April 2nd, 2018

‘कमर्शीयल भन्दा कम छैनन् डेभलपमेन्ट बैंकहरु’ 

रेशमबहादुर थापा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका सचिव एवं गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । २०५१ साल पौष १ गते कैलाश विकास बैंक (साविकको अन्नपूर्ण फाइनान्स) बाट बैंकिङ करियर शुरु गरेका थापाले दुई दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरिसकेका छन् । २०५९ फागुन १५ सम्म त्यहि संस्थाको उच्च तहको पदमा रहेर काम गरेका थापालाई सोहि बखतमा फेवा फाइनान्सको नेतृत्व तहमा काम गर्ने प्रस्ताव आयो । लामो समय अनुभव भएका कारण आएको प्रस्ताव स्वीकार गर्दै थापा तत्कालिन फेवा फाइनान्सको म्यानेजिङ डाइरेक्टरमा नियुक्त भए । २०५९ चैत्र १५ गतेदेखि म्यानेजिङ डाइरेक्टरको रुपमा काम गरेका थापाले २०६४ पौष मसान्तमा कार्यकालय पुरा गरी ओम डेभलपमेन्ट बैंक (तत्कालिन ओम फाइनान्स) मा जनरल म्यानेजर भएर काम गरे । उनी १९ महिना ओम फाइनान्समा काम गरी पुनः फेवा फाइनान्सको सीइओको रुपमा गएका थिए । साविकको फेवा फाइनान्स र विश्व विकास बैंक मर्जर भएर फेवा विकास बैंक साथै फेवा विकास बैंक र गण्डकी विकास बैंक मर्ज भएर गण्डकी विकास बैंक बन्दा समेत थापा सीइओको रुपमा नै कार्यरत छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका थापासँग विकास बैंकहरुको पछिल्लो गतिविधि, पोखरामा बैंकिङ सेवाको अवस्था लगायतका विषयमा बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः 

गण्डकी विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ? 
गण्डकी विकास बैंक पूँजीको हिसाबले सबल छ । शाखा सञ्जाल, सुशासन लगायत अन्य पार्टबाट समेत सफल भएको हामीले महशुस गरेका छौँ । दोस्रो त्रैमास सम्मको गण्डकीको वित्तीय विवरण हेर्ने हो भने १९ अर्ब ९२ करोड निक्षेप संकलन र १७ अर्ब ५६ करोड रुपैयाँ भन्दा बढी रकम कर्जा प्रवाह गरेको थियो । हाल तेस्रो त्रैमास सकिनै लागेको हुँदा त्यो फिगर बढेको छ । 

शाखा सञ्जालको अवस्था कस्तो छ ? 
नेटवर्क कभरेजको हिसाबले हामी विकास बैंककै सबैभन्दा उत्कृष्ट हुने योजनाका साथ अघि बढेका छौँ । अहिले वर्तमान अवस्थाको कुरा गर्ने हो भने पनि पूर्व मेचीको झापादेखि पश्चिम महाकालीको महेन्द्रनगरबाट समेत सेवा दिँदै आएका छौँ । अहिले हाम्रो ५१ वटा शाखा कार्यालयहरु रहेका छन् । ८ वटा शाखा कार्यालयहरु वैशाख महिनाभित्रमा सञ्चालनमा ल्याउदै छौँ भने थप १२ वटा शाखा कार्यालयहरु चालु आर्थिक वर्षकोे असार मसान्तभित्रमा थप गर्दैछौँ । यो आर्थिक वर्षमा २० वटा शाखा कार्यालयहरु थप गरी शाखा संख्या ७१ पुर्याउने त्यसका अलवा आगामी आर्थिक वर्षमा समेत आवश्यकता अनुसार शाखा कार्यालयहरु स्थापना गर्दै जाने हाम्रो योजना छ । 

मर्जरपछि बैंकहरुमा धेरै समस्याहरु आउछन् भनिन्छ, दुई ठूला विकास बैंकहरु मर्ज भएर गण्डकी विकास बैंक बनाउनु भएको छ । के–कस्ता समस्या झेल्नु पर्यो ? 
दुई ठूला विकास बैंकहरु मर्जर भएर बनेको गण्डकीको सबैभन्दा राम्रो पक्ष एचआर म्यानेजमेन्ट हो । पहिले फेवा फाइनान्स र विश्व विकास बैंक मर्ज भएर फेवा विकास बैंक भयो, फेरी फेवा विकास बैंक र गण्डकी विकास बैंक मर्ज भएर गण्डकी विकास बैंक बनेको हो । हरेक बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरपछि कर्मचारी व्यवस्थापनको समस्या विकराल हुन्छ । तर हाम्रोमा यो छैन । मर्जर पछिको हाम्रो राम्रो पक्ष भनेको एचआर म्यानेजमेन्ट हो । 
प्रदेश नम्बर ४ मा काली नदी छ । हो त्यो काली नदी बगेको थाहा पाइन्न भनिन्छ । काली नदी जस्तै गण्डकी विकास बैंक पनि आफ्नो गतिमा निरन्तर अघि बढीरहेको छ । यहाँ कुनै त्यस्तो वाधा, अवरोध वा वादविवाद छैन । 

साविकको फेवा फाइनान्सको सीईओ पनि म नै थिए । त्यसबेला फाइनान्स कम्पनीहरुमध्ये राम्रो रिटर्न दिने फाइनान्समा फेवा थियो । अहिले वर्तमान अवस्थाको कुरा गर्ने हो भने पोखरामा स्थापना भएका विकास बैंकहरुको मुलुकभर नै वर्चस्व छ । तर जुनबेला म फाइनान्स कम्पनीको सीईओ थिए त्यसबेला विकास बैंकको कन्सेप्ट थिएन । 

पछिल्लो समय लगानीयोग्य पूँजीको अभाव भएको छ भनिन्छ, पोखराका बैंकहरुमा तरलताको समस्या कत्तिको छ ? 
तरलताको समस्या मुलुकभर नै थोरबहुत छ । पोखरामा छँदै छैन भन्न नमिल्ला । अहिले हाम्रो सीसीडी रेसियो ७७ र ७८ प्रतिशको बीचमा रहेको छ । जुन ८० प्रतिशत सम्मको रेसियोलाई राष्ट्र बैंकले नै वैधानिक मानेको छ । यो समस्या भनेको केहि ठूला बैंकहरुले गर्दा आएको हो । केहि ठूला बैंकहरुले बजार क्यापचर गर्न खोज्दा यो समस्या आएको हो । यहाँ लगभग सबैको निक्षेप बढेको छ । हाम्रो कुरा गर्दा सामान्य वृद्धि भएको छ । यसका साथै ल्याण्डिङ बढेको छ । ४६ करोड रुपैयाँ त हाम्रो हकप्रद शेयरको पैसा आयो । आजको मितिमा हाम्रो ५२ करोडले लोन बढेको छ । समग्रमा हामी सकरात्मक छौँ । विकास बैंकहरु कमर्शीयल बैंक भन्दा कम छैनन् । यहाँका पव्लिकले यहाँका विकास बैंकलाई स्थानीय कमर्शीयल बैंकको रुपमा लिने गरेका छन् । 

तपाई त डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सचिव समेत हुनुहुन्छ, समग्र विकास बैंकहरुमा चाहिँ तरलताको अवस्था के छ ? 
समग्र बैंकिङ इन्डष्ट्रिलाई हेर्दा यो तरलता संकुचन भन्न मिल्दैन । तरलता संकुचन भनेको निक्षेपकर्ताले आफूले राखेको पैसा समयमा चाहिएको अवस्थामा झिक्न नपाउनु हो । चल्ती, बचत तथा मद्धतीमा राखेको पैसा आफूले चाहेको बेला निकाल्न पाएन भने त्यो लिक्यूडीटी क्रन्च हो । अहिले देखिएको समस्या भनेको क्रेडिट क्रन्च हो । क्रेडिटक्रन्च विभिन्न कारणहरुले भएको छ । यस विषयमा म धेरै बोल्न चाहिन । मलाई लाग्छ त्यो कुरा सबैले बुझनु भएको छ । 

एक वर्षमा १२ महिना छ, त्यो १२ महिनामा कति दौडने भन्ने सिमित दूरी तोक्नु पर्छ । मैले अघि पनि भने केहि बैंकले आजै धेरै थुपारौ भन्ने साचेकाले यो समस्या आएको हो । विकास बैंकमा त्यस्तो धेरै समस्या छैन । 

पोखरामा स्थापित डेभलपमेन्ट बैंकहरु निकै अब्बल र विश्वसनिय देखिन्छन् यसको कारण के हुन सक्छ ? 
मर्निङ सो द डे भनिन्छ । यहाँका बैंकहरु जुनजुन बेला स्थापित भए, यहाँ ५० सालपछि ५३, ५७ साल हुँदै ५९ सालमा म आफैँ एमडी भए । यहाँका बैंक तथा वित्तीय संस्थाहरुले शुरुमा नै राम्रो गर्दै आए र अहिले पनि गरिरहेका छन् । यहाँका बैंकहरु अहिले राम्रो हुनुको कारण त फाइनान्स कम्पनीहरु हुन् । ति फाइनान्स कम्पनीहरुबाट नै अहिले अव्वल विकास बैंकहरु भएका छन् । अन्य ठाउँका फाइनान्स डुबेर हैरान भए । यहाँका फाइनान्सले नै जग बसाएका हुन् । जसका कारण आज धेरै विकास बैंकहरु अव्बल हुन सकेका छन् । 

हिजो फाइनान्स कम्पनी खोलेका मान्छे नै अहिले विकास बैंकका चियरमेन छन्, प्रमोटर छन् । मैले पनि ५१ सालमा फाइनान्सबाटै करियर शुरु गरेको हो । अन्तिममा यसको श्रेय भने यहाँका कष्टुमरलाई जान्छ । कष्टुमरका कारण नै बैंक तथा वित्तीय संस्थाहरु सफल भएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]