March 9th, 2018

स्पर्स लघुवित्तको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१औँ संचालक समितिको बैठकले मेघराज गजुरेललाई स्वतन्त्र  संचालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा ३८ वर्षभन्दा लामो अनुभव भएका गजुरेलले बैंक अफ सिलोनमा (हालको एनसिसि बैंक) २ वर्ष, कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गरेका   छन् । Saving Banks Foundation for International Cooperation (SBFIC- A German Organization in Nepal) नेपालमा लघुवित्त कार्यक्रम गर्ने ठुलो सहकारी मध्येको एक सहारा बचत तथा ऋण सहकारी संस्था (साकोस) झापाको कन्सलट्यान्टको रुपमा समेत उनले काम गरेका छन् ।

हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै  आएका  छन् । गजुरेल जस्तो अनुभवी व्यक्तिलाई स्वतन्त्र संचालकको रुपमा पाउनु एकदमै खुशीको कुरा रहेको र वित्तीय संस्थाले उनको अनुभवलाई भरपुर प्रयोग गर्ने लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी गराए ।

नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते शुक्रबार ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती पाएको पोखरा लेखनाथमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्तको चुक्तापुँजी ५.६० करोड रुपैयाँ रहेको छ । १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्तले कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालनमा ल्याएकोे छ । वित्तीय संस्थाले निकट भविष्यमा २ करोड ४० लाखको सार्वजनीक निष्कासन गर्ने तयारी गर्दैछ । सार्वजनीक निष्काशन पश्चता वित्तीय संस्थाको चुक्ता पुँजी ८ करोड पुग्नेछ ।

जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक तथा विभिन्न ७५ जना व्यवसायिक तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको स्पर्स लघुवित्त वित्तीय संस्थाले हालसम्म १५ वटा शाखा मार्फत करिब ५,५०० सदस्यहरुलाई २० करोड लगानी गरी करिब २.५  करोड बचत संकलन गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]