February 17th, 2017

‘लघुवित्तको नियामक निकाय छुट्टै हुनुपर्छ’

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको पछिल्लो समय वित्तीय अवस्था सवल हुँदै गएको छ । केहि समय अगाडी बन्द हुन्छ भनेर आंकलन गरिएको मिर्मिरे माइक्रो फाइनान्सको पछिल्लो वित्तीय अवस्था हेर्दा सक्षम माइक्रोफाइनान्सको रुपमा विकास हुँदै गएको संस्थाको रुपमा लिन सकिन्छ । धेरै ओरालो गतिमा लाग्दा समेत नहढबढाई मिर्मिरे माइक्रोफाइनान्सलाई यसका सञ्चालक समितिले पुनः राम्रो अवस्थामा ल्याइसकेका छन् । एक पटक नाजुक अवस्थामा पुगेको माइक्रोफाइनान्स यो अवस्था सम्म आइपुग्दाका स्मरण तथा समसामायिक बिषयमा यसै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

मिर्मिरे माइक्रोफाइनान्सको पछिल्लो वित्तीय अवस्था वताइदिनोस् न ।
यस संस्थाले १५ जिल्लामा २९ वटा शाखा मार्फत २० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । मिर्मिरेले अहिले ५८ करोड भन्दा बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

पछिल्लो समय मिर्मिरेको वित्तीय अवस्था निकै सुधैको छ, यो कसरी सम्भव भयो ?
निश्चय नै सुध्रिएको हो । कुनै पनि वित्तीय सँस्था सुध्रिनुको पछाडी सो संस्थाका कर्मचारी, सञ्चालक तथा सदस्यहरु सबैको हात हुन्छ । पछिल्लो समय सस्थापक, विशेष गरेर हाम्रा अध्यक्ष आफै लागि परेर मिर्मिरेको अवस्थामा सुधार भएको हो । मिर्मिरे लघुवित्त अब डुब्यो भनेर धेरै जना आत्तिएको बेला हाम्रो अध्यक्षज्यूले नहडबढाई सुधारामा लागि पर्नु भयो, त्यसको फलस्वरुप मिर्मिरेको अवस्थामा सुधार आएको छ ।

तपाइको बिचारमा कुनै पनि वित्तीय संस्थाको अवस्था विग्रनुको मूख्य कारण के हुन सक्छ ?
कर्जा लगानी गर्दा राम्रोसँग ध्यान नदिनाले पनि वित्तीय संस्थाहरु ओरालोतर्फ लाग्छन् । त्यस बाहेक कर्मचारी व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ । यी दुई कुराहरुलाई बिशेष ध्यान दिने हो भने वित्तीय संस्था ओरालो होइन उन्नती तर्फ जान्छन । 

लघुवित्तहरुले सामुहिक जमानीमा कर्जा लगानी गर्छन्, त्यसमा पनि डुब्ने खतरा हुन्छ र ?
थोरै प्रतिशत खतरा त जेमा पनि हुन्छ, तर लघुवित्तले सामुहिक जमानीमा लगानी गर्ने भएको त्यति धेरै डुब्ने खतरा हुँदैन । सामुहिक जमानीमा गरेको कर्जा लगानी अलिकति ढिलो भए पनि अवश्य पनि उठ्छ । हाम्रा पनि त्यस्ता खराब कर्जा केहि थिए त्यो असुल भइसक्यो, केहि असुल हुने क्रममा छन् । 

मिर्मिरे लघुवित्तले कति प्रतिशत व्याजमा कर्जा लगानी गर्छ ?
अहिले हामीले १४ देखी २० प्रतिशत ब्याजदरमा कर्जा लगानी गरेका छौं ।

माइक्रोफाइनान्सहरुले धेरै ब्याज लिन्छन भनेर चर्चा हुने गरेको छ यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
माइक्रोफाइनान्सले बढी ब्याज लिन्छन् भन्ने जहाँबाट कुरा आउँछ त्यसले माइक्रोफाइनान्सको मर्म र अपरेशन स्टाटस नबुझेको हुनुपर्छ । ब्याजदर बढी भयो भन्ने हल्ला बजारमा सुनिएकै हो । ब्याजदर मुख्य रुपमा कोषको लागत र संचालन खर्चसँग सम्बन्धित हुन्छ । घरघरमा गएर सेवा दिनु पर्ने हुन्छ यसले गर्दा पनि यसको लागत बढी हुन आउँछ । पछिल्लो समयमा प्रविधिको प्रयोग भएसँगै माइक्रोफाइनान्स बैंकहरुले ब्याजदर आफै पनि घटाउँदै गएका छन् । पहिले पहिले सुरुवाती अवस्थामा ब्याजदर २५ प्रतिशत थियो । अहिले संस्थागत विकास भए, संस्थाहरु आफू सवल हँुदै गएसँगै क्रमिक रुपमा ब्याजदरमा कमी आएको छ ।

तपाइहरुले सबैभन्दा बढी कुन क्षेत्रमा लगानी गर्नु भएको छ ?
लघुवित्तहरुको कारोबार ग्रामीण क्षेत्रमा बढी हुने भएकाले हामीले सबैभन्दा बढी कृषिमा नै लगानी गरेका छौँ । पशुपालन, व्यावसायिक खेति तथा साना व्यापारमा हामीले धेरै लगानी गरेका छौँ ।

अनुत्पादक क्षेत्रहरुमा लगानी कत्तिको छ ?
लघुत्तिहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेकै छैन भन्दा पनि हुन्छ । कहिँ कतै गरेका छन् त्यो पनि थोरै मात्रामा । लघुवित्तको मुख्य लक्ष्य अनुत्पादक क्षेत्रमा लगानी गर्नु होईन ।

कर्जा लगानीको सदुपयोग चाहिँ कत्तिको गर्छन त सदस्यहरुले ?
सदस्यहरुले कर्जाको सदुपयोग गरेका छन । कहिँ कतै कर्जाको दुरुपयोगको सम्भावना पनि रहन्छ । कतिले कृषि कार्यका लागि कर्जा लिएर अन्य क्षेत्रमा खर्च पनि गर्छन । तर हामीले मेजरिटीमा हेर्नु पर्छ । मेजरीटिमा त्यस्तो हुँदैन । कर्जाको धेरै दुरुपयोग हुन्छ भनेर बाहिर सुनिन्छ । त्यस्तो हुन्थ्यो भने कर्जाको भाखा नाघेको देखिन्थ्योे, भाखा नाघेको  छैन नि । ग्रामीण क्षेत्रमा कहिकहि त्यस्तो हुन सक्छ ।

लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्न शहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको फरकपन के छ ?  
लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्न हामीलाई ग्रामीण क्षेत्रमा सहज हुन्छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका नागरिकहरुमा लघुवित्त प्रतिको आधारभाव बढी देखिन्छ । जहाँ कार्यक्रम प्रति आधारभाव हुन्छ त्यहाँ हामीलाई काम गर्न रमाइलो पनि हुन्छ र सन्तोष पनि हुन्छ ।

आम नागरिक, समाज र राष्ट्रको आर्थिक समृद्धिका लागि लघुवित्तहरुको कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन लघुवित्त संस्थाहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । लघुवित्त संस्थाहरु अझै ग्रामीण क्षेत्रका विपन्न वर्गमा पुग्नु आवश्यक छ । दुर्गम ठाउँहरुमा वित्तीय साक्षरताबारे चेतना जगाउनु पर्छ । शाखा विस्तार गर्दा पनि दुर्गमलाई अलि बढी महत्व दिनु पर्छ । लघुवित्तहरुले कर्जा लगानी मात्र गर्दैनन्, महिला सशक्तिकरण जस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्छन । हिजो आफ्नो घरपरिवारलाई मात्र व्यवस्थापन गर्न सक्ने महिला  लघुवित्तकै कारणले एउटा ३०÷४० जनाको समूह व्यवस्थापन गर्न सक्ने हुनु भएको छ । १/१ लाखको हिसाब गर्ने हो भने एउटा केन्द्रबाट ४० लाख कर्जा लगानी भएको हुन्छ त्यो ४० लाख कर्जाको ब्यबस्थापन गर्न तिनै महिला दिदी बहिनीहरु सक्षम हुनु भएको छ ।

केन्द्र (समूह) को सम्पूर्ण व्यवस्थापन त्यहाँको केन्द्रप्रमुखले गर्छ । लघुवित्तमा महिलाहरुको सहभागिताले अहिले के गर्यो त भन्दा नेपालमा महिला घरमूलीहरुको संख्या अहिले बढेर आएको छ । समूहमा सिकेको व्यवस्थापन सीप घरमा पनि प्रयोग भएको छ । यो लघुवित्तको ठूलो योगदान हो । यदि लघुवित्तले कर्जाको साथ साथ सामाजिक चेतना वृद्धिमा दिएको योगदानको परिणम हो यो ।

लघुवित्तहरुले बैंक लेख्न नपाउने भन्ने बिषय चर्चामा छ अहिले, बैंक लेख्न नपाउँदा लघुवित्तहरु प्रतिको जनविश्वास घट्दैन ?
यो कुरा पहिले पनि सुनिएको हो, बीचमा हटेको थियो, फेरि यो बिषयले चर्चा पाएको छ । राष्ट्र बैंकले ल्याउने नीतिले केहि न केहि असर गर्छ नै । तर, बोर्डमा बैंक लेख्दा वा वित्तीय सँस्था मात्र लेख्दा त्यति ठूलो असर चाहिँ पर्दैन । सदस्यहरुले साइन बोर्ड हेरेर होइन सेवा हेरेर कारोबार गर्ने हुन् ।

वर्तमान अवस्थामा लघुवित्तका समस्या र चुनौतिहरु के–के छन् ?
सदस्यहरुको व्यवसायिकताको विकास राम्रोसँग भइसकेको छैन् । अघि तपाईले भने जस्तो कर्जाको सदुपयोगिताको चेतना जगाउनु आवश्यक छ । सदस्यहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्न नसक्नु एउटा चुनौति छ । हुन त यो एकै चोटि हुने कुरा पनि होइन । अहिले महिलाहरुको सीप अभिवृद्धका लागि विभिन्न एनजिओ तथा आइएनजिओले पनि विशेष कार्यक्रमहरु ल्याइरहेका छन् । त्यस्तो समस्या देखेर नै उनरुहरुले त्यस्तो प्रकारको कार्यक्रम ल्याएका हुन् ।
अब अर्को कुरा गर्दा केहि व्यक्तिले एक भन्दा बढी सँस्थाहरुबाट कर्जा लिएर त्यसको सदुपयोग गर्न नसकेर असफल पनि भएका छन् । उद्यमशिलताको अभाव पनिु एउटा समस्या हो । सदस्यमा वित्तीय चेतनाको अभावका कारण आफूलाई चाहिने भन्दा कर्जा बढी लिने अनि कर्जा तिर्न नसक्ने जस्ता समस्या पनि देखिएका छन् ।

बैदेशिक रोजगारी रोक्न लघुवित्तले के गर्नु पर्ला ?
बैदेशिक रोजगारी कम गर्न उद्यमशिलता तथा सीप विकास सम्बन्धि तालिमहरु दिनु आवश्यक हुन्छ । आफ्नो मूलुकमै पसिना बगाएर केहि गर्नु पर्छ र मूलुकमै काम गर्दा पनि रामो कमाइहुन्छ भन्ने ज्ञान युवा वर्गमा हुने हो भने बैदेशिक रोजगारलाई केहि हदसम्म कम गर्न सकिन्छ ।

लघुवित्त कार्यक्रमहरु संचालनका लागि नेपाल राष्ट्र बैंकबाट केहि त्यस्तो अपेक्षा राख्नु भएको छ ?
अहिले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मात्र नियमन गरिहेको छ । “घ” वर्गका लघुवित्त संस्थाहरुले संचालन गरेको लघुवित्त कार्यक्रमको नियमन नेपाल राष्ट्र बैंकले  गर्छ तर सहकारी संस्था तथा अन्य संस्थाहरुले संचालन गरेको लघुवित्त कार्यक्रमकोे नियमन गर्दैन । सहकारीहरुले लघुवित्त सम्बनिध ठूल्ठूला कार्यक्रमहरु पनि सञ्चालन गर्छन । नेपाल राष्ट्र बैंकले सबै प्रकारका संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रमको नियमनमा ध्यान देओस वा लघुवित्तको नियमन गर्ने छुट्टै निकायको स्थापना होस भन्ने अपेक्षा गरेका छौँ ।

तपाईको विचारमा आर्थिक समृद्धिको बाधक नेपालको राजनीतिक अस्थिरता हो कि होइन ?
वास्तवमै नेपालको आर्थिक समृद्धिको मूख्य बाधक राजनीतिक अस्थिरता नै हो । राजनीतिक अस्थिरता कायम रहेसम्म सकारात्मक विकास हुन सक्दैन । राजनीति स्थिर भएपछि मात्रै देशको समग्र व्यवस्थापनमा संलग्न निकायहरुको काम कार्यवाही चुस्त–दुरुस्त हुन थाल्दछ । अहिले हाम्रो देशको राजनीति स्थीर हुनु अत्यन्तै जरुरी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]