज्जबको ‘टेक्निक’ ‘आरभिआई’ अपनाएको छ । यीनै विषयमा केन्द्रित रहेर बैंकिङ खबर डटकमका सह–सम्पादक नवराज कुँवरले उनै लम्सालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।  

विजय लघुवित्त खुलेको साढे तीन वर्ष पूरा भईसकेको छ, यस संस्थाको बारे केही बताइदिनुस न ।  

विजय लघुवित्त राष्ट्रियस्तरको संस्था हो । यो सञ्चालनमा आएको ३ वर्ष बढी भइसकेको छ । यस संस्थालाई हामीले विस्तारै अघि बढाएका छौँ । हाम्रो लघुवित्तको विस्तार, विकास र मुनाफा क्रमशः बढ्दै गएको छ । अघिल्लो वर्ष ५/६ प्रतिशत नाफा थियो । अहिले त्यसलाई बढाएर १७ प्रतिशतमा पुर्याएका छौँ । आगामी वर्षमा पनि क्रमश यहिरुपमा अगाडि बढाउँदै लैजाने छौँ । 

नेपालमा रहेका तीन दर्जनभन्दा बढी लघुवित्तमा विजय लघुवित्त कहाँ छ र अरुभन्दा यस संस्थासँग के फरकमपन छ ?     

सबै लघुवित्तका आ–आफ्नै विशेषता हुन्छन् । विजय लघुवित्तले नाफा र व्यवसाय बढाउने काम मात्र गरेको छैन । यसले सामाजिक सञ्जाल विस्तार गर्ने, जोखिम न्यूनिकरण गर्ने, संस्थाको विस्तार, मुनाफाको बृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत सबै क्षेत्रलाई उत्तिकै प्रथमिकताका साथ अघी बढाएको छ । हामीले फिल्डको केसमा क्रेडिटका अतिरिक्त अरु लगानीमा पनि जोड दिएका छौँ । त्यस्तै वित्तीय साक्षरतामा टेवा पुर्याउनका लागी विजय लघुत्तिले पहिलोपटक नपालमा राप्ती अञ्चलको ५ वटा जिल्लामा आइभिआर सेवाको सुरुवात गरेको छ । । यो सेवाले मोवाईलमा ३० सेकेण्डको वित्तीय साक्षरता सम्बन्धी सन्देश दिने काम गर्छ । साथै हामीले स्टाफहरुलाई प्राबिधिक तालिम पनि दिने गरेका छौँ । 

यो आइभिआर सेवा कसरी सुरु गर्नुभयो र यसको प्रभाव कस्तो छ ? 

दक्षिण अफ्रिकाको अनुभवका आधारमा नेपालमा पहिलोपटक हिमीले यसखालको वित्तीय साक्षरता अभियान सुरु गरेका हौँ । पछिल्लो समय मोबाइल प्रविधिको व्यापक प्रयोगसँगै यस प्रविधिमार्फत वित्तीय साक्षरता अभियान निकै प्रभावकारी बन्दै गएको छ । बैंकको बारेमा अनविज्ञहरुले पनि अहिले मोबाइलबाट आएको सन्देशबाट प्रभावित भई बैंकमा गएर बचत गर्ने र पैसाको जरुरत भएमा साहूसँग चर्को ब्याजमा नभई बैंकबाट ऋण लिने काम गर्न थालेका छन् । विजय लघुवित्त वित्तीय संस्थाले वित्तीय सचेतनाका लागि गत अगस्टदेखि मोबाइलबाट वित्तीय साक्षरता अभियान सुरु गरेपछि महिलामा बैंक वा वित्तीय संस्थाप्रतिको आकर्षण बढेको हामीले देखेका छौँ । 

विदेशमा रहेका आफन्तलाई हुण्डी वा कुनै व्यक्तिमार्फत पैसा पठाउँदा समयमा नपाउने/हराउने समस्या झेल्दै आएका कतिपयले अब भरपर्दो ढङ्गबाट पैसा पठाउन अनुरोध गर्न थालेका छन् । कुनै व्यवसायका लागि पैसाको अभावमा विदेश जान बाध्य बनेका वा त्यतिकै बरालिएर हिँडेका युवा पनि बैंक वा वित्तीय संस्थाहरुबाटै व्यवसाय सुरु गर्ने तयारीमा छन् । 

आइभिआर सेवाबाट कति मानिसहरु प्रभावित हुने अपेक्षा गर्नुभएको छ ? 
 
आइभिआर प्रविधिले मात्रै छ हजार जनालाई वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पुर्याउनेछ । अहिले साझेदार वित्तीय संस्थाहरूका १३ हजार सदस्यले विभिन्न माध्यमद्वारा वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पाइरहेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समूहमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित सक्षम कार्यक्रमको सहयोगमा संस्थाले दाङ, सल्यान, प्युठान, रोल्पा र रुकुममा वित्तीय पहुँचमार्फत पिछडिएका वर्गको जीविकोपार्जनको अवस्थामा सुधार कार्यक्रम सुरु गरेको छ । मोबाइलबाट दिइएको सन्देश प्रभावकारी देखिएको छ । 

बिजय लघुवित्तले कुनकुन क्षेत्रमा बढी लगानी गरेको छ ?

हामीले सबैभन्दा बढी कृषि, तरकारी, पशुपालन लगायत विभिन्न व्यवसायिक र उत्पादनशील क्षेत्रमा लगानी बढी गरेका छौँ ।  राष्ट्र बैंकले तोकेको सिमा भित्र रहेर कर्जा उपलब्ध गराउँदै आएका छौँ । 

राष्ट्र बैंकले तोकेको ७ प्रतिशत स्प्रेड रेट तपाईहरुले लागु गर्न सक्नु हुन्न ?

यसरी स्प्रेड दर टोक्दा संस्थाको सञ्चालन लागत कति छ भनेर हेर्नु आवश्यक हुन्छ । हामीले सबै लघुवित्तहरुको अवस्था हेर्दा ६ देखि ११ प्रतिशत त सञ्चालनको लागत नै देखिन्छ । संस्थालाई दिगो रुपमा हेर्दा नाफा पनि चाहिन्छ । १ प्रतिशत कर्जामा राख्नै पर्छ । यसरी समग्रमा हेर्दा ११ प्रतिशत जति सञ्चालनकै खर्च हुन्छ । राष्ट्र बैंकले तोकेको यो स्प्रेड रेटमा त काम गर्न एकदमै कठिन छ । 

तपाई त लघुवित्त विकास बैंकर्स संघको सदस्य पनि हुनुहुन्छ, स्प्रेड रेटमा पुनर्विचार गर्ने सम्बन्धमा राष्ट्र बैंकको संकेत भित्री मनसाय कस्तो पाउनुभएको छ ? 

राष्ट्र बैंकले लघुवित्त स्थापनाकाल देखि नै प्रोत्साहन गर्दै आएको छ । सुरुमा ग्रामीण बैंकहरु क्षेत्रीयस्तरमा सञ्चालन गर्दै आएको थियो । अहिले हेर्दा माइक्रोफाईनान्सलाई यो रुपमा ल्याउने हात पनि राष्ट्र बैंककै भूमिका रहेको छ । त्यसैले हामीलाई राष्ट्र बैंकले पुनर्विचार गर्र्छ भन्ने पुर्ण विश्वास छ ।

बीचमा लघुवित्तहरुले पनि त मनपरी ब्याजदर असुल्ने काम गरे नि, यो पनि त एउटा सत्य नै हो नि होइन र ? 

लघुवित्त पनि धेरै थरीका छन् । राष्ट्र बैंकको घ बर्गमा रहेर दर्ता गरेका ४६ वटा संस्था वाहेक धेरै संस्थाले पनि लघुवित्तको कार्यक्रम सञ्चालन गरेका छन् । गैर सरकारी संस्था, सहकारीहरुले पनि लघुवित्तले गर्ने काम गरेका छन् । कुन् संस्थाले के गर्यो यो बुझ्नुपर्छ । समस्या सबै ठाउँमा छन् । कुन संस्थाले के गर्यो, भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो । यस्ता कुरा तथ्यगत हुनुपर्छ । एउटाको गल्तीको सजाय सबैले भोग्नुपर्छ भन्ने कुरा हुँदैन । अहिले घ बर्गका लघुवित्तहरु १८ प्रतिशत भन्दा कम लिनुपर्छ भन्ने रुपमा नै अघि बढिरहेका छन् । 

सहकारीले पनि लघुवित्तलाई प्रभाव पारेको छ भन्नुभाको हो ? 

सहकारी संस्था सीमित ठाउँमा छन् तर धेरै मात्रामा र धेरै ठाउँमा सहकारी संस्थासँग स्रोतको अभाव छ । जिल्लाका सदरमुकाममा अलि–अलि छन् तर गाउँमा त सहकारी संस्थाको भूमिकै छैन । लघुवित्तसँग स्रोत पनि भएको, गाउँका दूरदराजमा पुगेर पनि काम गरेका छन् । 

लघुवित्तका बर्तामान चुनौतिहरु के के हुन् ?

हाम्रो सञ्चालन खर्च बढी छ । त्यसलाई घटाउने, ६० प्रतिशत मानिस वित्तीय पहुँचबाट टढा छन् त्यसलाई घटाउने चुनौति छ । जति ग्रामीण भेगमा गईन्छ, त्यति बढी खर्च हुने गर्दछ । हामी ग्रामीण भेगमा जान्छौं जसले गर्दा बढी खर्च हुने गर्छ र बजारमा लघुवित्तले बढी व्याज लिन्छ भन्ने आरोप छ यो हाम्रो ठुलो चुनौति हो । अहिले लघुवित्तको आकर्षण बढेको छ । यो राम्रो पक्ष भएपनि बजारमा अस्वस्थ प्रतिस्पर्धा र नक्कल गर्ने परीपाटी बढ्ने गर्दछ । बाणिज्य बैंकहरुले २ प्रतिशत विपन्न कर्जा दिने राष्ट्र बैंकको नीतिले पनि हामीलाई स्रोतको कमी हुन सक्ने चुनौति थपिएको छ । हाम्रो ३ वर्षको कारोवारलाई बाणिज्य बैंकहरुकोे ३ घण्टाको कारोवारले नै जितिदिन्छ । हामी गाउँ–गाउँमा जाने, लगानी बढाउने र लागतमा कमी ल्याउने हाम्रा लागि मुख्य चुनौति हुन् ।  

उद्यमीशीलताको विकास गर्न लघुवित्तको भूमिका कस्तो हुन्छ ? 

लघुवित्तले बिना धितो ५ लाख सम्म कर्जा उपलब्ध गराउँछन् । केहि गर्छु भन्नेलाई एउटा माध्यम बन्न सक्छ । उद्यमीको सीप र वित्तीय साक्षरता बढाउन कुन निकायले काम गर्ने हो त्यो छलफल गर्नुपर्छ । नारा मात्र लगाउन भन्दा पनि अब त कार्यान्वयनमा जान जरुरी छ । बिदेश गएकालाई रोक्न पनि उसको घर परिवारले व्यवसायको सुरुवात गरिदिनुपर्छ ता कि बिदेशबाट फर्के पछि देशमै उद्यमशील बन्न सकोस् । यो कुरा एउटा संस्थाले मात्रै चाहेर हुँदैन । समग्र राज्य नै लाग्नुपर्दछ । उद्यमशीलताको विका गर्ने खालका धेरै कार्यक्रम पनि भएका छन् । जस्तै युवा स्वरोजगार, सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमहरु छन् । तर परिणामुखि हुन सकेका छैनन् । किनकी राज्यले नै सबैसँग समन्वय गरेर एकीकृत रुपमा यस्ता कार्यक्रम गर्न सकेको छैन । 

नेपालको अर्थतन्त्रमा लघुवित्तका योग्दानहरु के के हुन् ?

कुल गार्हस्थ उत्पादनमा कति योगदान गरेको छ गणनामा आएको छैन । करिब १८ लाख जनतालाई लघुवित्तमा संलग्न गराएको छ । लघुवित्तले काठमाडौँको पैसा जुम्ला अथवा गाउँमा पु¥याएको छ । बैंकहरु सहरमा छन्, पैसा छ, सहकारी गाउँमा छन्, स्रोत साधन छैन लघुवित्तले सहरको बैंकसंगको सहकार्य गरेर गाउँमा, दुर्गम ठाउंँमा लगानी अथवा पैसा पुर्याएका छन् । किनकी लघुवित्त संस्थाहरु गाउँ र सहरमै छन् । लघुवित्तको उत्पादनशील क्षेत्रमा लगानी छ । लघुवित्तले प्रवाह गर्ने कर्जा धेरै सदुपयोग भएको छ । यी संस्थाहरुले अत्यावश्यक उपभोग्य कुरामा पनि लगानी गर्ने गर्छन् । लघुवित्तले धेरै गर्न सक्छन् भन्ने कुरा त विभिन्न देशबाट पनि सिक्न सकिन्छ । यीनै हुन हाम्रा योग्दानहरु । 

बिजय लघुवित्तको नयाँ योजना के छ बताईदिनुहोस् न ।

व्यवसायको बृद्धि तथा विस्तारमा निरन्तरता, गाउँ–गाउँमा पुग्ने, पोट्फोर्लियो बढाउने, धेरै जिल्ला समेट्ने, धेरै ग्राहक बढाउने, प्राबिधिक रुपमा संस्थालाइ अगाडि बढाउने, राम्रा कुरालाई अन्तर्राष्ट्रिय रुपमा अघी बढाउने, अन्तर्राष्ट्रिय रुपमा तालिम दिनेलगायका योजनामा छाँै हामी । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]