July 18th, 2016

‘राष्ट्रघाती’ भनेर गलहत्याए राजा महेन्द्रले प्रथम गभर्नरलाई (जीवनीसहित)

himalayaनेपाल राष्ट बैंकको इतिहासमा सधैँ स्मरणमा आइरहने नाम हो, हिमालय शम्सेर जबरा । उनी वि.स २०१३ साल बैशाख १४ गते नेपालका बैंक तथा वित्तीय संस्थालाई नियमन, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको राष्ट बैंकका प्रथम गभर्नर हुन् । सफलताका लागि संघर्ष र संघर्षका लागि लगाव, धैर्यता र निरन्तरताको आवश्यकता हुन्छ भन्ने कुरा उनले आफ्नो जीवनमा लागु गरे । सामान्यतया बाहिरी नजरमा रोलराणा परिवारमा जन्मि, हुर्कि, शिक्षा–दिक्षा प्राप्त गरेपनि उनको जीवनमा आफ्नै खाले कठीन संघर्ष र त्यसपछि सफलताको कथा छ ।
 
नेपालको इतिहाँसमा १०४ बर्षे निरङकुस राणा शासन एकदमै क्रुर र अप्रजातान्त्रिक व्यवस्थाका रुपमा चिनिन्छ । यहि १०४ वर्षे शासन व्यवस्था चलाउने शासकमध्ये एकजना शासकको सन्तानका रुपमा हिमालय शम्सेरको जन्म भएको हो । उनी तत्कालीन थापाथली दरबारमा वि.स १९८४ मा बुवा लक्ष्मण शम्सेर र आमा जगतकुमारीको कोखबाट जन्मिएका हुन् । हिमालय शम्सेरले जन्मिएको तीन वर्षमै आफ्नी आमा गुमाएका थिए । तीन बर्षे कलिलो उमेरमा आमाको देहवसानसँगै उनले आमाको माया कस्तो हुन्छ भनेर जीवनभर महसुस समेत गर्न पाएनन् । त्यतिबेला राणापरिवारमा अर्को बिहे गरिहाल्ने चलन भएपनि छोरालाई दिने मायामा कमि आउलाकि भनेर उनका बुबाले करिब १२ वर्ष पछिमात्र अर्को बिहे गरे । त्यसबीचमा उनको रेखदेख पालनपोषणको लागि रोशन नाम गरेकी एक नेवारी महिलालाई खटाईएको थियो । जसलाई हिमालयले ‘तता’ भनेर बोलाउने गर्थे ।

हिमालय शम्सेरको पढाई
परिवारमा जेठो छोराको रुपमा जन्मिएका राणा बाल्यकालमा निकै सोझा र भलाद्मी स्वभावका थिए । केबल अध्ययन गर्नु र साथीभाइसँग मिलेर फुटबल खेल्नु नै उनको बाल्यरुचिको विषय थियो । होराप्रसाद जोशी र मणिराज शर्मा उनका सबैभन्दा नजिकका बालासाथी हुन । राणा परिवार त्यसमाथि रोलराणाहरु जतिबेला छोराछोरीको पढाइका लागि घरैमा शिक्षक बोलाएर प्राइभेट ट्युसन प्रणालीबाट शिक्षा दिइन्थ्यो । हिमालय चाहिँ यसबाट टाढा हुने कुरै थिएन । कक्षा ६ सम्मको घरभित्रकै पढाई र त्यसपश्चात दरबार हाई स्कुलको पढाईसँगै उनले वि.स  १९९९ मा एस.एलं सी. परिक्षा उतिर्ण गरे । जुन नेपालको पहिलो व्याजको एस.एल.सी.थियो । भुवनलाल जोशी र नन्दलाल माथेमा उनका प्रतिस्पर्धी मित्रहरु हुन् । स्कुले पढाईको दौरानमा भुवन प्रथम भए, हिमालय द्धितिय र नन्दलाल तृतीय हुन्थे, भने हिमालय प्रथम भए नन्दलाल द्धितिय र भुवन तृतिय हुन्थे । तर एस.एल.सी.मा भने दुबै साथी प्रथम श्रेणीमा आए र हिमालय द्धितिय पोजिसनमा ।

कलेज यात्रा
नेपालमा परीक्षा भई नेपालबाटै नतिजा प्रकाशन भएको एस.एल.सीको पहिलो व्याजका विद्यार्थी हिमालयको उच्च शिक्षाको यात्रा भने त्रिचन्द्र कलेजबाट सुरु भयो । वि.स २००२ सालमा सोहि कलेजबाट संस्कृत र अर्थशास्त्र विषय लिएर २ वर्षे आई.ए तह उतिर्ण गरे । प्रत्येक सन्तान प्रति बुबाआमाको इच्छा मेरो छोराले यो पढिदिएको भए हुन्थ्यो, या छोरीले त्यो पढिदिएको भए हुन्थ्यो भन्ने हुन्छ । त्यस्तै हिमालयको बुबाको इच्छा पनि आफ्नो छोराले साइन्स पढेको हेर्ने थियो । तर उनी बुबाको इच्छा विपरितको विषय ‘कमर्स’ पढ्ने निर्णयका साथ काठमाडौँबाट भारतको म्म्बईतर्फ लागे । म्याथमा कमजोर भएका कारण घरमा थाहै नदिइकन मुम्बई युनिभर्सिटिमा आर्ट्स् फ्याकल्टीमा इंग्लीश लिट्रेचर विषय लिएर भर्ना भए र त्यसपछि मात्र घरमा आफु आर्ट्स् फ्याकल्टीमा भर्ना भएको जानकारी दिए ।  वि.स.२००५ सालमा स्नातक तह उतिर्ण गरेको उनको पढाईको विषयमा चाख लाग्दो कुरो त यो छ कि आइ.ए. मा संस्कृत, बि.ए.मा अङग्रेजी विषय लिए भने एम.ए. भने अर्थशात्र विषयमा गरे । वि.स  २००७ सालमा उनको औपचारीक शिक्षा यतिकैमा समाप्त भयो ।

हिमायलले पहिलो पटक हेरेको फिल्म किस्मत
फुटबल सबैभन्दा प्यारो खेल तर दरबार स्कुलमा ग्राउन्ड नहुनु उनको लागि दुखको विषय थियो । त्यसैले त दरवार स्कुलमा रहुन्जेल पढ्ने र वागमतिको पानीमा पौडि खेल्ने यीनीहरुको काम हुन्थ्यो । त्यसताका नेपालमा लेखपढ गरेका व्यक्तिहरुको अभावका कारण भारतीय मुलुकबाट मास्टरहरु आई नेपालमा पढाउने गर्थे । हिमालयले पढ्ने दरबार स्कुलमा पनि अमर बाबु नाम गरेका एक बंगाली मास्टर थिए । जो एकदमै कडा स्वभावका थिए । हिमालय भन्छनः ‘सबैजना उहाँसँग डराउथ्यौँ र छेउछाउ जाँदैनथ्यौँ ।’ आफु पछि एक बहिनीको जन्म भएपनि बहिनी १ वर्ष नपुग्दै वितेकी थिइन । त्यसपछि बुबाका सन्तानका रुपमा छोराछोरी जे भनेपनि हिमालय मात्र थिए । उनका बुबाको न्यायप्रति रुचि थियो र मुद्धा हेर्ने फाँटमा काम गर्थे । साथै बुबाको संगितप्रतिको रुचि भएकै कारण छोरा हिमालय पनि पछि एकतर्फ इङलीस नेपाली र हिन्दी जस्ता सबैखाले गित संगित सुन्नमा सौखिन भए भने अर्कोततर्फ लेख, रचना, उपन्यास तथा गजलप्रति पनि उनको चासो बढ्दै गयो । किस्मत उनले हेरेको पहिलो हिन्दी फिल्म हो ।

मुम्बई बसाई
आफु जन्मेर थाहा पाएदेखि नै भोटोदेखि जुत्ताको तुनासम्म अरुलेनै बाँधिदिने परिवारमा हुर्केका जबरा जब पढाइको सिलसिलामा घर छोडेर मुम्बई गएर होस्टलमा बस्न थाले, त्यसपछि मात्र महसुस भयो कि दरबार बाहिर जीवन जिउँन कति सजिलो छ भन्ने कुरा । सबैले ‘राजा साप के लिसिन्छ हजुर !’ भन्ने जस्ता शब्दहरुको सम्मानमा रहँदै आएका जबरालाई मुम्बईको होस्टेलमा बस्न थालेपछि ‘सायब तुम क्या लेतेहो ?’ भन्ने शब्द पहिलो पटक सुन्दा नराम्रो लाग्यो । तर २–४ दिनदेखि आफ्ना सामान्य कामहरु पनि आफैँ गर्न थालेपछि भने उनले आफुलाई सामन्तिबाट सामान्य नागरिकमा ढाल्न थाले । यससँगै हरेक अप्ठ्यारा परिस्थितिलाई सामान्य रुपले फेस गर्न थाले । भारतमा त्यतिबेला स्वतन्त्रताका लागि युद्ध चलिरहेको थियो । हिमालयले ४–५ वर्षको मुम्बई बसाईमा पढ्नका अलवा भारत स्वतन्त्र हुनुपर्छ भनेर ‘इनकलाब जिन्दाबाद’ भन्ने नारासम्म लाउन भ्याए उनले ।  

jabaraराणा शासन विरुद्धको आन्दोलन
भारतमा ‘इनकलाब जिन्दाबाद’ नारा लगाएका उनी नेपालका भने समान्तबादी राणा परिवारका सन्तान थिए । त्यो समय नेपालमा राणाहरुले शासन जमाएको र सोझा जनतालाई मारमा पारेको १०० वर्ष नाघिसकेको थियो । देशमा अराजकता फैलिएसँगै निंरकुशतामा पिल्सिरहेका जनताको धैर्यताको बाँध टुटिसकेको थियो । तरपनि राणा शासन विरुद्ध आवाज उठाउनेलाई कडा सजाय दिने प्रक्रिया रोकिएको थिएन । यसैबिचमा राणा परिवारमा जन्म लिएका र त्यहि संस्कारमा हुर्केका हिमालयले आफ्नो जीवनलाई खतराको धारमा उभ्याउँदै, राणाकालिन शासनको अन्त्यका लागि गोप्यरुपमा  आफ्नै परिवार भएपनि राणा शासनको निरंकुशताविरुद्धको आन्दोलनमा सहयोग गर्न थाले ।  

सोझा जनतामाथी भएको अन्याय र अत्यचारप्रति असन्तुष्ट रहँदै आएका हिमालय वि.स २००५ सालमा राष्टिय प्रजातन्त्र पार्टिमा आबद्ध भए । र यहि पार्टिको माताहतमा रहि राणाहरुको विरोधमा पर्चा बाँढ्दै हिँडे । एउटै परिवार भित्र बसेर, उनीहरुकै खान्कि खाएर उनीहरुकै विरुद्धमा काम गर्दै हिँड्नु, उनका लागि निक्कै नै चुनौतिको विषय थियो । अहिलेको लोकतन्त्रजस्तो निर्धक्क आवाज उठाउने परिस्थिति पनि थिएन । तर भित्रभित्रै भने हिमालय जस्तै कतिपय राणाहरु राणा शासन अन्त्यको पक्षमा लागिसकेका थिए  । चन्द्रशम्सेरको परिवार मात्र एक्लै जस्तो भईसकेको अबस्था थियो । अन्ततः २ वर्षसम्म निरन्तर रुपमा जीवनबाजी लगाएर राणा शासनको विरुद्धमा लागेका हिमालय जस्तै कयौं नेपालीहरुको प्रयासबाट वि.स. २००७ साल फाल्गुन ७ गते नेपालमा १०४ वर्षसम्म चलेको राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भयो । देश र जनताको हितको लागि आफ्नै परिवारसँग लड्ने यस्ता आँटिला पुरुष हिमालय शम्सेर जबरा नेपालको इतिहाँसमा प्रथम गभर्नर मात्र हैनन्, वि.स २००७ सालदेखि ५ वर्षसम्म नेपालको प्रथम अर्थसचिवको रुपमा समेत रहेर काम गरेका व्यक्ति हुन् ।

banakराष्ट बैंकको स्थापना र प्रथम गभर्नर
नेपालमा तराई मुलका अधिकांश जिल्लाका बासिन्दाको रहनसहन र कारोबार भारतसँग मिल्दोजुल्दो भएको कारण पनि विगतमा नेपालको तराई भागमा नेपाली रुपैंयाँ भन्दा भारतीय पैसाको कारोबार बढी हुन्थ्यो । बिवाह व.ब्रतबन्ध, व्यापार व्यवसाय गर्नुपरेमा वा अन्य कारोबार गर्नुपरेमा नेपालको तराई क्षेत्र र भारतका केहि सहरका बासिन्दाबीच बढी नै सम्पर्क हुन्थ्यो । हिमाल, पहाड र तराई सिङगो राष्ट नेपालकै भएपनि पहाड र हिमालमा नेपाली पैसा अनी तराईमा भारतीय पैसामात्र प्रयोगमा ल्याउनुपर्ने बाध्यता थियो । कारणः त्यसबेला नेपाली विनिमयदर प्रचलनमा ल्याउने पहल भएको थिएन ।

यो समस्या तराईबासिका लागि मात्र थिएन । यसले सम्पूर्ण नेपाली जनता नै ग्रसित भईसकेका थिए । नेपालीको समस्यालाई आफ्नै समस्याको रुपमा लिने उदारवादि स्वभावका हिमालय शम्शेर जबरा यो समस्या समाधानको बाटोतर्फ लागे । विभिन्न स्वदेशि तथा विदेशि किताबहरुको अध्ययन र आफ्नै गहन अध्ययन तथा अनुसन्धानबाट उनले यसका लागि सर्वप्रथम राष्ट्र बैंकको स्थापना गर्ने र विदेशि विनिमयदर तोक्ने सम्मको ज्ञान हाँसिल गरे । अन्ततः विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा वि.स २०१३ साल बैशाख १४ गते नेपाल राष्ट बैंकको स्थापना भयो । र हिमालय शम्शेर जबरा त्यसको संस्थापक गभर्नरका रुपमा नियुक्त भए । उनको ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरु सम्पन्न गर्न उनी सफल भए ।  उहिलेदेखि भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैँयालाई चलनचल्तीमा स्थापित गरे । त्यसपछि तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने तराईवासीहरुले अनुभव गर्न थाले ।

वि.सं.२०१६ सालमा नेरु–भारुको सटहीदर काठमाडौँको इन्द्रचोक र मखनटोलमा कारोबार गर्ने सराफी साहुहरुले आफैँला नाफा हुने गरी समयसमयमा सटही दर तोक्थे र त्यसमा सट्टावाजी पनि बढ्दै गएको थियो । सटहीको अस्थिरताले गर्दा बजारमा माल सामानको मोल साहु र विक्रेताहरुले बढाउने र आम जनताले महँगीको भार खेप्नुपर्ने परिदृश्य थियो । नेपाल राष्ट्र बैँकले ३ वर्ष समग्र देश र प्रदेशहरुमा भारुको माग र आपूर्तिको गहिरो अनुसन्धान गरी १ सय ६० को दरमा नेरु–भारु असीमित परिवत्र्य हुने सहज व्यवस्था २०१७  वैशाखदेखि उनले लागू गरे । त्यसबाट नेपालको उद्योगपति, व्यापारी र उपभोक्ताले नेरु–भारुको सटहीदरको अस्थिरताजन्य चिन्ता बेहोर्न नपर्ने भयो । यसले उनीहरुमा उत्साह बढायो । ५० वर्षभन्दा बढी मात्र नभएर हालसम्म यही सटहीदर कायम रहेकोमा बैँकले यथार्थवादी कदम चालेको रहेछ भनेर गर्व लाग्ने उनी बताउँछन् । यी दुबै कार्यक्रमहरु सम्पन्न गर्न राजमार्गहरु निर्माण भइनसकेको त्यस बेलाको नेपालमा दुर्भेद्य चुनौतिहरु थिए र हिमालय शम्सेरहरुको कार्यक्रम सफल हुन सक्दैन भन्ने धेरै थिए । तीमध्ये, हिमालय शम्सेरहितका केही द्धिग्वजको अनुरोधमा भारतको रिजर्भ बैँक अफ इन्डियाबाट सल्लाहकारको रुपमा राष्ट्र बैँकमा केही वर्ष कार्यरत श्री पई पनि थिए । हुन सक्छ र गराउँछु भनेर हिमालयले पईसँग ५ रुपैँयाको बाजी राखेको थिए । २०१७ सालको असारतिर उनी कोलकात्ता जाँदा पई आएर हिमालयलाई भारु ५ दिएछन् ।

प्रेमीका र बिहे
स्कुले जीवन, कलेज जीवन र जनताको पिरमार्का अनी जागिर । यी यावत कुराहरुले हिमालयलाई आफ्नो जवानी अबस्थामा कतै सुन्दरीप्रतिको आकर्षण, कतै युवतीसँगको रोमान्स र कतै बास्तविक प्रेम कुनै पनि कुराले छोएन । हुनत पहिलाको जमनामा केटा केटीसँगै हिडेको समेत देख्न हुन्नथ्यो । त्यस्तै राणा परिवारमा पनि यस्ता विषयमा निकै कडा रेखदेख हुन्थ्यो छोराछोरिको । तर हिमालयलाई यस विषयमा निगरानि राख्नको लागि छुट्टै व्यक्तिको आबश्यकता परेन । साधारण स्वभावका उनी युवा रहुन्जेलसम्म पढ्ने र फुटबल खेल्ने र विभिन्न सामाजिक काममा नै व्यस्त भए । त्यसैले त उनले बिहाहअघी कुनै युवतिसंग प्रेम र रोमान्स गरेनन् । एकैपटकवि.स २०१३ सालमा श्रीमति बनेर विजयलक्ष्मी उनको जीवनमा आइन् । उनै भईन् हिमालय शम्सेरकी पहिलो प्रेमिका, अर्धाङिगनी । श्रीमतिलाई जीवनको सुन्दर उपहार मान्ने हिमालय भन्छन्– ‘आइएसम्ममात्र पढेकी भएपनि मेरी श्रीमति हरेक गुणले पुर्ण छिन ।’ कुकुर, माछा, चराचुरुङ्गि विजयलक्ष्मीको अत्यन्तै सोखको विषय हो । तर अहिले भने उनी क्यान्सरको रोगी भएकी छन् । श्रीमतिलाई बचाउनका लागि हिमालयले सक्दो प्रयास गरिरहेका छन् ।

राजा महेन्द्रले पदबाट निकालिदिएपछि हिमालयले दुःख पाए
वि.स २०१७ साल पौषपछि नेपाली राजनीतीले फेरी नयाँ रुप लियो । राजा महेन्द्रले कू गरे । त्यसलगत्तै गभर्नर पद सम्हाल्दै आएका हिमालय आफ्नो पदबाट बर्खास्त भए । आफु परिवारमा एक मात्र छोरा भएकाले त्यतिबेला हिमालयलाई एकातिर बाबुआमालाई सम्हाल्नुपर्ने थियो, त अर्कोतर्फ श्रीमति तथा छोराछोरीलाई । भईरहेको पदबाट निकालिएपछि केहि समय त उनले तत्कालीन महाराजबाट जागिरको लागि वोलावट हुन्छ कि भनेर धैर्य गरे । तर राजदरबारबाट बेवास्था भएपछि उनलाई घर परिवार तथा व्यवहार सम्हाल्न मुश्कील भयो । अझ एक वर्ष सम्म केहि काम नपाउँदा एक समय उनको परिवारमा खान लाउनकै लागि पनि हम्मेहम्मे पर्यो । राणा परिवारमा जन्म भएको भएपनि उनले त्यो समयमा आर्थिक समस्याले नपाउनु दुख पाए ।

२४ वर्ष युयानमा जागिर गरे
गभर्नर पदबाट वर्खास्त भएसँगै पाएको दुःख र महाराजबाट दिएको राष्टघातिको संज्ञाले हिमालयलाई हात बाँधेर बसिरहन मन मानेन । चोखो कर्म गरे अवश्य नै राम्रो फल पाईन्छ भन्ने मान्यतामा विश्वास राख्ने जबराले ‘जीवनमा हार खानु भनेको असफल हुने लक्ष्यण हो’ भनेर आफु सफल व्यक्ति बन्ने प्रणका साथ जागिरका लागि युयानमा एप्लाई गरे । एप्लाई गरेको केहि समयमै युयानबाट अफर आयो । त्यसदिनसम्म वेवास्ता गरेपनि युयानमा जागिर मिलेको सुइँको पाउनासाथ भोलिपल्ट नै उनलाई राजदरबारबाट फोन आयो । हिमालय सम्झन्छन्– ‘राजाले मलाई जागिरका लागि बोलाएर नाटक गरेका हुन्, बोलाउने भए मेरो युयानमा जागिर मिलेपछि मात्र बोलाउनुपथ्र्याे त ?’ उनले जागिरका क्रममा अमेरिका, अफगानस्थान, वर्मा, ईन्डोनेसिया, श्रीलङका, पाकिस्तान जस्ता थुप्रै विदेशी मुलुकमा युयानको हेड भएर काम गरे । २४ वर्षे युयानको जागिर अवधी सफल रुपमा बिताए । सन् १९८६ मा युयानको जागिरबाट रिटायर भए । युयानमा जागिर खाएपछि जबरा बाहिर– बाहिरै बस्नुपर्यो । जसको कारण उनका बुबाआमाको देहावसान हुँदा समेत उनी नेपाल आउन सकेनन् ।

priceनागरिक समाजमा जबरा
हिमालय शम्सेरले नेपाल र नेपाली जनताप्रति दिएको योगदानका विषयहरु प्रशंसनीय छन् । नेपालमा सुरु भएको २०५२/०५३ को माओवादी आन्दोलनका कारण नेपाली जनताले धेरै नै दुःख कष्ट भोगे । यसबाट छुटकारा दिलाई नेपालमा शान्ति स्थापना गर्नमा जबराले पनि भूमिका खेलेका छन् । हत्या–हिंसा गरेर हैन माओवादीलाई वार्तामा वोलाएर मात्र समस्या समाधान हुन्छ भनेर तत्कालिन सरकार समक्ष सुझाव दिने प्रथम व्यक्ति हिमालय नै हुन् । त्यस्तै ०६२/६३ को जनआन्दोलनलाई साकार रुप दिनको लागि गठन भएको शान्ति आयोगमा आवद्ध भई नागरिक समाजको अगुवाको रुपमा अग्रसर भई गणतन्त्र स्थापनाका लागि महत्वपुर्ण भुमिका पनि उनले खेलेका छन् । करिब ४/५ वर्षअघि उनले सम्झना र चिन्तन नामक पुस्तक समेत प्रकाशनमा ल्याएका छन् । 

अहिलेको अवस्थालाई यसो भन्छन् जबरा
उमेरले ९० को हाराहारीमा पुगिसकेका जबराको आजकालको दिनचर्या पत्रपत्रिका पढ्ने, फिल्महरु हेर्ने र निमन्त्रणा पाएका कार्यक्रममा सहभागि हुने काममा नै बित्छ । घरमा बसेको अधिकांश समय उनी आफ्नी बिरामी श्रीमतिको रेखदेखमै बिताउँछन् । २ छोरा र २ छोरीका बाबुको रुपमा रहेका हिमालय अहिले आफ्ना सन्तानको प्रगतिबाट सन्तुष्ट छन् । विदेशमै पढाई गरे पनि उनका सबै सन्तान अहिले स्वदेशमै विभिन्न पेसा व्यवसाय गरेर बसेका छन् । उनकी जेठि छोरी प्रतिमा वेलायतमा होटल म्यानेज्मेन्टको पढाई सकेर नेपालमै विभिन्न संस्थाहरु चलाएर बसेकी छिन् । जेठो छोरा अशोक राणा अमेरिकामा बि.एस.सीसम्मको पढाई पूरा गरी नेपालमै हिमालयन बैंकको सिईओ भएर काम गरिरहेका छन् भने कान्छी छोरी संगिता आर्ट र पेन्टिङमा पोख्त छिन् । उनले पनि बेलायतबाटै पढाई पूरा गरेकी हुन् । उनी सुर्यबहादुर थापाका छोरा सुनिल थापाकी श्रीमती हुन । कान्छा छोरा अमरको पढाई पनि अमेरिकाबाटै पूरा भएको हो । अमर पनि अहिले नेपालमै घरजग्गा सम्बन्धी काम गरेर बसेका छन् ।
 
राष्ट्र बैँकको स्थापना अघि र पछि
२०१३ सालअघि देशको विदेशी मुद्राको सञ्चिती भारतको बैँकहरुमा जम्मा हुन्थ्यो । लण्डनस्थित नेपाली दूतावासको खर्च वा राजा त्रिभुवनको उपचारको खर्च बेहोर्न चाहिने विदेशी मुद्रा रकमको लागि भारतको रिजर्भ बैँक अफ इण्डियामा दरखास्त हाली प्राप्त गर्नुपर्ने थियो । राष्ट्र बैँक सञ्चालनमा आएपश्चात् भारतको आर्थिक मामला सचिव वि.के. नेहरुसँग रिजर्भ बैँक अफ इण्डियामा खाता खोल्नेबारे हिमालयले पत्राचार गरे । नेहरुको अनुमति पत्र गएपछि त्यहाँ राष्ट्र बैँकको खाता खोलियो । त्यस्तै, बैँक अफ इङ्ग्ल्याण्डसँग खाता खोल्न पत्राचार गरेकोमा पहिले सो बैँकका दुई कर्मचारीहरु र केही पछि बेलायत सरकारको विदेश मन्त्रालयका अण्डर सेक्रेटरी काठमाडौँ आई हिमायल शम्सेरसंग अन्तक्र्रिया गरे । उनीहरुबाट सकारात्मक प्रतिवेदन प्राप्त भएपछि बैँक अफ इङ्ग्ल्याण्डमा हाम्रो खाता खुल्यो । साथै, न्यूयोर्कस्थित फेडरल रिजर्भ बैँकमा पनि खाता खोल्न सफल भए उनी । राष्ट्र बैँक सञ्चालनमा आएको त्यस्तै, ९÷१० महिनापछि नेपाल विदेशी मुद्रा सञ्चालनमा स्वतन्त्र भयो । आर्थिक परामर्शदातासँग जिद्धि गरी बैँकमा आर्थिक रिसर्च विभागको स्थापना पनि उनैले गरे । सो विभागले गरेको अध्ययन, अनुसन्धान र प्रस्तुत गरेको आर्थिक प्रतिवेदनहरु आर्थिक र वित्तीय क्षेत्रको लागि पथप्रदर्शक सावित भएको छ । बैँकका यी उपलब्धीको श्रेय इलामदेखि कैलालीसम्म शाखा, उपशाखा, सटही डिपोहरुमा र केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जान्छ ।
 
himala shamsherअहिलेको राष्ट्र बैँकबारे उनको धारणा  
‘साठी वर्षको समयक्रममा यस बैँकको काँधमा गहन जिम्मेवारीहरु आइपरेका छन् । अन्तर्राष्ट्रिय तथा देशभित्रका आर्थिक गतिवधिहरु मनन् गरेर यथार्थवादी मौद्रिक नीति घोषणा गर्नु र मौद्रिक व्यवस्थापन गर्नु बैँकको एक प्रमुख जिम्मेवारी हुन आएको छ । अर्थतन्त्रमा राजनीतिक र अप्रत्यासित घटनाहरुको दवाव परिरहने र विभिन्न सरकारी निकायहरुको सहयोग दर्कार पर्ने हुनाले घोषित मौद्रिक नीति कार्यान्वयन गर्न सहज छैन । प्रचुर संख्यामा कार्यरत वित्तीय संस्थाहरुलाई नियमन गर्नु राष्ट्र बैँकलाई चुनौति हुन आएको छ । विगत ५ वर्षमा कर्जा प्रवाहमा जोखिम न्यूनिकरण गराउन, बैँकहरुको कर्पोरेट गभर्नेन्समा सुधार ल्याउन र वित्तीय अनियमितता गर्नेहरुलाई कारबाही गर्न राष्ट्र बैँक केही सफल भएको छ । यस सफलताको सराहना गर्नै पर्छ । यसका अलावा, बैँकहरुसँग परामर्श नगरी केही नियम, निर्देशनहरु जारी गरियो भन्ने गुनासो गभर्नरज्यूले सुन्नुभएकै होला ।
 
राष्ट्र बैँकको भूमिका अहिले हुनुपर्ने भूमिकाबारे उनको विचार 
‘केन्द्रीय बैँक वित्तीय संस्थाहरुलाई कडाईका साथ सुपरिवेक्षण गर्ने र संवेदनशीलताका साथ सुझाव दिने अविभावक हो । देशमा गरिने उद्योग, व्यापार, पूर्वाधार निर्माणलाई द्रुततर गति दिन वित्तीय संस्थाहरुले् ऋण प्रवाह गर्ने सामथ्र्य वृद्धि गर्न आवश्यक भईरहेको थियो । राष्ट्र बैँकले यी संस्थाहरुलाई समयवद्ध शर्तका साथ पूँजी वृद्धि गर्नुपर्ने निर्देशन जारी गरेको करी नौ महिना भयो । यस्तो निर्देशन चाहिएको थियो । त्यसबाट मर्जर, एक्विजिसन, एपीओ, राइट शेयर निष्काशनका कार्यक्रमहरु कार्यान्वयन हुने चरणमा छन् । झण्डै १ वर्षअगाडि गएको महाभूकम्प र तराई क्षेत्रहरुमा गरिएको लामो अवधिको नाकाबन्दीले देशको अर्थतन्त्र खलबलिएको छ । नाकाबन्दीको पुनरावृत्ति हुने अभिव्यक्तिहरु पनि प्रचारमा आइरहेको छ । संविधान संशोधन गर्नुपर्ने दवाव देशभित्र तथा वाहिरबाट आइरहेका छन् । जनता र आर्थिक कारोबार गर्ने वर्षले चाहेको राजनीतिक स्थिरता कायम हुन सकिरहेको छैन । बैँकहरुको निक्षेप थुप्रिएर त्यही अनुपातमा ऋण प्रवाह हुन सकेको छैन । यस्तो अनिश्चित र तरल वातावरणमा राष्ट्र बैँकको निर्देशन अनुसार पुँजी वृद्धि गर्न बाध्य भएका वित्तीय संस्थाहरुले बढी ऋण प्रवाह गर्दा केही जोखिम बढ्ने खतरा देख्दछु । वित्तीय क्षेत्रको समस्या र गतिविधिको समीक्षा गर्दै बैँकहरुसँग परामर्श गरी घोषित निर्देशनलाई ’फाइन ट्युन’ गर्नेतर्फ पनि ध्यान दिन जरुरी छ ।’ प्रस्तुती : शारदा भण्डारी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]