June 15th, 2018

भारुको अवैद्य ओसारपसार रोकिएन, ३ करोडभन्दा बढी बरामद 

बैंकिङ खबर । नेपालमा अझै पनि प्रतिबन्धीत भारुको अवैद्य ओसारपसार रोकिएको छैन । भारतले ठुला दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको अवैद्य कारोबार बढेको छ । प्रतिबन्ध ५ सय र १ हजार दरका ठुला नोटमा भारतले प्रतिबन्ध लगाएपछि सटही हुन नसकेका भारु अवैद्य कारोबार हुँदै आएको छ । 

भारु प्रतिबन्धीत भएपछि अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र बैंक लगायत संबन्धीत निकायहरुले भारु सटही गर्न पहल गरिरहेकाले सटही हुने आशका कारण भारततर्फबाट बढी मात्रामा भारु नेपाल भित्रिने गरेको केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सिआइबी)ले जनाएको छ । साथै सर्वसाधारणलाई झुक्याउने र ठगी गर्न पनि भारुको अवैद्य कारोबार भइरहेको सिआइबी स्रोतको भनाई छ । सिआइबीले यसरी भारुको अवैद्य कारोबार गर्नेलाई पटक पटक गरी पक्राउ गरेको छ । सिआइबीका अनुसार विभिन्न समयमा ३ करोड ४० लाख ५ हजार रुपैँया प्रतिबन्धीत भारु बरामद गरेको छ भने भारुको अवैद्य ओसारपोसार संलग्न ३४ जनालाईे पक्राउ गरिएको छ । सिआइबीका अनुसार २०७९,२६ मंसिरमा जितबहादुर बुढालाई ५ सय दरको २५ हजार भारु सहित पक्राउ गरिएको थियो । २०७३, २२ पुषमा २ करोड १६ लाख ६१ हजार भारु सहित १५ जनालाई पक्राउ गरेको थियो । त्यसैगरी,२०७४, ८ जेठमा ५० लाख ५० हजार भारु सहति २ जनालाई पक्राउ गरेको सिआइबीले जनाएको छ । त्यसैगरी,सोही वर्ष १० जेठमा ७ लाख ९९ हजार ५ सय भारु सहित ४ जना पक्राउ परे भने सोही १५ जेठमा ५ लाख भारुसहित २ जनालाई सिआइबीले पक्राउ गरेको थियो । सिआइबीले भारुको अवैद्य कारोबार गर्नेहरुलाई कडा निगरानी गरिरहेको जनाएको छ । सिआइबीका प्रवक्ता बुद्धिराज गुरुङले भने, ‘प्रतिबन्धीत भारु प्रचलनमा ल्याउन नदिन कडा निगरानी गरिरहेका छौँ ।’

त्यस्तै, सिआइबीको पछिल्लो तथ्यांकअनुसार गत वर्षको २७ असारमा ४९ लाख ५० हजारसहित २ जनालाई भारुको अवैद्य रुपमा ओसारपसार गरेको अभियोगमा पक्राउ गरिएको थियो । सिआइबीका अनुसार गत वर्ष २८ असारमा पनि ४ जनालाई भारुको अवैद्य ओसारपोसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । अहिले राष्ट्र बैंकको गोदामा ५ सय र १ हजार दरका ७ करोड रुपैँया भन्दा बढी भारु थन्किएका छन् । पहँुच हुने कतिपय व्यक्ति तथा व्यवसायीहरुले आफ्नै पहलमा भारु साटे भने सर्वसाधारणले दुःख गरी कमाएको भारु अझै साट्न पाएका छैनन् । जसका कारण पनि भारुको अवैद्य ओसारपसार बढेको सिआइबीको भनाई छ । 

भारतले गत वर्ष नोबेम्बर ८ मा ५ सय र १ हजार दरको नोटमा प्रतिबन्ध लगाएको थियो । भारु प्रतिबन्ध लागेसँगै भारत स्वयं, नेपाल तथा भुटान लगायतका देशहरु प्रभावित भएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]