April 26th, 2016

‘अब आर्थिक अवस्थामा सुधार आउँछ’

DSCN0175नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको बाँकी अवधिमा मुलुकको समग्र स्थितीमा सुधार आउने बताएका छन् । नेपाल राष्ट्र बैंकको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर डा. नेपालले २०७२ सालको सुरुमै नेपालले भोगेको भुकम्प, नाकाबन्दी, आन्दोलन तथा विभिन्न असहजताको कारण साँघुरीएको नेपालको अर्थतन्त्र परिस्थिती सहज बनेसँगै चलायमान बनेकोले समग्र स्थितीमा सुधार आउनेतर्फ संकेत गरेका हुन् । ६१ औँ वार्षिकोत्सवको अवसरमा गर्भनर डा. चिरञ्जीवी नेपालले जारी गरेको वक्तव्यमा भुकम्पपछि नेपाल राष्ट्र बैंकले ल्याएका नीति तथा कार्यक्रम अति सान्दर्भिक र व्यवहारीक भएको उल्लेख गरिएको छ । 

बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा गभर्नर डाक्टर चिरन्जिबी नेपालद्धारा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबरासहित पूर्व गभर्नर, डेपुटी गभर्नर, बैंक तथा वित्तीय क्षेत्रका विभिन्न व्यक्ति, कर्मचारी, संघ–संगठनका प्रतिनिधिलगायतका व्यक्तिको उपस्थित रहेको थियो । सो अबसरमा राष्ट्र बैंकका प्रथम गभर्नर जबरालाई राष्ट्र बैंकले विशेष सम्मान गयो । गभर्नर नेपालले प्रथम गभर्नर जबरालाई दोसल्ला ओडाएर कदर पत्र प्रदान गरे । त्यस्तै पूर्व गभर्नरहरुलाई पनि राष्ट्र बैंकले सम्मान गरेको छ । पूर्व गभर्नरहरु भेषबहादुर थापा, गणेशबहादुर थापा, सत्यन्त्रप्रताप श्रेष्ठ, डाक्टर तिलक रावल, दिपेन्द्र पुरुष ढकाल, विजयनाथ भट्टराई, दिपेन्द्र बहादुर क्षेत्रीलाई कदर प्रदान गर्यो । कार्यक्रममा पूर्व गभर्नर युवराज खतिवडा भने उपस्थित भएनन् ।

त्यस्तै दिवंगत भईसकेका पुर्व गभर्नरहरुलाई समेत बैंकले मरोणपरान्त दिइने सम्मान प्रदान गरेको छ । पूर्व गभर्नर स्वर्गिय लक्ष्मीनाथ गौतमलाई प्रदान गरिएको सम्मान उनकी छोरी चुना भण्डारीले ग्रहण गरिन् । त्यस्तै डा. यादव प्रसाद पन्तको उनका छोरा भुवनेश पन्तले, कल्याण विक्रम अधिकारीको सम्मान उनकी छोरी रत्ना अधिकारीले र हरिशंकर त्रिपाठीको सम्मान उनका छोरा कैलाश त्रिपाठीले ग्रहण गरे ।  

सो अबसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । स्वागत मन्तव्यका क्रममा उनले भूकम्पपछि जर्जर बनेको बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधारोन्मुख रहेको बताए । राष्ट्र बैंकको बार्षिकोत्सवको अवसरमा पारेर विभिन्न समयमा भएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]